१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बारीमै कुहिन्छन् स्याउ

‘यातायात अभावमा बजारसम्म पुर्‍याउन सकिरहेका छैनौं । स्याउको सुकुटी, जुस बनाएर बिक्री गर्न सकिन्छ कि भनेर छलफल गरिरहेका छौ ।’
वसन्तप्रताप सिंह

बझाङ — साइपाल गाउँपालिका–४ मा पर्ने धुलीमा बारीभरि लोभ लाग्दा स्याउ फलेका छन् । कुनै बोटले फलको भार थाम्न नसकेपछि टेको लगाउनुपर्ने अवस्था छ । बझाङको उत्तरी क्षेत्रमा पर्ने अन्तिम मानवबस्ती रहेको यो गाउँ हिमालको फेदमा छ । उसै पनि रमणीय धुलीगाउँ स्याउ फल्ने मौसममा झनै सुन्दर देखिन्छ ।

बारीमै कुहिन्छन् स्याउ

‘अहिले त जता हेर्‍यो त्यतै स्याउ नै स्याउ मात्रै छ’ डोल्मा तामाङले भनिन ‘हाम्रै बारीको ५०/६० वटा रुखमा मात्रै एक सय क्विन्टलभन्दा बढी स्याउ फलेको होला । यहाँको स्याउ मिठो पनिछ ।’

जुम्ला र मुस्ताङको स्याउको स्वादलाई माथदिने धुलीको स्याउ डोल्माको मात्रै होइन यहाँका सबै घरका बारीमा लटरम्म छ । स्वादमा मिठो र प्रशस्त मात्रामा फलेको भएपनि यहाँका स्थानीयलाई आफ्नै बारीमा फलेको स्याउ तह लगाउन भने झ्याउ हुन्छ । ‘यत्रो धेरै स्याउ खाएर सकिने कुरा भएन । बेच्न लैजाऔं भने नजिक बजार छैन । टाढा लैजान बाटो छैन’ डोल्मा भन्छिन ‘धेरैजसो बारीमै झरेर कुहिन्छ । गाईगोरुलाई कुँडो पकाएर पनि दिन्छौं । यत्रो स्याउ थन्काउनै सकिदैन ।’ उनले सक्नेले स्याउ सुकाएर हिउँदको महिनामा वस्तुलाई कुँडो पकाएर दिने गरेको बताइन् ।

वडा नं ४ मा पर्ने धुली, ज्याँती, जगेरा, लाफडी सैनगाउँमा मात्रै ३ हजार बढी बोटमा स्याउ फल्ने गरेको स्थानीय डबल रोकायाले बताए । बझाङको एक गैरसरकारी संस्था सामाजिक विकास केन्द्र नेपालले तत्कालिन जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा पाँच वर्षअघि यहाँका किसानहरूलाई पाँच हजार बढी बोट स्याउ वितरण गरेको र त्यो स्याउ गतवर्षबाट फल्न थालेको रोकायाले बताए । ‘धुलीमा मात्रै होइन वडा नं ५ मा पर्ने न्युनाबलौडी गाउँमा पनि डेढ/ दुइहजार बोट स्याउ फलेको छ,’ उनले भने, ‘स्याउ त राम्रै फल्छ, फलेर मात्रै के गर्नु बेच्न पाइँदैन । गाईबस्तु र स्याल बाँदरले खाएर सिध्याउछन ।’

समुद्र सतहबाट २ हजार ७ सयदेखि ३ हजार मिटरसम्म उचाइमा रहेको यो गाउँको हावापानी व्यावसायिक स्याउ खेतीको लागि सुहाउँदो भए पनि बजारको व्यवस्था नभएकाले मानिसको आकर्षण घट्न थालेको ज्याँतीका लाल बोहराले बताए । ‘स्याउ त राम्रै फल्छ नि फल्न त । बेच्न पायो भने एकै परिवारले १०/१५ लाख कमाउँथे होला । थप बोट लगाउँथे होला,’ उनले भने ‘भएको त यत्तिकै कुहिएको छ, अरू बोट लगाएर के हुन्छ ? भनेर वास्ता नै गर्दैनन् ।’

साइपाल गाउँपालिकाले पनि धुली क्षेत्रमा स्याउ खेती प्रवर्द्धनका लागि नयाँ र छिटो उत्पादन लिन मिल्ने खालका बोट वितरण गर्ने र अन्य प्राविधिक सहयोग गर्ने काम गरिरहेको भए पनि बजार अभावमा उत्पादन त्यसै खेर गैरहेको वडा ५ की वडासचिव सुम्निमा गिरीले बताइन् । ‘स्याउ खेतीलाई पहिलो प्राथमिकतामा राखेर उत्पादन बढाउने काम त भइरहेको छ । यातायात अभावमा बजारसम्म पुर्‍याउन सकिरहेका छैनौं । स्याउको सुकुटी, जुसजस्ता आइटम बनाएर बिक्री गर्न सकिन्छ कि भनेर छलफल गरिरहेका छौं’ उनले भनिन् ।

धुलीबाट नजिकको बजार सदरमुकाम चैनपुरसम्म पुग्न तीन दिन पैदल हिँड्नुपर्ने भएकाले यहाँ उत्पादित स्याउ बजारसम्म पुर्‍याउन समस्या भैरहेको उनको भनाइ छ । यस आर्थिक वर्षमा सुदूरपश्चिम सरकारले पनि धुलीलाई नै लक्षित गरेर स्याउ र ओखरको पकेट क्षेत्र निर्माणका लागि बगैंचा व्यवस्थापन, सुदृढीकरण र विस्तारको कार्यक्रम राखेको बताउँदै कृषिज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर कुँवरले त्यहाँ उत्पादित स्याउको बजारिकरणको लागि समेत सहयोग गरिने बताए । ‘धुलीमा कति स्याउ फल्छ भनेर हामीले तथ्यांक लिने काम गरिरहेका छौं,’ उनले भने ‘उत्पादनको परिणाम हेरेर स्याउको प्याकेजिङ, ढुवानी र बजारीकरण कसरी गर्न सकिन्छ हामीले पहल गर्छौं ।‘ उनले राम्रो गुणस्तरको स्याउ त्यसै खेर जान नदिने र आवश्यक परे हेलिकोप्टरबाट ढुवानी गरेर बजारसम्म पुर्‍याउनका लागि पहल गर्ने बताए ।

प्रकाशित : भाद्र ३०, २०७८ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?