मासिँदै बडिमालिकाको सौन्दर्य- सुदूरपश्चिम - कान्तिपुर समाचार

मासिँदै बडिमालिकाको सौन्दर्य

बाजुरा, अछाम, डोटी, जुम्ला र कालीकोट प्रशासन कार्यालयबाट सरकारी पूजा टोली बडिमालिका पठाउने चलन अहिले पनि छ
अर्जुन शाह

धनगढी — बाजुराको बडिमालिका मेला आइतबार जनैपूर्णिमाका दिन नाटेश्वरीमा पूजा सकेर तीर्थालु एवं पर्यटकहरू गन्तव्यमा लागेका छन् । नेपालकै प्रमुख धार्मिक आस्थाको धरोहरसमेत मानिने बडिमालिका मेला भर्न आउनेको संख्या वर्षेनी बढ्दै गएको स्थानीय बताउँछन् ।

जनैपूर्णिमाको अघिल्लो दिन चतुर्दशीमा बडीमालिकामा मुख्य पूजाआजा हुने चलन छ । बडिमालिकामा औपचारिक पूजाआजा गर्नुपर्ने परम्पराअनुसार बाजुरा, अछाम, डोटी, जुम्ला र कालीकोट जिल्ला प्रशासन कार्यालयबाट सरकारी पूजा टोली बडिमालिका पठाउने चलन अहिले पनि कायम छ । यो वर्ष पनि ती जिल्लाबाट सरकारी पूजा टोलीले बडिमालिमामा पूजाअर्चना गरेको तीर्थालुहरूले बताए ।

कोरोना महामारीले भीडभाड हुने अवस्था जोखिमपूर्ण भए पनि बडिमालिका यात्रामा भने यो बर्ष देशका विभिन्न ठाउँबाट हजारौंका संख्यामा तीर्थालु तथा पर्यटक आएको मार्तडीका दीर्घराज पाध्यायले बताए । ‘बाहिर जिल्लाबाट करिब एक साताको यात्रा तय गरेर फर्किन लागेका सबैजसो खुसीले दंग देखिन्थे,’ पाध्यायले भने, ‘बडिमालिका पुग्नेहरूको संख्या करिब ५ हजारको हाराहारी थियो होला ।’

धनगढीबाट गएको कुबेर शाहीको समूहमा रहेकाहरूले बडिमालिकाको अवलोकन गर्न पाउँदा मन चंगा भएको बताए । ‘धेरै ठाउँ घुमफिर गरियो, तर बडीमालिका जत्तिको ठाउँ अन्यत्र देखेको थिएनौं,’ शाहीले भने, ‘त्यहाँ पुगेपछि प्राकृतिक सुन्दरता त छँदैछ, धार्मिक आस्थाले पनि मन अर्कै हुने रहेछ ।’ सिमसिमे झरी होस् या मुसलधारे पानी, त्यसैमा कठ्यांग्रिदो जाडो, केही प्रवाह हुँदैन त्यहा पुगेकाहरूलाई । धार्मिक आस्थाले प्रफुल्ल हृृदय, अर्कोतिर प्राकृतिक सौन्दर्यताले सबैको मन लोभ्याउँछ । ‘प्राकृतिक सुन्दरताको अवर्णनीय छ’, पहिलो पटक बडिमालिका पुगेका काठमाडौंका निर्मल ढकालले भने, ‘यति धेरै प्राकृतिक सुन्दरताले भरिपूर्ण धार्मिक तथा पर्यटकीय तीर्थस्थल सुदूरपश्चिममै रहेछ ।’ १४ हजार फीट उचाइमा रहेको बडिमालिकामा पुगेपछि त्यहाँ पुग्दाको दुःख सबै त्यसै हराउने तीर्थालुहरू बताउँछन् ।

बडिमालिकासम्म साइकल यात्रा

यसपाली त कैलालीका भरत शाह र काठमाडौंका विकास महर्जनले बडिमालिकामा पहिलो पटक साइकल पुर्‍याए । साइकल चढेर विश्व यात्राको ख्याती कमाएका उनीहरूले बडिमालिकाको प्रचारप्रसारमा सहयोग पुर्‍याउने उद्देश्यले साइकल लिएको बताए । ‘त्यति अग्लो ठाउँमा साइकल लिएर पुगेको देखेर अन्य तीर्थयात्रीहरूले अचम्म मान्दै हेरेका थिए,’ मार्तडीका बीरबहादुर थापाले भने ।

बडिमालिकामा रहेका २२ वटा समथर फाँट, बगैचामा झै फुलेका संगीचंगी फूल, त्रिवेणी, विष्णुपानी, खेतीबेती, लौरी विनायक, धर्मद्धार बडिमालिका क्षेत्रका मुख्य स्थल हुन । हिमपात हुने बेला त्रिवेणी पाटनमा हिउँचिप्लेटी (आइस स्केटिङ) को सम्भावना रहेको जानकारहरू बताउँछन् । यहाँ दुर्लभ बन्यजन्तु र सयौं प्रजातिका जडिबुटी यहाँ पाइने वन प्राविधिकहरू बताउँछन् ।

पछिल्लो समय छाडा चरिचरन, मनपरी जडिबुटी संकलन र गैरकानुनी चोरीसिकार बढ्दै गएकाले यहाँको जैविक विविधतामा मासिदैँ गएको छ । चैतदेखि भदौं महिनासम्म बडिमालिकाको त्रिवेणी क्षेत्रमा बाजुरा र कालीकोटका स्थानीयले भेडाच्याङ्ग्रा, घोडा खच्चड र भैंसीलगायतका बस्तुभाउ छाड्ने गरेका छन् । जडीबुटी पाउने सिजनमा संकलन गर्नेर्हरूको पनि उस्तै ताँती लाग्छ ।

लोपोन्मुख वन्यजन्तुको बासस्थान रहेको बडिमालिका क्षेत्रमा चोरी सिकार पनि मौलाउँदै गएको स्थानीयको भनाइ छ । ‘बडिमालिकाको सुन्दरतामा पहिला र अहिलेबीच कैयौं गुणा फरक परिसक्यो’, मार्तडीका रामबहादुर कार्कीले भने, ‘यस क्षेत्रको जैविक विविधता जोगाउने हो भने तत्काल संरक्षण योजना थाल्नु पर्छ ।’ बडिमालिकामा केही वर्ष पहिलेसम्म कुट्की, वन लसुन, सुगन्धवाल, पदमचाल, भुतकेस, वायोजडी, पाँचऔलेलगायत ४५ बढी प्रजातिका दुर्लभ तथा बहुमुल्य जडिबुटी प्रसस्तै भेटिन्थे । यस्तै, कस्तुरी, मृग, हिउँ चितुवा, हिमालयन थार, हिमाली भालु, बन कुकुर, नाउरलगायतका बन्यजन्तुको मुख्य बासस्थल पनि थियो बडिमालिका क्षेत्र । अतिक्रमण बढ्दै जाँदा अहिले जडीबुटी र बन्यजन्तु घट्दै गएको पुजारी नेत्रराज पाध्याय बताउँछन् ।

डिभिजन वन कार्यालयका अनुसार बडिमालिका क्षेत्र १४ हजार फिट उचाइमा करिब पाँच सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सरकारले ०६८/०६९ मा यो क्षेत्रलाई संरक्षित घोषणा गरेपनि उक्त घोषणा कार्यान्वयन भएन् । बडिमालिका क्षेत्रको दीर्घकालीन विकासका लागि पञ्चवर्षीय विकास गुरुयोजना निर्माण गरिए पनि काम भने हुन सकेको छैन । ०७३/०७४ देखि ०७७/०७८ सम्म निर्धारित पूर्वाधार निर्माण गरिसक्ने भनिए पनि हालसम्म काम सुरु भएको छैन । पुजारी नेत्रराज पाध्यायका अनुसार बडिमालिका क्षेत्रमा पूर्वाधार विकासका लागि ५ वर्षमा ३२ करोड ७० लाख लगानी खर्च गर्ने उल्लेख छ ।

प्रकाशित : भाद्र ७, २०७८ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्

सुदूरपश्चिममा संक्रमण बढेको बढ्यै

असार अन्तिम साता १५ प्रतिशत रहेकोमा साउन पहिलो साता ३७ प्रतिशतमा उक्लियो
अर्जुन शाह

धनगढी — सुदूरपश्चिममा पछिल्लो समय कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामीको संख्या पनि पछिल्ला दिनमा बढेको छ । आइतबार ६ जना संक्रमितको आईसीयू र ७ जनाको भेन्टिलेटरमा उपचार गर्नुपरेको छ भने सेती प्रादेशिक अस्पतालमा उपचाररत संक्रमितको कुल संख्या २५ जना छ । जबकि साउन १ गते आईसीयूमा ५ जना र भेन्टिलेटरमा ३ जना मात्रै थिए । 

आइतबारसम्ममा संक्रमण दर निकै उच्च देखिएको छ । सोमबार सेती प्रादेशिक अस्पताल धनगढीमा १ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताएका छन् । ‘संक्रमण दर २० प्रतिशतभन्दा माथि हुनु भनेको जोखिम दर उच्च हुनु हो,’ स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी भन्छन्, ‘आइतबार करिब ५० प्रतिशत संक्रमण दर पुगेको थियो । हामीले उच्च सतर्कताका साथ सबै हिसाबले तयारी हालतमा बस्नैपर्ने छ ।’ डा. अवस्थीका अनुसार असारको अन्तिम साताभन्दा साउनको पहिलो साता पीसीआर रिपोर्टका आधारमा संक्रमण दर दोब्बर बढेको देखिएको थियो । उनले भने, ‘निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणको जोखिम बढेको तथ्यांकबाट पुष्टि हुन्छ ।’

नेपालमा कोरोना संक्रमणको सुरुवाती चरणमै प्रभावित भएको सुदूरपश्चिम दोस्रो चरणमा पनि उत्तिकै प्रभावित रहेको थियो । दुवै चरणमा कैलाली र कञ्चनपुर त हटस्पट नै बनेका हुन् । निर्देशनालयका अनुसार आइतबारसम्म मृत्यु हुने संक्रमितको संख्या ५ सय ७८ पुगिसकेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार असार महिनामा १४ जना संक्रमितको मृत्यु भएको थियो । साउनको तेस्रो सातासम्म मृत्यु दर घटेको भए पनि सेती प्रादेशिक अस्पतालमा शुक्रबार एकै दिन २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लामो समयपछि फेरि एकै दिन २ जना संक्रमितको मृत्युको घटना असार ४ गतेपछि पहिलो पटक शुक्रबार दोहोरिएको हो । साउन ३ गते एक जना र साउन ५ गते एक जना गरी शुक्रबारअघि साउन महिनामा २ जनाको मृत्यु भएको थियो ।

निषेधाज्ञा खुकुलो भएसँगै साउन पहिलो सातादेखि सुदूरपश्चिममा कोरोना संक्रमण दर उकालो लागेको देखिएको हो । असारको अन्तिम सात दिनमा १५ प्रतिशत रहेको संक्रमण दर साउनको पहिलो साता ३७ प्रतिशतमा उक्लिएको देखिएको थियो । स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार साउनको पहिलो साता सुदूरपश्चिमको संक्रमण दर ७ वटै प्रदेशमा सबैभन्दा धेरै रहेको देखिएको थियो । निर्देशनालयका अनुसार असार १ गतेका दिन २५ जना संक्रमितको आईसीयूमा र ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अवस्था थियो । तर असारको तेस्रो सातातिर पुगेपछि सुदूरपश्चिमका अस्पतालहरूमा भर्ना गर्नुपर्ने बिरामीको संख्या र मृत्युदर पनि कम भएको थियो ।

पूर्वतयारीका क्रममा सबैभन्दा बढी सीमामा ध्यान दिने तयारी गरेको निर्देशक डा. अवस्थीको भनाइ छ । कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी सुदूरपश्चिममा सबैभन्दा बढी संख्यामा आवतजावत हुने सीमानाका हुन् । नाकामा व्यवस्थित गर्नकै लागि हाल दुवै नाकामा एक/एक हजार अटाउन सक्ने होल्डिङ सेन्टर निर्माण भइरहेका छन् । साथै, सामाजिक विकास मन्त्रालयले धनगढी र महेन्द्रनगरमा थप ५० शय्याको कोभिड अस्पताल पनि निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ ।

यस्तै, बालबालिका प्रभावित हुन सक्ने अनुमानमा हरेक जिल्ला अस्पतालमा बालबालिकाका लागि १० वटा विशेष शय्या निर्माण कार्य भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । ठूला अस्पतालमा कुल शय्या संख्याको २० प्रतिशत बालबालिका लक्षित गरी तयारी भइरहेको अस्पतालहरूले जनाएका छन् । सुदूरपश्चिमका १२ वटा सरकारी अस्पतालमा गरी ९ सय ७७ शय्या संख्या छ । एचडीयू बेड संख्या १ सय ४३ रहेको छ । आईसीयू बेड ६९ छन् भने भेन्टिलेटरको संख्या ३५ रहेको छ ।

यीमध्ये कोरोना संक्रमित बिरामी राख्नकै लागि व्यवस्थापन गरिएका एचडीयू बेड संख्या १ सय ३०, आईसीयू ५४ र भेन्टिलेटर संख्या २१ रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

सुदूरपश्चिमको रेफरल अस्पतालका रूपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रहेको कोभिड अस्पताल । तस्बिर : कान्तिपुर

प्रकाशित : श्रावण २६, २०७८ १३:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×