३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

लयमा फर्कंदै धनगढी

व्यापार, यातायात, होटल रेस्टुरेन्ट, स्कुल, जिम, बजार पूर्ण रूपमा खुलेका छन्
मोहन बुढाऐर

धनगढी — कैलाली हसुलियाका वीरभान चौधरीले धनगढीमा सोमबारदेखि रिक्सा चलाउन सुरु गरेका छन् । कोरोना महामारीको दोस्रो लहरले वैशाख १४ देखि निषेधाज्ञा सुरु भएपछि उनी गाउँ फर्केका थिए ।

लयमा फर्कंदै धनगढी

‘लकडाउन सुरु भएपछि कोठामा रिक्सा हुलेर घर गएको थिए,’ उनले भने, ‘चार दिन भयो, पुनः रिक्सा चलाउन सुरु गरेको ।’ उनले साउनदेखि निषेधाज्ञा खुकुलो हॅुदै गए पनि बजारमा चहलपहल सुरु नहुँदासम्म रिक्सा चढ्ने ग्राहक नभेटिने बताए ।

सुदूरपश्चिम प्रदेश राजधानी रहेको प्रमुख व्यापारिक सहर धनगढी भदौ दोस्रो सातादेखि पूर्ववत् अवस्थामा फर्केको छ । अहिले व्यापार व्यवसाय, यातायात, होटल, रेस्टुरेन्ट, स्कुल, जिमलगायत बजार पूर्ण रूपमा खुलेका छन् । चौधरीजस्तै लकडाउन र निषेधाज्ञाका कारण गाउॅ फर्केका अधिकांश मजदुर, विभिन्न कम्पनी उद्योग व्यवसायमा संलग्न कर्मचारीहरू फर्कन थालेका छन् ।

कोरोनाको दोस्रो लहरले धनगढीको मुक्त कमैया शिविरका हिरूलाल चौधरीले गएका चार महिना दैनिकी चलाउन मुस्किल भएको बताए । उनी धनगढीमा अटोरिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका छन् । तीन महिना पूरै अटोरिक्सा घरमै थन्काएर बस्नुपरेको उनले बताए । भदौदेखि मात्रैं अटोरिक्साले ग्राहक पाएर घर खर्च चलाउन सहज भएको उनी बताउँछन् । शिविरकै लालमनि चौधरी पनि निषेधाज्ञा अवधिमा ज्यालादारी मजदुरी गर्न नपाएर गुजारा चलाउनै गाह्रो भएको बताए । ‘दुई साता भयो, बजारमा काम पाउन थालेको,’ उनले भने । त्यस्तै शिविरकै काशीराम चौधरी धनगढीको सियाराम होटल तथा रेस्टुरेन्टमा पुनः काममा फर्केका छन् ।

उद्योग वाणिज्य महासंघका सुदूरपश्चिम अध्यक्ष शंकर बोगटीले बिस्तारै जनजीवन र व्यापार व्यवसाय लामो कोरोना कहरको असहज अवस्थापछि सहज र पूर्ववत् अवस्थामा फर्कन लागेको बताए । उनले कोरोका कारण रोजगारी गुमाउनुपरेकाहरूले पुनः आआफ्नो उद्योग व्यवसायमा फर्केर काम गर्न लागेको बताए । यो सातादेखि विद्यालय, कलेजहरू पनि खुलेका छन् । विद्यालय, अफिस र व्यापार व्यवसाय, उद्योगधन्दा, होटल रेस्टुराँ सबै खुलेकाले बजारको भीडभाड र चहलपहल बढेको छ । धनगढीको मुख्य बजारमार्गमा कार्यालय आउजाउ गर्ने समयमा ट्राफिक जाम नै हुन थालेको छ ।

होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बम होटल रेस्टुराँ सबै पूरै समय खुले पनि ठूला लगानीका होटल भने अझै पुरानै अवस्थामा अहिल्यै फर्कन नसक्ने बताउँछन् । उनका अनुसार बाह्य पर्यटकहरूको अवागमन नबढेसम्म ठूला लागनीका होटल पूर्ववत् अवस्थामा फर्कन नसक्ने देखिन्छ । ‘होटल भरिभराउ हुने दिनको पर्खाइमै ठूला लगानीका होटल छन्,’ उनले भने, ‘यसका लागि सरकारले सीमा नाकामा सहज बनाइदिनु आवश्यक छ ।’

होटल मात्रै नभएर सीमावर्ती भारतीय नागरिक लुगाकपडा, जुत्तालगायत मालसमानसमेत खरिद गर्न यहाॅ आउने भएकाले सीमा नाका सहज भएर व्यापार व्यवसायमा समेत घाटा भइरहेको बमले बताए । कैलालीमा अझै गौरीफन्टाबाहेक अन्य नाका खुलेका छैनन् । गौरीफन्टामा भारतिय नागरिकलाई अझै पूर्ण रूपमा आउजाउमा सहज व्यवस्था मिलाइएको छैन । नाकाबाट भित्रिने र बाहिरिनेले घण्टौं लाइनमा लाग्नुपर्ने अवस्था छ ।

प्रकाशित : आश्विन १, २०७८ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?