हेलिकोप्टरबाट खाद्यान्न ढुवानी- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेलिकोप्टरबाट खाद्यान्न ढुवानी

मनोज बडू

दार्चुला — अविरल वर्षापछि गत भदौ १३ मा बाढीपहिरोले क्षतविक्षत दुहु गाउॅपालिकामा हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरिएको छ । बाढीपहिरोले दुहु र व्यास क्षेत्रलाई जोड्ने सडक भत्काएपछि खाद्यान्न हेलिकप्टरमार्फत ढुवानी गरिएको हो ।

दुहुका बाढीपहिरोपीडित परिवारका लागि एक सय क्विन्टल चामल, ३ क्विन्टल दाल, तेल र नुन, ३ हजार ५ सय मिटर खानेपानीको पाइप ढुवानी गरिएको गाउॅपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

गृह मन्त्रालयको संयोजनमा सेनाले खाद्यान्न ढुवानी गरेपछि स्थानीयस्तरमा वितरण व्यवस्थित गर्ने प्रयास गरिएको छ । हेलिकप्टरले खाद्यान्न दुहु–२ स्थित गौरीलमाण्डौ माध्यामिक विद्यालयमा पुर्‍याएको र त्यहाँबाट बाढीपहिरो प्रभावित क्षेत्रमा स्थानीयले बोकेर पीडितमाझ पुर्‍याइएको कार्की बताउँछन् ।

दुहुले बाढी प्रभावित क्षेत्रका लागि जिल्ला प्रशासन कार्यालयमार्फत तत्काल हेलिकप्टरबाट खाद्यान्न ढुवानीको माग गरेको थियो । खानेपानी योजनाहरू अवरुद्ध रहेकाले पाइपसमेत हेलिकप्टरबाटै ढुवानी गरिएको हो ।

व्यास र दुहु जोड्ने दार्चुला–टिंकर सडक र मोटरेबल पुल भत्काउँदा यातायात सेवा अवरुद्ध छ । दुहु र महाकाली नगरपालिकामा आएको बाढीपहिरोमा पुरिएर ३ जनाको मृत्यु तथा २ जना मानिस बेपत्ता भएका थिए । २ सय ६५ परिवार घरबारबिहीन भएका थिए । दुहुमा मात्रै डेढ सय परिवार विस्थापित भएका छन् । उनीहरू विद्यालय र सामुदायिक भवनमा आश्रय लिइबसेका छन् । यसअघि दुहुले सय क्विन्टल चामल, ५ क्विन्टल दाल, दुई सय लिटर तेल, सय थान टेन्ट तथा तीन हजार मिटर खानेपानीको पाइप खरिद गरेको थियो ।

त्यस्तै, मालघाटको ‘तुइन घटना’ पछि खाद्यान्न अभाव भएका व्यास–२ का माल, कोठेरधार र खाङदाङवासीका लागि पनि सेनाको हेलिकप्टरले खाद्यान्न ढुवानी गरेको छ । ५० क्विन्टल चामल ढुवानी गरिएकोमा ८२ परिवारलाई वितरण गरिएको व्यास गाउॅपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकीले जानकारी दिए ।

प्रकाशित : भाद्र २९, २०७८ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्

विद्यालयमा मास्क न दूरी

स्वास्थ्य मापदण्डको पालना नगर्दा संक्रमणको जोखिम कायमै
ओमप्रकाश ठाकुर

सर्लाही — कोरोनाको दोस्रो लहरपछि बन्द सर्लाहीका सबै विद्यालय खुलेका छन् । झन्डै ५ महिनापछि विद्यालय खुलेपछि विद्यार्थी उत्साहित देखिए पनि विद्यालयमा स्वास्थ्य मापदण्डको ख्याल गरेको पाइँदैन । विद्यालयहरूमा न हात धुने ब्यवस्था छ, न सेनिटाइजर राखिएको छ । भौतिक दूरी परको कुरा विद्यार्थी र शिक्षकले मास्क समेत लगाएको पाइँदैन । यसले बालबालिकामा जोखिम कायमै छ । 

सहरी क्षेत्रका निजी विद्यालयले विद्यार्थी र शिक्षक दुवैलाई मास्क लगाउन कडाइ गरे पनि सामुदायिक विद्यालयमा भने चासो दिइएको देखिँदैन । गाउँका निजी विद्यालयको पनि अवस्था यस्तै छ । अधिकांश विद्यालयमा सुरक्षाको मापदण्ड पूरा गरिएको छैन । दुई साता अघिबाट पठनपाठन सुरु गरिएका विद्यालयहरूमा सामान्य अवस्थामा जस्तै विद्यार्थीहरू आउने गरेका छन् ।

विद्यार्थीले प्रत्येक दिन मास्क किनेर लगाउन सक्ने अवस्था नरहेको बताएका छन् । कविलासी नगरपालिका–२ पिपरियास्थित बाल गोविन्द जनता माविमा कक्षा–१० मा अध्ययनरत विजय मण्डलले प्रत्येक दिन मास्क किनेर लगाउन सक्ने अवस्था नरहेको बताए । ‘प्रत्येक दिन १० रुपैयाँ खर्चेर मास्क किन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘मास्क लगाउनु पर्छ, हात धुनु पर्छ, नभए सेनिटाइजर प्रयोग गर्नुपर्छ भन्ने थाहा छ, तर के गर्नु यी सब कुरा अर्थसँग जोडिएको छ ।’

झन्डै एक हजार एक सय विद्यार्थीले पढ्ने यो विद्यालयका अन्य केही विद्यार्थीले मास्क बोके पनि लगाउने गरेका छैनन् । शिक्षकले कडाइ गरेका बेला अथवा बाहिरबाट कोही विद्यालयमा आएको बेला हतार–हतार विद्यार्थीहरू मास्क लगाएर बस्ने गरेका छन् । प्रधानाध्यापक बद्रिनारायण मिश्रले विद्यालयमा मास्क लगाउन अनिवार्य गरेको बताए । उनले विद्यार्थी कम्पाउन्डमा प्रवेश गरे लगत्तै मास्क चेक गरेर मात्र भित्र प्रवेश गर्न दिइएको तथा मास्क नभएका विद्यार्थीलाई विद्यालयले उपलब्ध गराउँदै आएको बताए । तर प्रत्येक दिन विद्यालयले मास्क दिनसक्ने अवस्था नरहेको उनले जानकारी दिए । उनले भने, ‘कक्षामा प्रवेश गरेपछि विद्यार्थीहरूले अलि हेलचेक्र्याइँ गरेको पाइरहेका छौं, अन्य केहीको आर्थिक अवस्था पनि कमजोर नै छ ।’

कविलासी–७ गैर बजारस्थित जनता मावि, हरिपुर–९ पिडारीस्थित रामलगन माविको अवस्था पनि उस्तै छ । यहाँ त झन् विद्यालय भवनमा जस्ता प्रयोग भएकाले विद्यार्थीहरू उकुसमुकुस भएर लगाएको मास्कसमेत खोलेर पढ्ने गरेका छन् । यी मात्र हैन, जिल्लाभरिका विद्यालयको अवस्था यस्तै छ । गर्मीले उकुसमुकुस भएर मास्क लगाउन छोडिएको विद्यार्थीहरूले बताउँदै आएका छन् । उनीहरूले विद्यालय खुलेको दुई चार दिन मास्क लगाए पनि चर्को गर्मी सहन नसकेर मास्क बोक्नै छाडेको बताए । ‘एक त उखरमाउलो गर्मी, दोस्रोमा जस्ताको छाना, त्यसमाथि मास्क लगाएर बस्नै नसकेपछि मास्क लगाउनै छाडियो,’ कक्षा–९ मा अध्ययनरत सपना चौधरीले भनिन्, ‘उखरमाउलो गर्मीमा उकुसमुकुस हुनुभन्दा मास्क खोलेकै बेस भनेर विना मास्क विद्यालय आउने गरेका छौं ।’

कोभिडको दोस्रो लहरमा जिल्लामा ८५ जनाले ज्यान गुमाएको तथ्यांक प्रशासनको छ । गाउँगाउँमा कोभिडको मिल्दोजुल्दो लक्षण भएका धेरैले ज्यान गुमाएका छन् । स्थानीय प्रशासनले जोखिम कम नभएको भन्दै अर्को आदेश नहुञ्जेल निषेधाज्ञा जारी नै गरेका छन् । विद्यालयमा भने ३३ प्रतिशत विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठनको आदेश दिइए पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।

कतिपय विद्यालयले जोर बिजोर प्रणाली अपनाएका छन् । स्थानीय तह, शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिले विद्यालय सञ्चालन गर्दा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्डहरूमा ख्याल गर्न जरुरी रहेको विज्ञहरूको भनाइ छ ।

प्रकाशित : भाद्र २९, २०७८ १०:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×