कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अवरुद्ध सडक अझै खुलेनन्

३ महिनादेखि ठप्प बैतडीका अधिकांश मुख्य र ग्रामीण सडक खुलाउन स्थानीय तहको बेवास्ता
तृप्ति शाही

बैतडी — जेठ अन्तिमतिरको वर्षापछि आएको पहिरोले बैतडीको पञ्चेश्वर गाउँपालिका–६ मा पर्ने गणमेश्वर–देवताल सडक अवरुद्ध भयो । पहिरोले ठप्प उक्त सडक ३ महिना बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

अवरुद्ध सडक अझै खुलेनन्

दोगडाकेदार गाउँपालिकामा पर्ने खोचलेक–चडेपानी र सिल्लेगडा–रिम सडक पनि अवरुद्ध छन् । वर्षायाम सुरु हुनासाथ बन्द भएका जिल्लाका अधिकांश मुख्य र ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन् । ती सडक खुलाउन सम्बन्धित निकायले कुनै पहलसमेत गरेका छैनन् ।

चाडपर्व नजिकिँदै गर्दा जिल्लाबाहिर रहेकाहरू घर फर्कन थालेका छन् । तर बर्खामा क्षतविक्षत सडक नखुल्दा यात्रु सास्ती खेप्न बाध्य छन् । जेनतेन सञ्चालनमा रहेका सडकहरूको अवस्था पनि नाजुक छ । हिलो र खाल्डाखुल्डीले सवारीसाधन चलाउनै जोखिम हुने गरेको छ । चलेका सवारीसाधन पनि धकेलेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता रहेको यात्रुहरू बताउँछन् ।

स्थानीय तहमा सञ्चालनमा रहेका अधिकांश कच्ची सडकहरू बन्द रहेका दोगडाकेदार–७ का भुवन कार्कीले बताए । वर्षा लागेसँगै सधैंजसो कच्ची सडकमा सवारी साधन चल्न नसक्ने र यो वर्ष पनि अवस्था उस्तै रहेको उनको भनाइ छ । साँघुरा सडक वर्षामा हिलाम्मे हुने भएकोले बन्द हुने गरेका हुन् । ‘स्थानीयलाई भने सास्ती भएको छ । दिनभर हिँडेर मात्र सवारीसाधन चल्ने ठाउँसम्म पुग्न सकिन्छ,’ उनले भने, ‘कसैले त गन्तव्यमा पुग्न दुई दिनसम्म पनि हिँड्नुपरिरहेको छ ।’

उनका अनुसार केही दिनअघि वृद्ध भत्ताका लागि बैंक आउने ज्येष्ठ नागरिकहरूलाई परिवारका सदस्यले दुई दिनसम्म बोकेर बैंक पुर्‍याएका थिए । बिरामीलाई पनि स्वास्थ्य संस्थासम्म पुर्‍याउन बोक्नुको विकल्प छैन । ‘स्थानीयले यति धेरै दुःख भोग्दा पनि स्थानीय तहहरू चुप लागेर बसेका छन्,’ उनले गुनासो गरे, ‘मापदण्डविपरीत असारे बजेट सक्न असार अन्तिममा ट्र्याक खोलिएका सडकले गर्दा ग्रामीण भेगका बासिन्दाले दुःख पाइरहेका छन् । जहाँ पायो त्यहीं खनिएका सडकहरू पानी पर्दा कामै नलाग्ने हुने गरेका छन् ।’ ग्रामीण सडकहरू बन्द हुँदा कृषकहरूले उत्पादन गरेका तरकारी बजार पुर्‍याउन पनि समस्या भइरहेको उनले बताए ।

सञ्चालनमा रहेका ग्रामीण सडकमा यात्रु र आफ्नो ज्यानै जोखिममा राखेर चालकहरूले सवारीसाधन चलाइरहेका छन् । पहिरो र हिलोले गर्दा दुर्गमका कच्ची सडकहरू सवारीसाधन चलाउन सकिने अवस्थाका नभएका पञ्चेश्वर गाउँपालिका–५ का चालक नरेन्द्र कलौनी बताउँछन् । ‘सडकको अवस्था एकदमै बिग्रेको छ । दगातारजसो पहिरो खसिरहन्छ । यात्रुले आफैं पन्छाएर सडक खोल्छन् । गाडी चलाउन निकै जोखिम छ,’ कलौनीले भने, ‘ज्यानकै जोखिमका बीच यात्रा गर्नुपर्ने अवस्था छ ।’ भौगर्भिक अध्ययन र डीपीआरबिनै ठेकेदारको भरमा सडक खनिँदा जनताले सास्ती भोगिरहेको उनको भनाइ छ । ‘यस्ता सडकमा दुर्घटना पनि धेरै भइरहेका हुन्छन् । बर्सेनि कतिपयले सडकको दुर्दशाकै कारण दुर्घटनामा परि ज्यान गुमाउँछन्,’ उनले भने ।

‘हामी सधैं कच्ची सडकमा गाडी चलाउनेलाई त गाह्रो हुन्छ । अरूले त यस्तो सडकमा गाडी लैजाने आँटै गर्दैनन्,’ अर्का चालक सुरेश पुजाराले भने, ‘काम नगरी गुजारा चल्दैन, ज्यानै जोखिममा राखेर गाडी चलाइरहेका छौं ।’ धेरै पानी परेको दिन त गाडी बन्दै गर्नुपर्ने अवस्था रहेको उनले बताए । यहाँका कच्ची सडकमा दुर्घटनाको जोखिम पनि धेरै रहेको उनले सुनाए । ‘सडक त धेरै अप्ठ्यारा छन् । एक त साँघुरा त्यहीमाथि उकालोमा पनि मोडहरू छन् । माथिबाट पहिरो आउने र तल भासिने डर पनि उत्तिकै हुन्छ । हरेक दिन सामान्य झरीमा पनि गाडी सडकमा नफसेको दिनै हुन्न,’ पुजाराले भने ।

प्रकाशित : भाद्र २९, २०७८ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?