पढाइ सुरु गर्न जुटे पालिका र विद्यालय

भौतिक दूरी र स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्न सक्ने शिक्षा विकास तथा समन्वय इकाइको भनाइ

कञ्चनपुर/बैतडी — जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयपछि स्थानीय तहहरू पठनपाठन सुचारु गर्ने तयारीमा जुटेका छन् । स्वास्थ्य मापदण्डको पालना गरेर पालिकाहरूले विद्यालय खोल्ने निर्णय गर्न थालेका हुन् ।

पढाइ सुरु गर्न जुटे पालिका र विद्यालय

कञ्चनपुरको भीमदत्त नगरपालिकाले गत आइतबारदेखि नै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर भौतिक रूपमा पठनपाठन सुचारु गरेको जनाएको छ । ‘स्वास्थ्य मापदण्ड पालना गरेर अभिभावकको सहमतिअनुसार पठनपाठन सुचारु गर्ने निर्णय भएको छ,’ नगर प्रमुख सुरेन्द्र विष्टले भने, ‘नगरपालिकाले यसको अनुगमन पनि गर्नेछ ।’ स्वास्थ्य मापदण्ड पालना नभए विद्यालय बन्द गराउन सकिने उनले बताए ।

जिल्लाको दक्षिणी क्षेत्रमा रहेको बेलौरी नगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयलाई भदौ २८ भित्र विद्यालय सञ्चालनको कार्यढाँचा पेस गर्ने समय तोकेको छ । शिक्षा मन्त्रलयले जारी गरेको विद्यालय सञ्चालन कार्यढाँचा २०७७ भित्र रहेर स्वास्थ्य मापदण्डको पालना गरेर पठनपाठन सुचारु गर्न सकिने निर्णय गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख देवबहादुर चन्दले बताए । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले शिक्षा मन्त्रालयले जारी गरेको स्मार्ट लकडाउनको पालना गर्दै पठन पाठन सुचारु गर्न सकिने निर्णय गरेको थियो ।

स्थानीय तह र विद्यालय व्यवस्थापन समितिको निर्णयका आधारमा मात्रै पठनपाठन सुचारु गर्न सकिने निर्णयमा उल्लेख छ । उक्त निर्णयपछि स्थानीय तहहरू विद्यालय सञ्चालन गर्ने तयारीमा जुटेका हुन् । ‘हामीले पनि सोमबार नगर शिक्षा समिति र प्रधानाध्यापकको बैठक बोलाएका छौं,’ पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले भने, ‘विद्यालय सञ्चालनकै लागि उक्त बैठक बोलाएका हौं ।’ बेदकोट नगरपालिकाले सोमबारदेखि विद्यालय सञ्चालनको तयारी गरेको छ । सबै विद्यालयलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर स्मार्ट लकडाउनको पालन गरेर पठनपाठन सुचारु गर्न निर्देशन दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले बताए ।

बैतडीमा पनि विद्यालय खुल्दै

कोरोनाको जोखिम कम भएका बैतडीका स्थानीय तहहरूले केही दिनअघि नै विद्यालय सञ्चालनमा ल्याइसकेका छन् । शिवनाथ गाउँपालिकाले भदौको दोस्रो साताबाट विद्यालय सञ्चालनमा ल्याएको अध्यक्ष कर्णसिंह साउदले बताए । यस्तै, सिगास गाउँपालिकाले कोरोना नभएको टोलका विद्यालयमा पठनपाठन सुरु गरेको छ । गाउँपालिकाका शिक्षा अधिकृत रमेशप्रसाद भट्टका अनुसार पालिकाका सबै विद्यालयका प्रध्यानाध्यापकहरूको बैठकपछि संक्रमण नभएको ठाउँमा सुरक्षाका मापदण्ड अपनाएर पठनपाठन सुचारु गर्ने निर्णय गरिएको छ ।

बैतडीका पालिकाहरूले पनि पठनपाठन कसरी सुचारु गर्ने भन्ने विषयमा छलफल सुरु गरेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पालिकाले निर्णय गरेर वैकल्पिक माध्यमबाट पढाउन सक्ने परिपत्र गरेपछि पालिकाहरू विद्यालय खोल्न हौसिएका हुन् । पाटन नगरपालिकाले आइतबारबाट विद्यालयमा पठनपाठन सुरु गरेको छ । कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई एक समय र ९ देखि १२ सम्मकालाई अर्को समयमा बोलाएर पठनपाठन गराउने निर्णय पालिकाले गरेको छ । यसैअनुरूप पालिकाका विद्यालयहरू सञ्चालनमा आएका पाटन नगरपालिका–९ को ज्ञानेश्वर माविका सहायक प्रधानाध्यापक धनबहादुर बोहराले बताए ।

यस्तै, सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकाले पनि विद्यालय सञ्चालनबारे छलफल थालेको छ । अन्य केही पालिकाले पठाउनै सुरु गरिसकेका छन् भने केहीले तयारी थालेका छन् । विद्यालयलाई वैकल्पिक माध्यमबाट सुचारु गर्ने जिम्मा पालिकालाई दिइएको छ । उनीहरूले कोरोना नभएको अवस्थामा भौतिक दूरी र स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्न सक्ने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । अहिले जिल्लामा कोरोनाको संक्रमण कम भएकाले स्थानीय तहले जोखीमको आकलन गरेर विद्यालय खोल्न सक्ने निर्णय जिल्ला प्रशासन कार्यालयले गरेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । उक्त निर्णय २ हप्ता अगाडि नै गरेको उनले बताए ।

प्रकाशित : भाद्र २३, २०७८ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?