बझाङमा हजुरआमाको हत्या आरोपी पक्राउ

वसन्तप्रताप सिंह

बझाङ — हजुरआमाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बझाङको दुर्गाथली गाउँपालिका ५ की ८० वर्षीया रिखीदेवी जप्रेलको हत्या गरेको आरोपमा उनका नाति २१ वर्षीय सुवास जप्रेललाई प्रहरीले पक्राउ गरेको हो ।

सुवासले हजुरआमाको हत्या गरी आँगन नजिकै शव गाडेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । सुवास दुर्गाथली ५ का वडाध्यक्ष रामबहादुर जप्रेलका छोरा हुन् ।

वडाध्यक्ष जप्रेलले आमाको खोजी गर्ने क्रममा घरको भित्तामा रगत र घर नजिकै खनेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी आएपछि भाग्दै गरेका सुवासलाई दुर्गाथली गाउँपालिका ७ को लवादेउबाट पक्राउ गरिएको डीएसपी रूपक खड्काले जानकारी दिए । वृद्धाले लगाएको सुनका गहना हात पार्न हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बझाङ ल्याउने तयारी भइरहेको डीएसपी खड्काले बताए । उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित : भाद्र ३१, २०७८ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?