१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

महाकाली पुलको पहुँच मार्ग बनेन

अहिले महाकाली नदीको बीच भागमा रहेको पक्की पुलसँग कुनै पनि सडकको सम्पर्क छैन
भवानी भट्ट

कञ्चनपुर — महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा छ । पुलका ३२ स्ल्याबमध्ये ३१ वटाको ढलान दसैंअगावै सक्ने लक्ष्य छ । त्यसपछि पुलमा सहजै आवागमन गर्न सकिन्छ । तर पुल निर्माण भए पनि पुलसम्मको पहुँच मार्ग नहुँदा नदीको बीच भागमा रहेको पुल हेर्नुबाहेक अरू कुनै काम छैन ।

महाकाली पुलको पहुँच मार्ग बनेन

अहिले महाकाली नदीको बीच मागमा रहेको पक्कीपुलसँग कुनै पनि सडकको सम्पर्क छैन । पुलको पूर्वतर्फबाट महाकाली नदी बगिरहेको छ । असार पहिलो साता आएको बाढीले अस्थायी पहुँच मार्ग बगाएपछि पुलसँगै महाकालीपारिको दोधारा चाँदनी सडक सम्पर्कविहीन भएको हो । पुलको दुवैतर्फ बनाइने पोखरीका लागि ठूलो ढुंगाको अभावका कारण पहुँच मार्ग निर्माण हुन सकेको छैनन् ।

अस्थायी खालको पहुँच मार्ग बनाएर फेरि बगाउने जोखिम रहेको पुल निर्माण कम्पनी सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले बताए । उनले अब दुवैतर्फ पोखरी निर्माण गरिएपछि मात्रै पहुँच मार्ग निर्माण गरिने बताए । ‘अब पोखरी निर्माणको काम अगाडि बढेपछि मात्रै पहुँच मार्ग पनि बनाउने योजना छ,’ इन्जिनियर पाण्डेयले भने, ‘नत्र फेरि नदीले बगाउने र क्षति हुने मात्रै हुन्छ ।’ पुलको डिजाइनअनुसार दुवैतर्फ २८ सय मिटर लम्बाइ र ६ सय मिटर चौडाइका दुईवटा पोखरीहरू निर्माण हुनेछन् । पोखरीको बाॅध निर्माणका लागि ठूलो ढुंगा आवश्यक पर्छ ।

महाकाली नदीको अधिकतम बहावले २५७ किलोग्रामभन्दा ठूलो ढुंगा बगाउन नसक्ने एक अध्ययनले देखाएको छ । पोखरीको बाँध निर्माणको लागि यही साइजको ढुंगा आवश्यक पर्ने इन्जिनियर पाण्डेय बताउँछन् । उनले पछिल्लो समय ढुंगाको विकल्पमा तारजाली लगाउने वा कंक्रिट ब्लकको बाँध बनाउनेलगायतको प्रयोगबारे अध्ययन भइरहेको बताए ।

पोखरीको बाँध निर्माणका लागि १ लाख ४३ हजार घनमिटर ढुंगा आवश्यक पर्छ । जसमध्ये २ सय ५७ किलोग्राम तौलका मात्रै ९८ हजार ७ सय घनमिटर आवश्यक पर्छ । पुल निर्माण सुरु भएको दोस्रो वर्षदेखि नै ठूलो ढुंगाको खोजी सुरु भएको हो । तर हालसम्म कतै पनि उपलब्ध नभएका कारण अब काम नै प्रभावित हुने अवस्था आएको छ । पूर्वपश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि पुलसम्म पारिपट्टि पुलदेखि मलेरिया नालासम्मको चार लेनको सडक निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । उक्त सडकखण्ड कालोपत्रको काम मात्रै बाँकी छ ।

पुलको दुवैतर्फ निर्माण हुने झन्डै ८ किलोमिटरमध्ये ३ किलोमिटर सडक कालोपत्र भइसकेको छ । अब तत्काल २ किलोमिटर कालोपत्रको काम भइरहेको छ । बाँकी ३ किलोमिटरको बेस निर्माणको काम पनि अन्तिम चरणमा छ । ‘अब दुई/तीन महिनाको काम मात्रै बाँकी छ, त्यसपछि पोखरी निर्माणकै काम रहन्छ,’ इन्जिनियर पाण्डेयले भने, ‘त्यसपछि ढुंगाकै अभावमा काम रोकिन्छ ।’ महाकाली पुल आयोजनाका इन्जिनियर वीरेन्द्र चन्दका अनुसार पोखरी निर्माणका लागि सबैभन्दा उपयुक्त, विकल्प ठूलो ढंगा नै हो । यसबारेमा आयोजनाले सुरुदेखि नै विभागमा जानकारी पनि गराउँदै आएको छ ।

पछिल्लो समय चुरे फेदका नदीहरूबाट संकलनका लागि आईई गर्ने विषयमा भीमदत्त नगरपालिकालाई पनि पत्राचार गरिएको उनले बताए । ‘ठूलो ढुंगा चुरे फेदीमा मात्रै छ, त्यसको आईई गर्ने जिम्मा स्थानीय तहलाई मात्रै छ,’ उनले भने, ‘हामीले यही विषयमा नगरपालिकालाई पत्राचार पनि गरेका छौं, नगरपालिकाबाट कुनै जवाफ आएको छैन ।’

डिजाइन परिवर्तनका लागि बजेट पनि बढाउनुपर्ने भएकाले त्यो सम्भव नभएको इन्जिनियर चन्दले बताए । ग्याबिन जालीको बाँध सफल हुन नसक्ने भएकाले पनि ठूलो ढंगाको विकल्प नभएको उनले बताए । आयोजनाले अनौपचारिक रूपमा गरिएको सर्भे अनुसार ब्रह्मदेव क्षेत्रमा १ लाख घनमिटर ढुंगा उपलब्ध हुन सक्ने देखिएको छ । त्यसका लागि आयोजनाकै लगानीमा आईई गर्न सकिने प्रस्ताव नगरपालिकामा पठाइएको छ । तर त्यसको जवाफ नआएको चन्दले बताए । ‘ढुंगा उपलब्ध नभए नदीको बीचमा पुल बन्छ, पहुँच मार्ग बन्दैन,’ उनले भने ।

प्रकाशित : आश्विन १, २०७८ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?