१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कोभिड नियन्त्रणमा खर्च साढे ४ करोड

मोहन बुढाऐर

धनगढी — धनगढी उपमहानगरपालिकाले कोभिड–१९ महामारीको नियन्त्रण व्यवस्थापन तथा राहतमा करिब साढे ४ करोड खर्च गरेको छ । आइसोलेसन, क्वारेन्टाइनमा मात्रै १ करोडभन्दा बढी खर्चेको छ । 

कोभिड नियन्त्रणमा खर्च साढे ४ करोड

उप–महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को पहिलो प्रकोपमा २ करोड ४३ लाख ५२ हजार र ०७७/०७८ को दोस्रो लहरमा १ करोड ९३ लाख २६ हजार खर्च गरेको छ । ‘पहिलो प्रकोपको बेलामा क्वारेन्टाइन, आइसोलेसन र राहतमा बढी रकम खर्च भएको छ,’ उपमहानगरपालिकाकी लेखाअधिकृत सरस्वती जोशीले भनिन्, ‘दोस्रो लहरमा अक्सिजन प्लान्ट, शव बहान र स्वास्थ्य सामग्री खरिदमा खर्च बढी छ ।’ उनका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा क्वारेन्टाइन र आइसोलसनमा ६० लाख बढी खर्च भएको छ । राहत वितरणमा ९४ लाख जति खर्च भएको छ । प्रयोगशाला स्तरोन्नति, औषधि खरिद, एम्बुलेन्स सञ्चालनमा ४० लाख, जोखिम भत्ता ३४ लाख र अन्य विविधमा १४ लाख गरी कुल २ करोड ४३ लाख ५२ हजार बढी खर्च भएको छ ।

कोभिडको दोस्रो लहर सुरु भएको वैशाखदेखि असारसम्मको तीन महिनामा १ करोड ९४ लाख खर्च भएको छ । उक्त खर्च रकममा जनसहभागिताबाट ५० लाख जोडिएको छ । दाताबाट उठेको उक्त रकम उपमहानगरपालिकाले अक्सिजन प्लान्ट स्थापनाका लागि खर्च गरेको जनाएको छ ।

अक्सिजन प्लान्ट खरिद र सञ्चालनमा ४९ लाख ९५ हजार र ट्रान्सफर्मर जडानमा ३ लाख ७८ हजार खर्च गरेको छ । शव बाहनमा २० लाख र अन्य भौतिक पूर्वाधार भनिएको शीर्षकमा १७ लाख ८८ हजार खर्च भएको लेखा शाखाले बताएको छ ।

दोस्रो लहरको बेला बिरामीको उपचार, संक्रमण नियन्त्रण, पीसीआर परीक्षण दर बढाउनेलगायतमा खर्च गर्नुभन्दा धेरै रकम उपमहानगरले कोभिडको नाममा अन्य खर्च गरेको एक जना कर्मचारीले बताए । कोभिड रोकथाम नियन्त्रण तथा व्यवस्थापनमा जम्मा ४ लाख १७ हजार खर्च गरेको उपमहानगरपालिकाले विविध खर्चअन्तर्गत करिब ५ लाख खर्च गरेको छ । औषधि खरिदमा २५ लाखको बजेट भए पनि १० लाख ७८ हजारको मात्रै खरिद गरेको लेखा शाखाले जनाएको छ ।

‘हजारौंको संख्यामा भारतबाट घर फर्कने नेपालीहरूलाई नाकामै स्वास्थ्य जाँच, होल्डिङ सेन्टर निर्माण, क्वारेन्टाइन र आइसोलेसन राख्ने कार्यमा खर्चको प्राथमिकता थियो,’ नाम नखोल्ने सर्तमा स्वास्थ्य शाखाका कर्मचारीले भने, ‘पहिलोमा राम्रो काम भए पनि दोस्रो लहरमा भने उपमहानगरपालिको ध्यान पुगाउन चाहेन । अरू कार्यमा खर्च बढाए, आवश्यकता भएको भएको ठाउँमा रकम बजेटिङ नै भएन ।’ उनले यसै कारण दोस्रो लहर झन खतनाक भएर फैलिएको बताए ।

राहत कार्यक्रममा ४९ लाख ९९ हजार ९सय ८८ रुपैयाँ खर्च गरेको धनगढी उपमहानगरपालिकाले सीमा नाकाको व्यवस्थापन, क्वारेन्टाइन र आइसोलेसनमा ७ लाख १४ हजार खर्च भएको जनाएको छ । गेटा मेडिकल कलेजमा राखिएको आइसोलेसन सञ्चालनमा मात्रै धनगढी उपमहानगरले करिब २५ लाख खर्च गरेको छ ।

प्रकाशित : भाद्र २४, २०७८ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?