कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अझै निर्माण भएन राजघाट पुल

पुलबाट आउजाउ बन्द भएपछि पौडी खेलेर नदी तर्न खोज्ने एक स्थानीय मोहना नदीमा बेपत्ता
मोहन बुढाऐर

धनगढी — कैलाली र कञ्चनपुरलाई जोड्ने  मोहना नदीको राजघाटमा पुल निर्माण कार्य पूरा नहुँदा स्थानीयलाई नदी वारपार गर्न समस्या भएको छ । कञ्चनपुरको कृष्णनगर नगरपालिका – ९ का बासिन्दाको धनगढीमा  किनमेल, औषधि उपचार र व्यापार व्यवसायका लागि दैनिक आउजाउ  भइरहन्छ ।

अझै निर्माण भएन राजघाट पुल

‘निर्माणको काम कछुवा गतिमा हुँदा आठ वर्षमा पनि पुल निर्माण पूरा हुन सकेको छैन,’ स्थानीय पुनाराम चौधरीले भने, ‘आठौं वर्षमा पुल लगभग पूरा गरेको थियो । पुलबाट आउजाउ पनि सुरु भएको थियो । तर गएको शुक्रबारको बाढीले क्षति पुगाउँदा पुनः आउजाउमा समस्या समस्या भएको छ ।’ सडक डिभिजन शाखा कैलालीका सब–इन्जिनियर इन्द्र स्वाँरले ९० प्रतिशत निर्माण सम्पन्न भई आउजाउ सुरु भइसकेको राजघाट पुलको ‘राइट एब्युमेन्ट’ भागलाई मोहना नदीले धार परिर्वतन गरी कटान गरेको बताए । उनका अनुसार जमिनको सतहदेखि पुलको उचाइसम्मको माटोको भरानलाई प्राविधिक भाषामा ‘एब्युमेन्ट’ भनिन्छ । ‘एब्युमेन्ट’ भागको सुरक्षाका लागि ढुंगा तारजालीमा भरेर ग्याबिङ’ निर्माण गर्न बाँकी रहेको थियो’ उनले भने, ‘गत शुक्रबार नदीमा आएको बाढीले ‘एब्युमेन्ट’ भागलाई बगाएर क्षति पुगाएको हो । जसले गर्दा स्थानीयले नदी वारपारको समस्या पुनः झेल्नुपरेको हो ।’

अर्का स्थानीय रामदास चौधरीले बर्खाअघि नै ठेकेदार कम्पनीले सम्पन्न गरिसक्ने काम नगरेर नदी वारपारको समस्या झेल्नुपरेको बताए । उनले शुक्रबार मात्रै बाढीले निमार्णाधीन पुलबाटै भइरहेको आउजाउ अवरुद्ध भएपछि पौडी खेलेर नदी तर्न खोज्ने एक स्थानीयलाई मोहना नदीले बगाएर बेपत्ता भएको बताए ।

उनले तत्काललाई अस्थायी रूपमा भए पनि नदीले क्षति पुर्‍याएको ठाउँमा कट्टामा माटो भरेर तटबन्ध बनाएर पुलबाट आउजाउ सञ्चालनका लागि स्थानीयले ठेकेदार कम्पनी, सडक डिभिजनलाई आग्रह गरेको बताए । ‘तर स्थानीयको आउजाउको समस्याप्रति कसैको ध्यान पुगेको छैन,’ उनले भने, ‘आफ्ना लागि भए पनि अहिले स्थानीय आफैं जनश्रमदानबाट बाढीले क्षति पुगाएको ठाउँमा अस्थायी रूपमा कट्टामा माटो भरेर तटबन्ध निर्माणमा जुटेका छन् ।’ कृष्णपुर नगरपालिका राजघाट–९ का रामदास चौधरीले निर्माणको काम कछुवा गतिमा अघि बढेकाले पुल निर्माण ८ वर्षमा पनि सम्पन्न हुन नसकेको बताए । ‘बल्लबल्ल २०७० मा पुलको ठेक्का त भयो तर निर्माणको कामले गति पाएन ।’ उनले ठेकेदार कम्पनीलाई चाँडो निर्माणका लागि दबाब दिनमै स्थानीयले कैयौं दिन सडक आन्दोलन गर्नुपरेको बताए ।

सडक डिभिजनका अनुसार सरकारले २०७०/७१ मा ८ करोडको लागतमा इलाइट एड्भेन्चर कम्पनीसँग पुल निर्माणको ठेक्का सम्झौता गरेको हो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने समझौता भए पनि ठेकेदार कम्पनीले आठौं वर्षको अन्तिमपटक म्याद थप गरेर निर्माण गरिरहेको सबइन्जिनियर स्वाँरले बताए ।

प्रकाशित : भाद्र १७, २०७८ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?