बैतडीका सबै विद्यालय खुले- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैतडीका सबै विद्यालय खुले

रासस

बैतडी — भारतसँग सीमा जोडिएको बैतडीका सबै स्थानीय तहका विद्यालय बुधबारदेखि सञ्चालनमा आएका छन् । कूल ६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहका विद्यालयमा भौतिक रुपमै पठनपाठन सुरु भएको हो ।  

दोगडाकेदार गाउँपालिकाका विद्यालय सञ्चालनमा आएसँगै जिल्लाका सबै स्थानीयतहमा पठनपाठन सुरु भएको हो । स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालयमा भौतिकरुपमै पठनपाठन कार्य सञ्चालन गरिएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटस्थित सनातन धर्म माविका प्रधानाध्यापक वलदेवनाथले जानकारी दिए ।

विद्यालयमा मास्क अनिवार्य गरिएको छ । स्यानिटाइजर र साबुनपानीले हात धुने व्यवस्था छ । उनले भने, 'कक्षा कोठामा पनि विद्यार्थी बीच सकेसम्म सामाजिक दूरी कायम गरेका छौं तर विद्यार्थी बढी र कक्षा कोठा कम भएकाले त्यसमा कठिनाई भएको छ ।'

भौतिक रुपमै पठनपाठन कार्यमा सहभागी हुन पाउँदा विद्यार्थी खुसी भएका छन् । मेलौली, पुर्चौडी, दशरथचन्द, पाटन नगरपालिका तथा डिलाशैनी, सुर्नया, शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकाका विद्यालयमा यसअघि नै पठनपाठन सुरु भइसकेको छ । भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भइसकेको छ । हाल यहाँ २० सक्रिय संक्रमित छन् ।

शिवनाथ, पञ्चेश्वर, सिगास र डिलाशैनीमा हाल कोरोनाका सक्रिय संक्रमित शून्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बैतडीमा ५६२ विद्यालय छन् जसमध्ये २४ संस्थागत र बाँकी सामुदायिक विद्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

प्रकाशित : भाद्र ३०, २०७८ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्

नेपाललाई विश्‍व बैंकको ५ अर्ब ८७ करोड सहयोग 

रासस

काठमाडौँ — विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि ५ अर्ब ८७ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्बन्धी दुई अलग अतिरिक्त वित्तीय सम्झौतापत्रमा बुधबार हस्ताक्षर भएको हो ।

सरकारको प्राथमिकतामा रहेको विद्यालय क्षेत्र विकास कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक व्यवस्थापन सुधार कार्यक्रम कार्यान्वयनमा सघाउनका लागि वैंकले उक्त रकम उपलब्ध गराएको हो ।

कार्यक्रममा अर्थ सचिव मरासीनीले कोभिड–१९बाट प्रभावित शिक्षा तथा स्वास्थ्य प्रणालीको उत्थानशील पुननिर्माण गर्न आवश्यक रहेको बताए । उनले भने, 'नतिजा सूचकमा आधारित नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रमबाट मुलुकमा दक्ष, प्रभावकारी, पारदर्शी र उत्तरदायी स्वास्थ्य प्रणाली निर्माण गर्न महत्वपूर्ण हुनेछ ।'

बैंकका निर्देशक जार्वोसले सम्झौता कार्यन्वयनसँगै नेपालको शिक्षा र स्वास्थ्य प्रणालीलाई समावेशी एवं उत्पादनशील बनाई मानव पूँजीको विकासलाई गति दिने अपेक्षा गरिएको बताए । उनले भने, 'सबैका लागि स्वास्थ्य क्षेत्रमा पहुँच, बालिबालिका र किशोरकिशोरीका लागि गुणस्तरीय नतिजा प्राप्त गर्ने शिक्षा सिकाइमा समान पहुँच सुनिश्चितताका लागि सहायताले सहयोग गर्ने छ ।'

नेपालको स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि उपलब्ध गराइएको थप सहायताले सार्वजनिक खरिद् वित्तीय व्यवस्थापन, सूचना व्यवस्थापन तथा अधिक उत्तरदायित्वका लागि नागरिक संलग्नताका क्षेत्रमा सुधार ल्याउन सघाउने विश्वास गरिएको छ ।

प्रकाशित : भाद्र ३०, २०७८ १५:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×