प्रजनन स्वास्थ्यबारे खुल्न थाले महिला

‘महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य कार्यक्रम र महिला आफैं पनि आफ्नो स्वास्थ्यबारे बुझ्ने र समस्या भन्ने भएका छन्’
मेनुका ढुंगाना

अछाम — चौरपाटी गाउँपालिका–२ की मना साउद ३२ वर्षकी भइन् । १६ वर्षकै उमेरमा बिहे गरेकी उनका ३ छोरी र १ छोरा छन् । पहिले छोरा जन्मेपछि लगातार छोरी जन्मिए ।

प्रजनन स्वास्थ्यबारे खुल्न थाले महिला

स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि बच्चा जन्माउन नसक्ने श्रीमान्लाई सुनाउँदा अर्को छोरा चाहिन्छ भन्ने श्रीमान्ले अडान राखेको उनी सुनाउँछिन् । ‘गाउँमा हुने कार्यक्रममा स्थायी बन्ध्याकरण र परिवार नियोजनका साधनबारे जानकारी पाएकी थिएँ । श्रीमान्लाई सम्झाइबुझाइ गरें,’ उनले भनिन्, ‘मंगलसेन जाने मौकामा आफैं स्थायी बन्ध्याकरण गरेकी छु ।’

ढकारी गाउँपालिका–३ की रत्ना साउद पनि उमेरले ३२ वर्षकी भइन् । २ छोराछोरी पाइसकेपछि श्रीमान्लाई स्थायी बन्ध्याकरण गर्न सुझाव दिइन् । तर नमानेपछि आफैं बन्ध्याकरण गरेको उनको भनाइ छ । ‘पुरुषले बन्ध्याकरण गर्न पर्दैन भनेपछि जबर्जस्ती गर्न सकिँदैनथ्यो । अहिले गाउँगाउँमा यौन शिक्षा पुग्यो । हामी पनि जान्ने भयौं ।’ उनका अनुसार गाउँमा थुप्रै महिला यौन तथा प्रजननका बारेमा बोल्न सक्ने भएका छन् ।

प्रजनन स्वास्थ्य र यौन समस्याबारे बोल्न लाज मान्ने ग्रामीण भेगका महिलाहरू अहिले खुलेर कुरा गर्न थालेका छन् । ‘महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य कार्यक्रम र महिला आफैं पनि आफ्नो स्वास्थ्यबारे बुझ्ने र समस्या भन्ने भएका छन्,’ ढकारीकै संगीताले भनिन्, ‘यौन र प्रजनन समस्याका बारेमा कुरा गर्दा पनि टाउको लुकाउने महिलाहरू बन्ध्याकरण आफैं गर्छु भनेर स्वास्थ्य संस्थामा जानु नै ठूलो कुरा हो ।’

किशोरावस्थामा पुगेपछि हुने शारीरिक परिवर्तन, पहिलोपटक महिनावारी हुँदा र यौन शिक्षाका बारेमा खुलेर कुरा गर्न नसक्ने किशोरीहरू समेत अहिले आफ्ना समस्या अभिभावक, स्वास्थ्यकर्मी र शिक्षकसँग राख्न सक्ने भएका हिच्माकी कालिका शाही बताउँछिन् । ‘महिनावारी भएका बेलामा आफूमा देखिने समस्याबारे कसैलाई भन्न पनि लाज लाग्ने गर्दथ्यो, कसैले केही भन्ने हो कि भन्ने डर लाग्थ्यो,’ कालिका भन्छिन्, ‘यौन शिक्षाका बारेमा थाहा पाएपछि गाउँमा अरूलाई पनि परिवार नियोजनका साधन बाँड्ने, यौन र प्रजनन स्वास्थ्यका बारेमा बताउने गर्छु ।’

कक्षामा शिक्षक–शिक्षिकाले यौन तथा प्रजनन शिक्षाका बारेमा पढाउँदा लाज मान्ने किशारीहरू अहिले पुरुषलाई अस्थायी साधन वितरण गर्ने, प्रयोगको तरिकासमेत जानकारी गराउन थालेको कालिका बताउँछिन् । ‘यौनका बारेमा धेरै मान्छे जानकार नहुँदा यौनसम्बन्धी रोग लुकाएर बस्ने बानी छ, त्यसैले हामीले यससम्बन्धी जानकारी गराउँदा धेरै मान्छे खुलेर आफ्ना समस्या भन्ने भएका छन्,’ अर्की किशोरी स्मृति शाही भन्छिन्, ‘असुरक्षित यौनसम्पर्कले विभिन्न रोग लाग्न सक्ने भएकाले सुरक्षित यौनसम्पर्कका लागि पुरुषले प्रयोग गर्ने अस्थायी साधन वितरणसमेत गर्ने गरेका छौं ।’

अछामका विभिन्न ग्रामीण भेगमा निजी क्लिनिकसँगको साझेदारीमा परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र शिक्षाका बारेमा जानकारी दिने अभियान थालेको गेरुवा ग्रामीण जागरण संघका प्रमुख दिलबहादुर शाहीले बताए । उनका अनुसार यौनका कुरा गर्न डर र लाज मान्ने हिजोका किशोरकिशोरी अहिले यौन र प्रजनन स्वास्थ्यका बारेमा जानकारी गराउन विद्यालयमा अन्तर्क्रिया कार्यक्रम, सडक नाटक, समुदायका युवासँग छलफल गरेका छन् ।

शाही भन्छन्, ‘समाजमा अहिले महिला तथा किशोरीहरूले परिवार नियोजनका साधनका बारेमा खुलेर बताउने गरेका छन् ।’ किशोर–किशोरीहरूले एचआईभी रोकथाम, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, परिवार नियोजनका साधन र यौन स्वास्थ्यबारे गाउँगाउँमा पुगेर चेतना जगाउने काम गरेको उनले बताए ।

प्रकाशित : भाद्र २१, २०७८ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?