घट्यो गौराको रौनक

कोरोना संक्रमण जोखिम कायमै भएकाले यस क्षेत्रको प्रमुख चाड भईकन पनि उल्लास कम

कञ्चनपुर/बैतडी — चोकचोकमा देउडा गाउँदा–नाच्दा बजारै गुञ्जायमान हुन्थ्यो । राति अबेरसम्म पनि स्थानीय समूह–समूहमा देउडामा रमाएका भेटिन्थे । नयाँ लत्ताकपडादेखि अन्य सरसामान किनमेल गर्नेको भीडले बजारमा समेत चहलपहल बढ्थ्यो ।

घट्यो गौराको रौनक

ग्रामीण भेगमा पनि उस्तै रौनक छाउँथ्यो । तर कोरोना संक्रमणको जोखिम कायमै रहेकोले यस क्षेत्रको प्रमुख चाड भइकन पनि यसपल्ट गौराको उतिसारो उल्लास छैन । गत वर्ष पनि गौरा सुनसानमै बितेको थियो । कोरोना महामारीका अलावा बदलिँदो परिवेश, नयाँ पुस्तामा संस्कृतिप्रतिको लगावको कमी र मिश्रित बजारिया समाज आदिका कारण चाडपर्वहरूको मौलिकपन हराउँदै गएको छ ।

गौरा पर्वको मुख्य दिन सोमबार अधिकांश आ–आफ्ना घरमै सीमित भए । गौरा मनाउन मन्दिर पुग्ने संख्या न्यून थियो । घरमै पनि परिवारबाहेकका आफन्तको भीड देखिएन । अधिकांशले आ–आफ्नो घरमै पूजाआजा गरेर पर्व मनाएका हुन् । ‘जताततै कोरोनाको त्रास छ, यस्तो बेला भीडभाडमा जानुभन्दा घरमै गौरा मनायौं,’ भीमदत्त नगरपालिका–१५ की रमादेवी भट्टले भनिन्, ‘परिवारका सबैले एकै ठाउँमा पूजाआजा गर्‍यौं ।’

स्थानीय प्रशासनले पनि कोरोना संक्रमण विस्तार रोक्न स्वास्थ्य मापदण्ड पालना गरेर पर्व मनाउन अनुरोध गरेको थियो । ‘खुलेर उत्सव मनाउन सकिने अवस्था छैन, त्यही भएर गौरा खल्लो लाग्यो,’ साहित्यकार वीरबहादुर चन्दले भने, ‘सबैले घर–घरै मनाउन थालेका छन्, त्यो राम्रो पनि हो ।’ गौरा मात्रै नभई अन्य चाडपर्वमा पनि विगतको जस्तो रौनक नरहेको उनले सुनाए ।

अघिल्ला वर्षहरूमा गौरा सुरु हुनुभन्दा एक साताअगाडिदेखि नै महेन्द्रनगरका चोक–चोकमा विभिन्न संघसंस्थाले देउडा गायन आयोजना गर्थे । गत वर्षदेखि यो क्रम रोकिएको छ । यस्तोमा देउडियाहरूले आफ्नो कलासमेत प्रस्तुत गर्ने ठाउँ पाउन सकेका छैनन् । ‘डेउडा गायकहरूले आफ्नो कला देखाउने थलो नै गौरा हो,’ डेउडा गायक लालबहादुर धामीले भने, ‘त्यो खेल दुई वर्षदेखि बन्द छ ।’ उनले गत वर्षदेखि गौरा आए–गएको समेत थाहा नहुने अवस्था आएको बताए ।

साहित्यकार नारा जोशीलाई हरेक वर्ष गौरा मनाउने तरिकाहरू फेरिँदै गएको लाग्छ । बदलिँदो परिवेश तथा परिस्थितिअनुसार पुरानो र नयाँ पुस्ताले आ–आफ्नै शैलीले मनाउन थालेको उनले बताए । ‘पाठ्यपुस्तक फेरिए जस्तै गौराका पाना पनि फरक–फरक हुन थालेका छन्,’ उनले भनिन्, ‘अहिले त फेसबुक र टिकटकका लागि मात्रै गौरा मनाएजस्तो देखिन थालेको छ ।’ जसका कारण गौराको मौलिकता हराउँदै गएको उनको बुझाइ छ ।

सुदूरपश्चिम क्षेत्रमा दसैं र तिहारलाई भन्दा गौरा बढी महत्व दिइन्छ । कामको खोजीमा वा अध्ययनका लागि भारतलगायत मुलुक र अन्य जिल्लामा भएकाहरू पनि गौरा मनाउनकै लागि घर फर्किन्थे । अहिले यसरी फर्किनेको संख्या पनि उल्लेख्य रहेन । कोरोना महामारीले धेरैको आर्थिक र सामाजिक अवस्थासमेत प्रभावित पारेकाले गौरा मनाउने तरिकासमेत फेरिएको देखिन्छ ।

कसरी मनाइन्छ ?

भाद्र शुक्ल पञ्चमीका दिन गहुँ, गहत, मास, गुराउस र सानो केराउसहितको बिरुडा भिजाउने गरिन्छ । यही दिनदेखि गौराको सुरुवात हुन्छ । षष्ठीका दिन बिरुडा धोइन्छ । सप्तमीका दिन यही बिरुडाले गौरा पूजन गरिन्छ । अष्टमीका दिन पनि गौरा र दुर्वाष्टमीको पूजा गरिन्छ । अष्टमी भदौ २१ पछि पर्न गए त्यसभन्दा अगाडि कृष्ण अष्टमीकै दिन गौरा मनाइन्छ । भदौ २१ पछि अगस्ती तारा उदय हुने भएकाले त्यसभन्दा अगाडि नै गौरा मनाउनु पर्ने संस्कृतिविद् लक्ष्मीकान्त जोशी बताउँछन् ।

उनका अनुसार शुक्लपक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी गौरा भनिन्छ । नयाँ व्रतालुले अँध्यारो गौराको व्रत बस्नु उपयुक्त मानिँदैन । ‘सप्तमीका दिन गौरा पूजा र अष्टमीका दिन दुर्वाष्टमी मनाउने गरिन्छ,’ उनले भने, ‘अगस्ती तारा उदयपछि दुर्वाष्टमी मनाउनु हुँदैन ।’ गौरा व्रत बस्दा सन्तान नहुने महिलालाई सन्तान प्राप्ति र श्रीमान्को दिर्घायु हुने पौराणीक मान्यता छ । उनी भन्छन्, ‘महिलाले अमुक्ताभरण (आवरणबाट अमुक्त हुन) पनि गौरा मनाउँछन् ।’

बैतडीमा भने धुमधाम

कोरोना महामारीका बीच बैतडीमा गौरा पर्व धुमधामसँंग मनाइएको छ । गौराको मुख्य दिन सोमबार महिलाहरूले नजिकका शिव मन्दिरमा जम्मा भई गौरी देवीको पूजाआजा गरेका छन् । महिला र पुरुष मिलेर देउडा पनि गाउने–नाच्ने गरे ।

दशरथचन्द नगरपालिका–४ देवलहाटको शिव मन्दिरमा सयौंको संख्यामा दर्शनार्थीहरूको घुइँचो लागेको थियो । अधिकांश मास्कबिनै उपस्थित थिए । भौतिक दूरी पालनामा न दर्शनार्थी न मन्दिर व्यवस्थापन समितिले नै चासो देखाएको थियो । उपस्थित भएका धेरै जना त रमाइलो हेर्न आएका थिए । आफूहरूको मुख्य पर्व भएकोले पनि कोरोनाले रोक्न नसकेको दशरथचन्द–४ की शान्ति चन्दले बताइन् । ‘हाम्रा लागि दसैं तिहारभन्दा गौराको ठूलो महत्व छ । धार्मिक आस्थाका कारण रोगको समेत डर नमानेर गौरा मनायौं,’ उनले भनिन् ।

जिल्ला प्रशासन कार्यालयले भने केही दिनअघि गौरा पर्वमा भीडभाड नगर्न आग्रह गरेको थियो । यसो गरेको पाइएमा कारबाही गर्ने चेतावनी पनि दिएको थियो । तर सयौंको संख्यामा भेला भएर पर्व मनाइए पनि प्रशासन बेखवर बन्यो । सदरमुकामभित्रै ठाउँ–ठाउँमा भीड र मेला लागेको थियो । तर प्रहरीले भीड व्यवस्थापन र स्वास्थ्य मापदण्ड पालनामा कुनै चासो दिएको थिएन ।

गौरादेवीको विशेष पूजाआजा गरी विवाहित महिलाले दुबधागो ग्रहण गरेका छन् । पञ्चमीको दिन घरमा भिजाएका पाँच प्रकारका अन्न मास, गहुँ, केराउ, गहत र गुराउस पनि ग्रहण गरेका छन् ।

प्रकाशित : भाद्र १५, २०७८ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?