थारू समुदायमा अट्वारी रमझम

गणेश चौधरी

टीकापुर — पश्चिम नेपालका थारू समुदाय आइतबार अट्वारी पर्व मनाइरहेका छन् । अट्वारी पर्वमा दिनभर व्रत बसेर साँझ भान्सा कोठाभन्दा फरक कोठा ‘बहरी’ मा कमेरो माटो, गाईको गोबरले लिपेर पवित्र तरिकाबाट रोटी पकाएर व्रत पूरा गर्ने परम्परा छ । 

थारू समुदायमा अट्वारी रमझम

यो पर्वमा विशेषगरी तोरीको तेलमा विभिन्नथरीका रोटी पकाउने चलन छ । व्रत बसेका आफैंले रोटी पकाउने गर्छन् । पूजाका लागि पकाइने रोटी नफर्काएरै पकाउने चलन छ । जसलाई थारूहरू ‘रोट’ भन्ने गर्छन् । यो रोटी पूजाका लागि अलग्गै राख्नुपर्छ । रोटी पकाउँदा व्रत बसेका बाहेक अरूहरू त्यो ठाउँ जान वा छुन पाउँदैनन् ।

यस्तो रोटी पकाउनलाई चोखो आगोको जरुरी हुन्छ । यसका लागि ‘गन्यारी’ भन्ने काठबाट निकालिएको आगोले रोटी पकाउने चलन रहेको छ । त्यही आगोलाई घिउ, रोट, दही, काँक्रा, केरा, अम्बालगायत फलफूलले अग्नि देवतालाई अर्पण गरी आफ्ना दिदीबहिनीहरूको नाममा ‘अग्रासन’ छुट्टाएर यो पर्व मनाइने थारूहरू बताउॅछन् ।

टीकापुर नगरपालिका–१ का वीरबहादुर थारू भन्छन्, ‘थारू समुदायले यो पर्वमा अग्निलाई देवता मानेर पूजा गर्ने र भ्यावाँ (भीम) को पूजा गरिन्छ । आगो पनि शक्ति हो र भीम पनि बलियो मानिएकाले उनको पूजा गरिएको हो । यसको पूजाले शक्ति प्राप्त हुन्छ भन्ने विश्वास छ ।’ कृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारका दिन थारूहरूले अट्वारी व्रत बस्ने चलन रहेको वीरबहादुरले बताए । थारू राजा दंगीशरणको पक्षमा पाँच पाण्डवमध्येका भीमले तावामा पकाउन राखेको रोटी पनि नखाई दंगीशरणको पक्षमा लडेकाले यो चाडमा थरीथरीका रोटी पकाएर अग्नि देउतालाई चढाउने र खाने खुवाउने गरिएको थारू बूढापाका भन्छन् । अट्वारी पर्वको भोलिपल्ट बिहान भात तरकारी पनि अग्नि देउतालाई चढाउने र पकाएको खाना पनि अग्रासनका रूपमा छुट्याइसकेपछि खाने चलन छ ।

प्रकाशित : भाद्र २७, २०७८ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?