१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अनाथ बालबालिकाको बिचल्ली

‘पहिला त मेरो शरीरमा रगतबगत थियो, रातदिन नभनेर यिनीहरुलाई पालें, अब आफैं घरबाट भित्रबाहिर गर्न सक्दैन, कसरी सम्हालूँ ?’
वसन्तप्रताप सिंह

बझाङ — मैलोधैलो लुगा । गोरो अनुहारभरि मयलको टाटा । बझाङको साइपाल गाउँपालिकाको धलौनमा पर्ने धोडागाउँको एक घरको आँगनमा बेपरवाह खेलिरहेका यी बालबालिका बेसहारा हुन् ।

अनाथ बालबालिकाको बिचल्ली

२०७२ साउन ८ मा यार्चा संकलनको लागि गएका यी बालबालिकाका बुबा ३६ वर्षका धीर्क बोहराको साइपालकै राइढुङी वनमा हत्या भएको थियो । कुटोले हानेर उनको साथमा रहेको यार्चा र नगद लुटिएको थियो । हालसम्म उक्त घटनामा संलग्न अपराधी पत्ता लाग्न सकेको छैन । श्रीमान्को हत्या भएको अर्को वर्ष २०७३ मंसिरमा राधा बोहराले अर्को विवाह गरिन् ।

अनि, धीर्क र राधाका ६ वर्ष, ३ वर्ष र २ वर्षका तीन छोराहरू मनराज, आयुस र मनिस तथा ४ वर्षकी छोरी नमिता अभिभावकविहीन बन्न पुगे । त्यसयता जसोतसो ६० वर्षीया हजुरआमा भानमतीले उनीहरूको लालनपालन गर्दै आएकी छन् । अहिले मनराज ११ वर्ष, नमिता ९ वर्ष, आयुष ८ वर्ष र मनिस ७ वर्षका भए । उनीहरूको एक मात्रै साहरा भानमती वृद्धावस्थाका कारण अहिले आफैं साहरा खोज्ने अवस्थामा पुगेकोले उनीहरूको विचल्ली भएको छ । ‘बाबुलाई सतुर लागेर मारे । आमाले जिउँदै घोलका चल्ला (गुँडका बचेरा) छोडेर गई,’ भानमतीले भनिन्, ‘पहिला त मेरो शरीरमा रगतबगत (तागत) थियो । रातदिन नभनेर यिनीहरूलाई पालें । अब आफै घरबाट भित्रबाहिर गर्न सक्दैन । कसरी यिनिहरूलाई सम्हालुँ ?’

साइपाल हिमाली क्षेत्र भएकोले जग्गाजमिन भए पनि खासै उब्जनी हॅुदैन । उसैमाथि काम गर्ने मानिस नभएकाले भानमतीको भएको जग्गा पनि बाँझै छ । ‘एक–दुई महिनालाई त खान पुग्थ्यो । त्यही जग्गा पनि खेती गर्ने मान्छे नभएर बाँझै छ । बुढेसकालमा यी लालाबाला कसरी पाल्नु ? चिन्तैचिन्ताले म पनि मर्न आँटीसकें,’ उनले भनिन् । आफू दमको रोगी भएकोले काम गर्न नसक्दा नातीनातिनालाई पालनपोषण गर्न समस्या भइरहेको उनले दुखेसो पोखिन् ।

हजुरआमा अशक्त भएपछि मनराज विद्यालय जान छोडेर यार्चा टिप्न जान थालेका छन् । यार्चा बेचेर २/४ महिनाको खर्च चल्ने गरेको भए पनि वर्षभरीलाई खान र ४ जनाको पढाइ खर्च जुटाउन समस्या भइरहेको उनले सुनाए । ‘यो वर्ष चार तोला यार्चा टिपेको हुँ । त्यति पैसाले चामल र हजुरआमाका लागि औषधि किन्न ठिक्क भयो,’ उनले भने, ‘मेरो, भाइबहिनीको कापी किताब र ड्रेस किन्ने पैसा छैन । चामल सकिएपछि के खाने हो त्यो पनि थाहा छैन,’ उनले भाइबहिनीहरूलाई पढाउने गरी कसैले जिम्मा लिई दिए आफूले गाउँमै ज्याला मजदुरी गरेर भए पनि पढ्ने र हजुरआमाको हेरचाह गर्ने बताए ।

साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले आमाबुबा दुवै गुमाएका अनाथ बालबालिकालाई गाउँपालिकाले वर्षमा एक पटक झोला, लुगा र कापी कलम सहयोग गर्ने गरेको बताए ।

प्रकाशित : भाद्र ३१, २०७८ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?