थारू महिलाले मनाए ‘अष्टिम्की’- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थारू महिलाले मनाए ‘अष्टिम्की’

गणेश चौधरी

टीकापुर — पश्चिम तराईका थारू समुदायका महिलाले ‘अष्टिम्की’ पर्व धार्मिक परम्पराअनुसार मनाएका छन् । कृष्ण जन्माष्टमीको साँझ सोमबार थारू गाउँका व्रतालु थारू महिला थालमा चामल, चामलमाथि माटोको दियो (पाला) बालेर लोहटामा चोखो जल लिएर ‘अष्टिम्की’ घरमा छिरे ।

अँध्यारो अष्टिम्की घर पालाको दियालोले उज्यालो भयो । अन्न राख्ने भकारी ‘डेहरी’ मा लोक चित्रकारद्वारा चित्रण गरिएको चित्रहरूमा पालैसित उनीहरूले टीका लगाए । जसलाई थारूहरूले ‘अष्टिम्की’ भन्ने गरेका छन् । अष्टिम्कीमा बनाइएका चित्रमा टीका लगाउँदै व्रतालु थारू महिलाले जन्माष्टमीमा कान्हा (कृष्ण) भगवान्को पूजा गरे ।

अष्टिम्कीको हस्तलिखित चित्रको माथिल्लो भागमा चन्द्र र सूर्यको चित्र कोरिएको छ । पिँधमा जलमण्डलमा पाइने माछा, गंगटा, गड्यौलालगायतका चित्र छन् । मध्यभागमा कान्हा (कृष्ण) रूखमा बसेर बाँसुरी बजाइरहेको चित्र छ । माथिल्लो पंक्तिमा पाँच पाण्डव र त्यसमुनि गोपिनीहरूको ।

अष्टिम्की चित्रमा रावण, हलो जोतिरहेको मानिस, कुकुर, हात्ती, घोडा, बाँदर, बोटवृक्ष, चरालगायतका पनि चित्र छन् । यसबाट थारूहरू प्रकृति पूजक हुन् भन्ने प्रमाणित हुने गरेको शिक्षक चित्रबहादुर चौधरीले बताए । उनले भने, ‘सृष्टिसँग जोडिएका सबै चिज अष्टिम्की चित्रमा हुन्छन् । यो सृष्टिकालदेखिको लोक इतिहास हो । जुन चित्रमा सृष्टिको कथा छ ।’ कृष्ण जन्माष्टमीको थारू गाउँमा निकै चहलपहल छ । खासगरी थारू महिलाहरूको । दिनभरि व्रत बसेर साँझ पूजापाठ सकेपछि रातभरि कान्हाको जीवन र प्रकृतिसँग जोडिएका अष्टिम्की गीत गाउने, अष्टिम्की घरमा जाग्राम बस्ने थारू परम्परा रहेको उनीहरू बताउँछन् ।

थारू बूढापाकाका अनुसार कृष्ण जन्माष्टमीको अघिल्लो दिन थारू महिला दिनभरि नदी खोलामा माछा मार्ने र त्यही माछासित राति ‘दरभात’ खाएर जन्माष्टमीको दिन थारू महिला व्रत बस्ने गर्छन् । दिनभरिको व्रतपछि साँझ पूजापाठ गर्छन् । पूजापाठपछि सबै आ आफ्नो घरमा फर्किन्छन् । फलाहारपछि पुनः अष्टिम्की घरमा फर्किन्छन् । रातभरि अष्टिम्की गीत गाउँछन् ।

अष्टिम्कीको पूजापाठपछि व्रतालु महिला घरमा गएर खाना पकाउँछन् । खानाको परिकारमा तरकारी ३, ५ या ७ थरीको बनाई आ–आफ्नो भागबाट प्रसाद भात र तरकारी केही भाग छुट्याएर आगोमा राख्ने गरिन्छ, जसलाई ‘अग्यारी देना’ भन्ने गरिन्छ । अष्टिम्कीको तरकारीको परिकारमा माछा अनिवार्य नै मानिन्छ । यसलाई थारूले सगुनका रूपमा लिन्छन् । अष्टिम्कीको खाना आफ्ना दाजुभाइ इष्टमित्रलाई खुवाउने चलन छ । यसले दाजुभाइ दिदी बहिनीबीचको मायाप्रेम बढ्ने विश्वास छ । थारूहरू यसलाई ‘अग्रासन’ भन्ने गर्छन् । योसँगै अस्टिम्की पर्व समापन गरिन्छ ।

प्रकाशित : भाद्र १६, २०७८ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्

कर्णाली नदीबाट कटान बढ्दै

तटबन्ध भए पनि नदीको कटान रोकिएन, टीकापुरको दक्षिणी भागमा बढी जोखिम
गणेश चौधरी

टीकापुर — कर्णाली नदीमा जलस्तर बढेसँगै ठाउँ–ठाउँमा नदी कटान बढेको छ । कर्णाली नदीले कैलालीतर्फको भुराखखानी, शिवशक्ति वन क्षेत्र, सनकट्टी, दौलतपुर क्षेत्र, शाहीपुर गाउँ सत्ती कर्णाली सामुदायिक वन क्षेत्र तथा अरुणाफाँटामा अत्यधिक कटान गरिरहेको छ ।

कर्णाली चिसापानीदेखि भारतको सिमानासम्म कैलालीतर्फको किनारमा करिब ४० किलोमिटर तटबन्ध निर्माण भइसकेको छ । तर तटबन्ध नभएको ठाउँमा नदीले बढी कटान गरिरहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाले जनाएको हो । बर्सेनि वर्षायाममा हुने नदी कटान रोक्न ४० किलोमिटर तटबन्ध निर्माण भइसकेको र करिब ५ किलोमीटर तटबन्ध बनाउन बाँकी छ ।

सिँचाइ आयोजनाको कमान्ड एरियामा खेतीयोग्य जमिन जोगाउन कर्णाली नदीबाहेक मोहना र पथरैया नदीमा पनि तटबन्ध निर्माण गरिएको सिँचाइ आयोजनाले जनाएको छ । कर्णाली नदी कटानले यहाँका स्थानीयलाई वर्षायाममा बर्सेनि त्रास हुने गरेको छ । नदी कटानले कर्णाली नदी गाउँ पस्छ कि भनेर टीकापुर नगरपालिकाका बासिन्दालाई त्रास हुने गरेको हो । पानीको बहाव बढेसँगै तटबन्ध भएको ठाउँमा नदीले कटान गर्ने भएपछि भँगालो बस्तीतिर पस्ने जोखिम रहेको स्थानीयले बताए ।

कर्णालीको बहाव टीकापुरतर्फ बढी आएको र कटान पनि बर्दियातिरभन्दा कैलालीतर्फको किनारमा बढी बनाएकाले यहाँका स्थानीयलाई त्रसित बनेका छन् । स्थानीय निर्मला कडायतले भनिन्, ‘नदी बस्तीमा पसे कसैले जोगाउन सक्दैन । जनधनको धेरै क्षति हुन्छ ।’ टीकापुरको दक्षिणी भाग वडा नं. ५, ७, ८ र ९ मा बढी जोखिम रहेको उनले बताइन् । टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले टीकापुरको दक्षिणपूर्वी भाग पहिलेदेखि बाढीको चपेटामा पर्दै आएको र अहिलेसम्म त्रासमुक्त हुन नसकेको बताए । उनले भने, ‘तटबन्ध भए पनि नदीले कटान गर्न छोडेको छैन ।’

एक वर्षमै भत्कियो तटबन्ध

कर्णाली नदी नियन्त्रणका लागि टीकापुरको शाहीपुरमा बनाइएको तटबन्ध एक वर्षमै भत्किएको छ । रानी जमरा कुलरिया सिँचाइ आयोजनाले आर्थिक वर्ष २०७६/०७७ मा आपत्कालीन नदी नियन्त्रण कामको ठेक्का लगाएको थियो । गत आर्थिक वर्षमा नदी नियन्त्रणको काम सम्पन्न भएको थियो ।

आयोजनाका इन्जिनियर निर्मल दाहालले बर्दियातर्फको किनारमा नदीले कटान तीव्र बनाएपछि बर्दियाका स्थानीयले तटबन्धको स्परको तारजाली काटिदिएका थिए । त्यसपछि तटबन्ध भत्किएको शाहीपुरका स्थानीयले आफूहरूलाई जानकारी दिएको बताए । ‘ठेकेदारले काम समाप्त गरेपछि एक वर्षजति उसको जिम्मा हुन्छ,’ उनले भने, ‘शाहीपुरको ठेक्काको काम गरेको ठेकेदारको जिम्माको समय समाप्त भइसकेको छ । तारजालीले गरिएको तटबन्धको ग्यारेन्टी पनि हुन्न ।’

कर्णाली नदीको कटान रोक्न रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गर्दै आएको आपत्कालीन तटबन्धका लागि ढुंगा अभाव भएको छ । आपत्कालीन कटान कार्य रोक्न आयोजनाबाट ठूला ढुंगा हाल्ने गरी ठेक्का भएको हो । ठूला ढुंगा आपूर्ति हुने लम्कीचुहा नगरपालिका तथा मोहन्याल गाउँपालिका क्षेत्रबाट ढुंगा निकाल्न बन्द गरिएपछि ढुंगा अभाव भएर तटबन्ध निर्माण प्रभावित भएको छ ।

ठुला ढुंगा नपाएपछि ठेकेदारहरूले काम रोकेको आयोजनाका इन्जिनियर दाहालले बताए । उनले भने, ‘नदी कटान भइरहेको ठाउँमा जहा ठूला ढुंगा प्रयोग भएको छ, त्यहाँ कटान रोकिएको छ ।’ वर्षाका बेला नदी कटान रोक्न करिब ९ हजार घनमिटर जति ठूला ढुंगा आवश्यक रहेको इन्जिनियर दाहालले बताए ।

ढुंगा निकालेमा आफूहरू पहिरोको जोखिममा पर्ने भनेर स्थानीय तहले निकाल्न नदिएको सम्बन्धित पालिकाका प्रतिनीधिले आफूहरूलाई जानकारी गराएको दाहालले बताए ।

ठेकेदारले काम गरेनन्

सत्ती कर्णाली सामुदायिक वन किनारको कर्णाली नदीमा तटबन्धको ठेक्का लिएको निर्माण कम्पनीले काम नगर्दा नदी कटान भइरहेको छ । रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत सत्ती कर्णाली सामुदायिक वन किनारमा तटबन्धका लागि हाइग्रिभा सिद्धि साई प्रकाश जेभी निर्माण कम्पनीले लापरबाही गरेको हो ।

२०७२ मा तटबन्ध निर्माण कार्यको सम्झौता गरेको कम्पनीले पटक पटक म्याद थप्दै गत मंसीरसम्म म्याद थप गरिएको भए पनि कम्पनीले काम पूरा नगरेको सिँचाइ आयोजना कार्यालयले जनाएको छ ।

ठेकेदारको लापरबाहीले समयमा काम नहुँदा सास्ती भोग्नुपरेको सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउँदले बताए । उनले भने, ‘तटबन्ध बनाउने भनेर नदी किनारका रूख काटिदियो तर तटबन्ध निर्माण नभएपछि कर्णाली नदी गाउँमा पस्ने खतरा बढेको छ ।’ सामुदायिक बनको करिब ५० विघा वन क्षेत्र कटान भइसकेको छ भन्दै उनले रूख काटिएकाले सजिलै नदी कटान भइरहेको बताए ।

हाइग्रिभा सिद्धि साई प्रकाश जेभी निर्माण कम्पनीले लापरबाही गरी काम सम्पन्न नगरेकाले कारबाही प्रक्रिया अघि बढाइसकिएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर विदुरमान श्रेष्ठले बताए । उनले भने, ‘मंसिरमा म्याद सकिएको हो । कोभिडलगायतका कारण देखाएर नेपाल सरकारले नीतिगत निर्णय गरेमा हाम्रो केही लाग्दैन होइन भने कारबाही प्रक्रिया अघि बढाइसकिएको छ । कम्पनीलाई नियमअनुसार कारबाही हुन्छ ।’

परम्परागत तरिकाले कटान रोक्ने प्रयास

कर्णाली नदीले शाहीपुरमा कटान तीव्र बनाएपछि परम्परागत तरिकाले नदी नियन्त्रणको काम भइरहेको छ । बाँस, झालापाता र बोराको सहायतामा नदी किनारमा तटबन्धको काम भइरहेको हो । शाहीपुरमा करिब ५ सय मिटरमा खतरा छ । खतरा रहेको यो ठाउँमा स्थानीय, प्रहरी र सेनाको समूहले नदी नियन्त्रणको प्रयास गरिरहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाका इन्जिनियर दाहालले बताए ।

प्रकाशित : श्रावण २५, २०७८ ११:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×