दार्चुलामा बाढीपहिरोले तीनको मृत्यु, दुई बेपत्ता [अपडेट]

घर–पसलसहित जघुजलविद्युत् र पुल बगे, दुहु र व्यास गाउँपालिकाको सम्बन्ध विच्छेद
मनोज बडू

दार्चुला — दार्चुलाका विभिन्न भेगमा आइतबार राति बाढीपहिरोमा परी तीन जनाको मृत्यु हुनुका साथै चार जना बेपत्ता भएका छन् । बाढीले घर, पुल र लघुजलविद्युत् समेत बगाएको छ । 

दुहु गाउँपालिका–१ बासपालिकामा पहिरोले घर पुर्दा स्थानीय नरसिंह महर र उनकी पत्नी कौसा महरको को मृत्यु भएको छ । राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले उनीहरू पुरिएका हुन् । नरसिंहको शव बिहानै भेटिएको थियो । पहिरोमा बेपत्ता कौसाको शव भने आइतबार दिउँसो मात्र भेटिएको हो ।

स्थानीय प्रेमराज जोशीका अनुसार सोही गाउँपालिकाको वडा नम्बर ५ दुल्लामा आएको बाढीमा मनुवा डँडालको ज्यान गएको छ । बाढीले बगाएर बेपत्ता भएका उनको दिउँसो शव फेला परेको हो । कालागाड खोलामा बेलुकी १० बजेदेखि आएको बाढीले डँडाललाई घरैसहित बगाएको हो । घटनामा उनकी पत्नी उजेली घाइते छिन् ।

सोही ठाउँका अर्का स्थानीय जनकराम पार्कीको घाइते अवस्थामा उद्धार गरिएको छ । बाढीमा पाँचवटा पसल, दुईवटा लघु जलविद्युत् आयोजना, चारवटा झोलुंगे पुल र एउटा पक्की पुल पनि बगेका छन् ।

त्यस्तै वडा नम्बर ३ नबर निजमगाडमा बाढीले दुई जना बेपत्ता छन् । निजमगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्कीलाई बगाएको हो । कार्की दाजुभाइले पसल सञ्चालन गर्दै आएका थिए ।

स्थानीय भोजराज जोशीका अनुसार सोही बाढीले दार्चुला–तिंकर सडक मोटरेबल पुल, दुइटा झोलुंगे पुल र एउटा पसल बगाएको छ । पुल बग्दा दुहु र व्यास गाउँपालिकाको सम्बन्ध विच्छेद भएको छ ।

निजमगाड खोलाकै बाढीले महाकाली नगरपालिका–१ सिरिबगरका तीनवटा घर र एउटा पसल बगाएको छ । सेना, प्रहरी र स्थानीय बासिन्दा मिलेर बेपत्ताहरूको खोजी गरिरहेका छन् ।

प्रकाशित : भाद्र १४, २०७८ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?