दार्चुलाका विद्यालय खुले- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दार्चुलाका विद्यालय खुले

कान्तिपुर संवाददाता

दार्चुला — कोरोनाका कारण बन्द रहेका दार्चुलाका विद्यालय सञ्चालन हुन थालेका छन् । जिल्लाका केही स्थानीय तहबाहेक अधिकांश ठाउँका विद्यालयमा पढाइ सुरु भएका छन् । जिल्लामा भदौ २० गते दुहु गाउँपालिकाका विद्यालयमा पर्ढा सुरु भएको हो । 

अहिले महाकाली नगरपालिका, अपी हिमाल, मालिकार्जुन, लेकम, गाउँपालिका र शैल्यशिखर नगरपालिकाले विद्यालय सञ्चालनमा ल्याई पढाइ सुरु गरिएको नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष राजेशसिंह सामन्तले बताए । व्यासलगायत केही स्थानीय तहका विद्यालय सञ्चालनमा आउन बाँकी छन् । केही स्थानीय तहमा विद्यालयमा भौतिक रुपमा पढाई सुरु गर्न निर्णय भइसकेको र सञ्चालनमा आउन बाँकी रहेको उनको भनाइ छ ।

भदौ २० गते बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेको थियो । विद्यालय सञ्चालन गर्दा सरकारद्वारा जारी स्मार्ट लकडाउनभित्र रहेर सञ्चालन गर्न पाइने जनाइएको थियो । त्यस निर्णयलाई टेकेर अहिले जिल्लाका सबै स्थानीय तहहरूले विद्यालय संचालनमा ल्याउने निर्णय गरिसकेका छन् । महाकाली नगरपालिका कार्यपालिकाको निर्णयको आधारमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर विद्यालय सञ्चालनमा ल्याइएको राष्ट्रिय मावि दत्तुका प्रधानाध्यापक समेत रहेका शिक्षक महासंघका अध्यक्ष सामन्तले बताए । उनले भन,े ‘विद्यार्थीको भौतिक दुरी, मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्न विद्यार्थीहरूलाई भन्दै आएका छौं ।’ अभिभावकहरूलाई आफ्ना बालबालिकालाई मास्क लगाएर विद्यालय पठाउन अनुरोध गरिएको उनको भनाइ छ ।

पछिल्लो समय कोरोना संक्रमणको दर कम हुँदै गएपछि समितिले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मेवारी तोकेको थियो । शैक्षिक गतिविधिलाई सहज बनाउन यस्तो निर्णय गरिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।

प्रकाशित : भाद्र ३०, २०७८ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्

३७ वर्षपछि भेटिन् चन्द्रमायाले सेतेलाई

राजकुमार कार्की

सिन्धुली — धेरै वर्ष पर्खिए तर छोरा फर्किएनन् । अनि परिवारले आस मारे । एक–दुई वर्ष होइन, पूरै ३७ वर्ष बित्यो । आमा बुढ्यौलीले अशक्त भइन् । छोराछोरी हुर्किएर ठूला भए ।

यस्तैमा दोलखा तामाकोसी गाउँपालिका जफेका कृष्णबहादुर रुम्बा टुप्लुक्क गाउँ आइपुगे । झन्डै चार दशकपछि फर्किएका उनलाई घर पत्ता लगाउनै मुस्किल पर्‍यो । कृष्णबहादुरले छोडेका तीन लालाबाला आफैं पौरख गर्न सक्ने भएर बाहिरिसकेका थिए । घरमा पत्नी सीता मात्र थिइन् । सुरुमा त उनले अनुहारमा बुढ्यौलीले मुजा हालिसकेका पतिलाई ठम्याउनै सकिनन् । शरीर कमजोरीले थलिएजस्तो देखिन्थ्यो ।

आमा भने बसाइँ सरेर माइलो छोरा श्यामसँग सिन्धुलीमा बस्न थालेकी थिइन् । उनी कृष्णबहादुरलाई सेते भनेर बोलाउँथिन् ।

कृष्णबहादुरले ९५ वर्षकी आमा चन्द्रमायालाई बुधबार सिन्धुलीको कमलामाई नगरपालिका–४ को रानीखोला ढाक्रेवासमै पुगेर भेट गरे । २०४१ साल माघयता आमाछोराको भेट थिएन । चन्द्रमायाले पनि सुरुमा छोरालाइ ठम्याउनै सकिनन् । कान कम सुन्ने भइसकेकी थिइन् । छेउमै बसेका माहिला छोराले आमालाई कृष्णबहादुरको पहिचान गराइदिए ।


दुवै हातमा लौरो टेकेर वरिपरि हिँडडुल गर्नुपर्ने अवस्थाकी चन्द्रमाया वर्षाैंपछि छोरालाई देख्दा भक्कानिइन् । अनि ‘सेते’ भन्दै सुमसुम्याउन थालिन् । कृष्णबहादुरले पनि मन थाम्न सकेनन् ।

लक्काजवान छँदा हिँडेका कृष्णबहादुर आफैं ७२ वर्ष पुगिसकेका छन् । छोराको कमजोर शरीर देखेर आमा सोधिरहेकी थिइन्, ‘के भयो, बिरामी भएको हो ?’ जफेबाट कान्छा भाइ हरिबहादुरको साथ लागेर आमा भेट्न आएका कृष्णबहादुरको बोली टड्कारो थिएन । आमालाई सन्चोबिसन्चो सोध्दा पनि कानेखुसी गर्दै थिए ।

हरिबहादुरका अनुसार नेपाली सेनामा १२ वर्ष जागिर खाएपछि बिरक्तिएर हिँडेका कृष्णबहादुरको अत्तोपत्तो थिएन । उनी दुई साताअगाडि मात्र घर आइपुगेका हुन् । रोगले जीर्ण देखिएका उनी धुलिखेल अस्पतालमा ६ दिन उपचार गरेपछि केही तंग्रिएका छन् ।

हरिबहादुरका अनुसार फर्कंदा दाजुका साथमा केही जोर कपडा र भारु १८ हजारजति पैसा थियो । कृष्णबहादुर यतिका वर्ष भारतको सिलोङमा कोइलाखानीमा चौकीदारी गरेको बताउँछन् । तर उनीसँगै कुनै कुनै फोटो, मोबाइल भने छैन् । ‘दाइको उता पनि घरजम छ कि भन्ने शंका छ तर केही भनेका छैनन्,’ हरिबहादुरले भने, ‘बिरामीले गर्दा होला, थिरका कुरा पनि गर्दैनन् । एकचोटि फेरि आसाम जानुपर्छ भन्छन् ।’

प्रकाशित : भाद्र ३०, २०७८ १०:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×