१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सुदूरपश्चिममा संक्रमण बढेको बढ्यै

असार अन्तिम साता १५ प्रतिशत रहेकोमा साउन पहिलो साता ३७ प्रतिशतमा उक्लियो
अर्जुन शाह

धनगढी — सुदूरपश्चिममा पछिल्लो समय कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामीको संख्या पनि पछिल्ला दिनमा बढेको छ । आइतबार ६ जना संक्रमितको आईसीयू र ७ जनाको भेन्टिलेटरमा उपचार गर्नुपरेको छ भने सेती प्रादेशिक अस्पतालमा उपचाररत संक्रमितको कुल संख्या २५ जना छ । जबकि साउन १ गते आईसीयूमा ५ जना र भेन्टिलेटरमा ३ जना मात्रै थिए । 

सुदूरपश्चिममा संक्रमण बढेको बढ्यै

आइतबारसम्ममा संक्रमण दर निकै उच्च देखिएको छ । सोमबार सेती प्रादेशिक अस्पताल धनगढीमा १ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताएका छन् । ‘संक्रमण दर २० प्रतिशतभन्दा माथि हुनु भनेको जोखिम दर उच्च हुनु हो,’ स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी भन्छन्, ‘आइतबार करिब ५० प्रतिशत संक्रमण दर पुगेको थियो । हामीले उच्च सतर्कताका साथ सबै हिसाबले तयारी हालतमा बस्नैपर्ने छ ।’ डा. अवस्थीका अनुसार असारको अन्तिम साताभन्दा साउनको पहिलो साता पीसीआर रिपोर्टका आधारमा संक्रमण दर दोब्बर बढेको देखिएको थियो । उनले भने, ‘निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणको जोखिम बढेको तथ्यांकबाट पुष्टि हुन्छ ।’

नेपालमा कोरोना संक्रमणको सुरुवाती चरणमै प्रभावित भएको सुदूरपश्चिम दोस्रो चरणमा पनि उत्तिकै प्रभावित रहेको थियो । दुवै चरणमा कैलाली र कञ्चनपुर त हटस्पट नै बनेका हुन् । निर्देशनालयका अनुसार आइतबारसम्म मृत्यु हुने संक्रमितको संख्या ५ सय ७८ पुगिसकेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार असार महिनामा १४ जना संक्रमितको मृत्यु भएको थियो । साउनको तेस्रो सातासम्म मृत्यु दर घटेको भए पनि सेती प्रादेशिक अस्पतालमा शुक्रबार एकै दिन २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लामो समयपछि फेरि एकै दिन २ जना संक्रमितको मृत्युको घटना असार ४ गतेपछि पहिलो पटक शुक्रबार दोहोरिएको हो । साउन ३ गते एक जना र साउन ५ गते एक जना गरी शुक्रबारअघि साउन महिनामा २ जनाको मृत्यु भएको थियो ।

निषेधाज्ञा खुकुलो भएसँगै साउन पहिलो सातादेखि सुदूरपश्चिममा कोरोना संक्रमण दर उकालो लागेको देखिएको हो । असारको अन्तिम सात दिनमा १५ प्रतिशत रहेको संक्रमण दर साउनको पहिलो साता ३७ प्रतिशतमा उक्लिएको देखिएको थियो । स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार साउनको पहिलो साता सुदूरपश्चिमको संक्रमण दर ७ वटै प्रदेशमा सबैभन्दा धेरै रहेको देखिएको थियो । निर्देशनालयका अनुसार असार १ गतेका दिन २५ जना संक्रमितको आईसीयूमा र ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अवस्था थियो । तर असारको तेस्रो सातातिर पुगेपछि सुदूरपश्चिमका अस्पतालहरूमा भर्ना गर्नुपर्ने बिरामीको संख्या र मृत्युदर पनि कम भएको थियो ।

पूर्वतयारीका क्रममा सबैभन्दा बढी सीमामा ध्यान दिने तयारी गरेको निर्देशक डा. अवस्थीको भनाइ छ । कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी सुदूरपश्चिममा सबैभन्दा बढी संख्यामा आवतजावत हुने सीमानाका हुन् । नाकामा व्यवस्थित गर्नकै लागि हाल दुवै नाकामा एक/एक हजार अटाउन सक्ने होल्डिङ सेन्टर निर्माण भइरहेका छन् । साथै, सामाजिक विकास मन्त्रालयले धनगढी र महेन्द्रनगरमा थप ५० शय्याको कोभिड अस्पताल पनि निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ ।

यस्तै, बालबालिका प्रभावित हुन सक्ने अनुमानमा हरेक जिल्ला अस्पतालमा बालबालिकाका लागि १० वटा विशेष शय्या निर्माण कार्य भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । ठूला अस्पतालमा कुल शय्या संख्याको २० प्रतिशत बालबालिका लक्षित गरी तयारी भइरहेको अस्पतालहरूले जनाएका छन् । सुदूरपश्चिमका १२ वटा सरकारी अस्पतालमा गरी ९ सय ७७ शय्या संख्या छ । एचडीयू बेड संख्या १ सय ४३ रहेको छ । आईसीयू बेड ६९ छन् भने भेन्टिलेटरको संख्या ३५ रहेको छ ।

यीमध्ये कोरोना संक्रमित बिरामी राख्नकै लागि व्यवस्थापन गरिएका एचडीयू बेड संख्या १ सय ३०, आईसीयू ५४ र भेन्टिलेटर संख्या २१ रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

सुदूरपश्चिमको रेफरल अस्पतालका रूपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रहेको कोभिड अस्पताल । तस्बिर : कान्तिपुर

प्रकाशित : श्रावण २६, २०७८ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?