२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

बजार अनुगमन गर्दैनन् स्थानीय तह

चार महिनाको एक पटक बजार अनुगमन गर्नुपर्ने प्रावधान छ
तृप्ति शाही

बैतडी — संघीय संरचनामा बजार अनुगमन गर्ने जिम्मा स्थानीय तहको हो । चार महिनाको एकपटक स्थानीय तहले बजार अनुगमन गर्नुपर्ने प्रावधान छ । स्थानीय तहका उपाध्यक्ष र उपप्रमुखलाई अनुगमन प्रमुखको जिम्मेवारी पनि तोकिएको छ । तर बैतडीका स्थानीय तहले भने बजार अनुगमन गर्दैनन् ।

बजार अनुगमन गर्दैनन् स्थानीय तह

६ गाउँपालिका र ४ नगरपालिका गरी १० वटा स्थानीय तह रहेको जिल्लाका कुनै पनि पालिकाले बजार अनुगमनमा चासो देखाएका छैनन् । वर्षको एकपटक पनि यहाॅका पालिकाले बजार अनुगमन गरेका छैनन् । आजभोलि बजार अनुगमन गर्न नसकिएको दोगडाकेदार गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताइन् । वर्षको एक/दुई पटक मात्र अनुगमन गर्न सकिने अवस्था रहेको उनले बताइन् । उनका अनुसार पालिका स्थापना भइसकेपछि पालिकाकै आयोजनामा अहिलेसम्म बजार अनुगमन गरिएको छैन ।

जिल्ला प्रशासन कार्यालयबाट आएको टोलीसँग संयुक्त रूपमा २ पटक मात्र अनुगमन गरिएको उनको भनाइ थियो । आफ्नै गाउँको बजारमा अनुगमन गर्न जनप्रतिनिधिहरूले अप्ठेरो मान्ने गरेका छन् । तिनै जनताले दिएको भोटबाट निर्वाचित भएकोले उनीहरूकै पसलहरू अनुगमन गर्न गाह्रो हुने गरेको उनीहरू बताउँछन् ।

निर्वाचित भइसकेपछि ३ पटक मात्र अनुगमन गर्न सकिएको मेलौलीकी उपप्रमुख राधा ओझा बताउँछिन् । उनले भनिन्, ‘हामीलाई अनुगमनको संयोजक तोकिदिएको छ । हाम्रो मात्र जिम्मा हो सोच्छन् अरूले । हामीले मात्र पनि त सम्भव छैन ।’ अनुगमन समिति खासै प्रभावकारी हुन नसकेको उनले बताइन् । समितिको बैठकै बस्न नसकिने अवस्था रहेको उनले सुनाइन् । उनले भनिन्, ‘अनुगमन समितिमा सबै स्थानीयस्तरमा काम गरिरहेकाहरू हुने भएकाले पनि काम गर्न सकिएको छैन । सबै चिनजानकै नजिकको भएकोले गाह्रो भएको छ ।’ आफूहरूले जनचेतना फैलाउने कार्य भने गरिरहेको उपप्रमुख ओझा बताउँछिन् ।

दुर्गममा रहेको सिगास गाउँपालिकाले पनि अनुगमनको कार्य गर्न सकेको छैन । शिवनाथ गाउँपालिकाको अवस्था पनि यस्तै छ । गत वर्षबाट अनुगमनको कार्य हुन नसकेको उपाध्यक्ष कुश्मा चन्दले बताइन् । ‘हाम्रो पालिकातिर धेरै ठूलो बजार पनि छैन । गुनासाहरू आएकाले एकपल्ट गरेका हौं । सानो र स्थानीय बजार भएकोले अनुगमन गर्नुपरेको छैन,’ उनले भनिन् ।

जिल्ला सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकाले पनि बजार अनुगमनमा चासो देखाउँदैन । स्थानीय प्रशासन र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको अनुगमनका पालिकाकाले सहभागिता मात्र देखाउने गरेको छ । स्थानीय बजारमा अनुगमन नहुने भएकाले व्यापारीहरूको मनपरी हुने गरेको स्थानीय बताउँछन् । म्याद नाघेका सामग्रीहरू व्यापारीले बेच्ने गरेका दोगडाकेदार गाउँपालिका—७ का स्थानीय भुवन कार्कीले बताए ।

महँगोमा बेच्ने व्यापारीहरू पनि धेरै रहेका उनले बताए । जनप्रतिनिधिहरूको लापरबाहीले सेवाग्राहीहरू मर्कामा परेका उनको भनाइ थियो । सदरमुकाम क्षेत्रका बजारहरूमा प्रशासनले अनुगमन गर्ने गरेको भए पनि सबै पालिकाका बजारमा सम्भव नभएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे बताउँछन् । उनले भने, ‘स्थानीय तहलाई पनि बजार अनुगमन गरेर नियमविपरीतको कार्य गरेको खण्डमा कारबाही र सिफारिस गर्ने अधिकार छ ।’

प्रशासनमा जनशक्ति कम भएकाले सबै पालिकाका बजारमा पुग्न नसकिने उनले बताए । गुनासाहरू आएको खण्डमा भने पुगेर अनुगमन गर्ने गरेको उनले बताए । पछिल्लो पटक यही जेठ ८ देखि १५ गतेसम्म जिल्लाका मुख्य बजारका १ सय २६ पसलमा अनुगमन भएको थियो । जसमा ५६ पसलले म्याद नाघेका सामानहरू बिक्री गर्ने गरेको पाइएको थियो । दर्ता नगरी व्यवसाय सञ्चालन गर्ने पसलहरू पनि १७ वटा भेटिएका थिए । यिनीहरू कसैलाई जरिवाना तिराएको र कसैलाई चेतावनी दिइएको प्रशासनले जनाएको छ ।

प्रकाशित : भाद्र २६, २०७८ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?