बालबालिका पढाइबाट वञ्चित

तृप्ति शाही

बैतडी — स्थानीय सिगास गाउँपालिका–५ का चक्रसिंह साउँदका कक्षा ९ र ४ मा पढ्ने दुई छोरी विद्यालय जान नपाउँदा घरमै सामान्य काम र खेल्नमै व्यस्त हुन्छन् । जिल्लाको दुर्गम गाउँपालिका भएकाले अन्य वैकल्पिक कक्षाहरू पनि सञ्चालन नभएकाले छोरीहरू पढाइबाट वञ्चित भएको उनले बताए ।

बालबालिका पढाइबाट वञ्चित

उनले भने, ‘घरमा खासै पढ्न मान्दैनन् । कोरोनाले विद्यालय बन्द छन् । अन्य पढाइका विकल्पहरू छैनन् । पढेको पनि भुलिसकें ।’

घरमा भएका बालबालिकाहरूले शिक्षकबाट पढ्न नपाएको डेढ वर्ष पुगिसकेको दशरथ चन्द नगरपालिका– १ की निर्मला टेरले बताइन् । गाउँमा फोन सम्पर्क गर्न समस्या हुने भएकाले अनलाइन कक्षाहरू पनि नभएको उनले बताइन् । उनले भनिन्, ‘बालबालिकाहरूले पढ्नै भुलिसके । आफैं पढ्नै मान्दैनन् । पढाइ हुँदैन । जंगलतिर बस्तुभाउ चराउनेमै बालबालिकाहरूको दैनिकी बितिरहेको छ ।’ ग्रामीण भेगका विद्यार्थीहरू पढाइबाट वञ्चित भइरहेका उनले बताइन् । सुगमका बालबालिकाहरू अनलाइन कक्षाबाट अध्ययन गरिरहे पनि गाउँमा वैकल्पिक माध्यमहरू नहुनु दुखद भएको उनले बताइन् ।

भौतिक रूपमा पढाइ नहुन्जेलसम्म आफ्नो पालिकामा विकल्प नभएको जिल्लाकै दुर्गम सिगास गाउँपालिकाका शिक्षा अधिकृत रमेशप्रसाद भट्टले बताए । ‘हाम्रो पालिकामा त इन्टरनेट, टीभी, रेडियोको पहुँच पनि सीमित ठाउँमा मात्र छ,’ उनले भने, ‘कसरी विद्यार्थी पढाउने समस्या छ ।’ दुर्गम भएकाले विद्यार्थीहरूको पढाइ डामाडोल भएको उनले सुनाए । उनका अनुसार विद्यालयका प्रशासनिक कामहरू भने भइरहेका छन् । पढाइका सम्बन्धमा केही दिन अघिमात्र सबै विद्यालयका प्रअसँग छलफल गरिएको भन्दै उनले भने, ‘विद्यालय खोल्ने सोचेका थियौं । जिल्ला प्रशासनले अहिले नै नखोल्नु भनेर पत्राचार गरेको छ ।’ भारतसँग सीमा जोडिएको पालिका भएकाले कोरोनाको जोखिम पनि कायमै रहेको उनको भनाइ थियो ।’

दुर्गममा बालबालिकाले पढ्न नपाएको जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ का मोहनबहादुर चन्दले बताए । घाँसदाउरा काट्न र खेल्नमै उनीहरू दिन बिताउने गरेको उनले बताए । कोरोना संक्रमित नभएको ठाउँमा स्वास्थ्यका मापदण्ड अपनाई पठनपाठन सुचारु गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘जिल्लामा राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालयका कार्यक्रम, बैठक गर्दा प्रशासन मौन बस्ने गरेको छ । विद्यालय मात्र सञ्चालनमा नल्याउन भनिरहेको छ । यसले गर्दा बालबालिकाहरूले पढाइ भुलिसकेका छन् । सुगमका विद्यार्थीले अनलाइन कक्षाबाट पढाइ गरिरहे पनि आफ्नो गाउँमा पढ्न नपाएर २ वर्षपछि धकेलिने उनले बताए ।

प्रकाशित : भाद्र ९, २०७८ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?