कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ह्विलचियरमा बसेर सामूहिक व्यवसाय

भवानी भट्ट

कञ्चनपुर — कोही ह्विलचियरको साहरामा हिॅड्छन् । कोही फलामे छडको सहारामा । सबै अपांगता भएका व्यक्तिहरू । ह्विलचियर र छडको भरमा हिँड्ने उनीहरू एकाअर्काको सहारा बन्न थालेका छन् । सामूहिक रूपमा व्यवसाय सुरु गरेर उनीहरूले नमुना व्यवसायको सुरुवातसॅंगै सवलांग भएकालाई समेत शिक्षा दिन थालेका छन् ।

ह्विलचियरमा बसेर सामूहिक व्यवसाय

अपांगता भएका १८ जनाले भीमदत्त नगरपालिका–१५ गोबरियामा व्यावसायिक रूपमा माछा र कुखुरापालन गरेका छन् । उनीहरूले अपांगता कृषक समूह गठन गरेर व्यवसायको सुरुवात गरेका हुन् । करिब आधा बिघा जमिन भाडामा लिएर उनीहरूले व्यवसाय सुरु गरेका हुन् । दुई वर्षअघि समूह दर्ता गरेका उनीहरूले लकडाउनकै अवधिमा व्यवसाय सुरु गरेका हुन् । अहिले स्थानीय जातका कुखुरा, टर्की र बायोफ्लक प्रविधिबाट माछापालन सुरु गरिएको छ ।

‘हामी व्यवसायलाई बढाउँदै लैजाने योजनामा छौं,’ अपांग कृषक समूहका अध्यक्ष मनोज चन्दले भने, ‘सुरुवातमा थोरै थोरै गरेर माछा र कुखुरा पालन गरेका छौं ।’ अपांग कृषक समूहको फार्ममा अहिले १३ सय स्थानीय जातका कुखुरा र २ वटा बायोफ्लक ट्यांकीमा माछापालन भइरहेको छ । निकट भविष्यमा कुखुरा र माछा पालनलाई बढाउँदै लगिने चन्दले बताए । फार्ममा काम गर्ने पनि अपांगता भएका व्यक्ति नै छन् । हिॅडडुल गर्न सक्नेले नै काम गर्छन् । उनीहरूलाई मासिक रूपमा पारिश्रमिक दिने गरिएको छ ।

चन्द व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययन गरिरहेका छन् । अन्य साथीहरू अध्ययन नै गरिरहेका छन् । हालसम्म बेरोजगार नै भएकाले उनीहरूले आफू मात्रै नभई अरूलाई पनि सिक्नेगरी व्यवसाय सुरु गरेका हुन् । ‘बीबीएस, एमबीएससम्म अध्ययन गरेर पनि बेरोजगार बसेका छौं,’ चन्दले भने, ‘त्यही भएर अब अर्कोकै मुख ताक्नुभन्दा केही गर्नुपर्छ भनेर व्यवसाय सुरु गर्‍यौं ।’

उनीहरूलाई भूमि तथा कृषि सहकारी मन्त्रालयका लाइभस्टक अधिकृत दीर्घबहादुर स्वाॅरले सहयोग गरिरहेका छन् । स्वारकै योजनाअनुसार अपांग कृषक समूह गठन भएर व्यवसाय सुरु भएको चन्द बताउँछन् । चन्द आफैं ह्विलचियरमै हिँड्छन । जन्मेको दुई/तीन महिनामै पोलियो भएर उनी अपांग भएका हुन् । स्वाँर पनि अपांगता भएका व्यक्ति हुन् । उनी पक्षघातका बिरामी हुन् । कम्मरमुनिको शरीर चल्दैन । २०६५ मा सरकारी सेवाकै सिलसिलामा कार्यालयबाट घर फर्किंदा अछाममा मोटरसाइकल दुर्घटनामा परेपछि उनलाई पक्षाघात भएको हो ।

प्रकाशित : भाद्र ३०, २०७८ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?