१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बैतडीमा स्क्रब टाइफसका बिरामी बढे

अस्पताल आउने ज्वरोका प्रत्येक बिरामीको परीक्षण गर्दै 
तृप्ति शाही

बैतडी — पछिल्लो समय बैतडीमा स्क्रब टाइफसका बिरामीको संख्या बढेको छ । वर्षायामको सुरुबाटै बिरामीको संख्या बढेको हो । विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यो वर्ष स्क्रब टाइफसका बिरामीको संख्या धेरै रहेको जिल्ला अस्पतालले जनाएको छ ।

बैतडीमा स्क्रब टाइफसका बिरामी बढे

अस्पतालमा आएका बिरामीमध्ये दैनिक चार जना जतिलाई स्क्रब टाइफस देखिने गरेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए । उनले भने, ‘केही समयअघिबाट दैनिक देखिने गरेका छन् ।’ जिल्ला अस्पतालबाट रेफर गरेका केही बिरामीहरूमा डेंगु पनि देखिएको अस्पतालले बताएको छ ।

केही स्क्रब टाइफसका बिरामीलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था रहेको अस्पतालका प्रमुख डा. वसन्तराज जोशी बताउँछन् । ‘अनिवार्य परीक्षणले पनि बढी देखिएका छन्,’ उनले भने, ‘अस्पताल आउने ज्वरोका प्रत्येक बिरामीमा क्रब टाइफसको परीक्षण गरिरहेका छौं ।’ यस्तै जिल्लामा भाइरल ज्वरोका बिरामीको संख्या पनि बढेको छ । जिल्ला अस्पतालमा मात्र दैनिक २५ भन्दा बढी भाइरल ज्वरोका बिरामीहरू उपचारका लागि पुग्ने गरेका अस्पतालले जनाएको छ । भर्ना गर्नुपर्ने अवस्थाका ज्वरोका बिरामीहरू पनि छन् । दिनमा ५ जनासम्मलाई अस्पतालमा भर्ना गर्नुपर्ने अहिलेको अवस्था रहेको सूचना अधिकारी पन्त बताउछन् ।

यस्तै जिल्लाका अन्य स्वास्थ्य संस्थाहरूमा पनि भाइरल ज्वरोका बिरामीको संख्या धेरै छ । वर्षायाम सुरु भएसँगै भाइरल ज्वरोका बिरामीको संख्यामा वृद्धि भएको पञ्चेश्वर गाउँपालिका–१ मा रहेको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताए । उनका अनुसार दैनीक २० जनाभन्दा बढी ज्वरोकै बिरामीहरू उपचारका लागि पुग्ने गरेका छन् । बालबालिका र ज्येष्ठ नागरिकहरूलाई भाइरल ज्वरो देखिएको उनले बताए । शुक्रबारसम्म मात्र १७ जना ज्वरोको बिरामी चेकजाँच गरेको उनको भनाइ थियो । वर्षात्को समयमा फोहर पानीको प्रयोग र गाउँमा कामकाजका बखत पानीमा धेरै समय भिज्न पर्ने बाध्यता रहेकाले भाइरल ज्वरोका बिरामी बढेको हुन सक्ने उनले बताए ।

केही दिनयताबाट आफ्नो स्वास्थ्य संस्थामा पनि भाइरल ज्वरोका बिरामीहरू अघिपछिको तुलनामा धेरै आउन थालेको पुरचौडी नगरपालिका–४ को भटना स्वास्थ्यचौकीका इन्चार्ज रोहित धानुक बताऊँछन् । असारबाट सुरु भएर असोजसम्म भाइरल ज्वरो जस्ता रोगहरूको प्रकोप देखिने गरेको जिल्ला अस्पतालका डा. जोशी बताउँछन् ।

वर्षातमा पानीका मुहानहरू सफा नहुँदा पानीजन्य रोगहरू देखापर्ने गरेको उनले बताए । यो समयमा किर्नालगायतका किराहरूले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामीहरू पनि देखिने गरेका उनी बताउँछन् । स्क्रब टाइफसले ज्यानै लिन सक्ने भएकाले परीक्षणको दायरा बढाएर उपचार गरिरहेको डा. जोशीले बताए ।

प्रकाशित : भाद्र १९, २०७८ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?