२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कलमी नास्पातीले पायो बजार

मोहन शाही

डोटी — उपयोगविहीन फल मानिने मेलका बोट अहिले भने सम्पत्तिमा रूपान्तरण भएका छन् । १० वर्षअघि खेतबारी छेउ र जंगलमा कलमी गरिएका मेलका बोटमा लटरम्म नास्पाती फलेका छन् । तत्कालीन जिल्ला कृषि विकासको सहयोगबाट जिल्लाका विभिन्न ठाउँका किसानले मेलका बोट कलमी गरी नास्पाती लगाएका थिए । सुरुमा नास्पाती फलिहाल्छ भन्ने विश्वास नगरेका स्थानीय अहिले भने बारीमा लटरम्म भएपछि खुसी छन् । 

कलमी नास्पातीले पायो बजार

आर्थिक अवस्था कमजोर हुँदा श्रीमान् रोजगारीका लागि भारत गएका भए पनि बारीमा फलेको नास्पातीले घरायसी खर्च जुटाउन सहयोग पुग्ने सानागाउँ धौला बस्तीकी बिन्दु खड्काले बताइन् । उनको बारीका १२ बोटमा ३२ क्विन्टल नास्पाती फलेको छ । अहिले किसानका बारीमा फलेका नास्पातीलाई कृषि ज्ञान केन्द्र डोटीले बजारीकरणका लागि समेत पहल गरिरहेको छ ।

डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँका किसानले फलाएकामध्ये १० क्विन्टल नास्पाती कृषि ज्ञान केन्द्र डोटीले धनगढी पठाएको छ । ज्ञान केन्द्रले बारीमै कुहिन लागेका नास्पातीलाई बजारीकरण गरिदिन लागेको निमित्त प्रमुख नरेन्द्र पनेरुले बताए । उनले फलफूल प्रशोधन केन्द्र धनगढीलाई जुस बनाउन प्रतिकिलो २५ रुपैयाँका दरले पठाइएको जानकारी दिए । ‘अहिले प्रशोधन केन्द्रले जुस बनाउन स्याम्पल मागेको छ, उपयुक्त लाग्यो भने आफैं किसानको बारीमा आएर खरिद गरी लग्नेछ,’ पनेरुले भने, ‘किसानहरूले बजारको चिन्ता गर्न पर्दैन, बजारीकरणका लागि पहल गर्न सुरु गरिसकेका छौं ।’

केही वर्षअघिबाट नास्पाती फल्न लागेको किसान सरस्वती जोशीले बताइन् । बजार मूल्य नपाउँदा बारीमै कुहिन लागेको भए पनि आइतबारबाट केही आशा पलाएको भन्दै जोशीले खुसी व्यक्त गरिन् । उनी मेलको बोटमा नास्पाती फल्ला भन्ने कल्पनासमेत नगरेको बताउँछिन् ।

हिजोसम्म बारीमा ठिङरिंग रहेका मेलका बोटहरू अहिले नास्पाती बनेर फल्न थालेपछि भने सानागाउँका कृषकलाई सम्पत्ति जस्तै प्यारो लाग्न थालेको छ । सानागाउँका २२ किसानले नास्पातीलाई कलमी गरेका छन् । खेर गइरहेका मेलका बोटहरूलाई १० वर्षअघि नास्पाती कलमी गरेको बताउँदै सुदूरपश्चिम कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले कृषकको आयआर्जनमा वृद्धि हुने विश्वास रहेको बताए ।

आफूले मेलका बोटलाई कलमी गरेपछि नास्पाती फल्छ भनेर भन्दा नपत्याएका किसान अहिले भने चकित परेको उनको भनाइ छ । उनले परीक्षणका रूपमा मेलमा लगाइएको नास्पाती डोटीमा सफल भएकाले अन्यत्र पनि विस्तार गर्नुपर्ने बताए । पहाडी जिल्लाका बाँझो जमिनमा सर्वत्र मेलका बोट पाइने गर्छ । यहाँ मेल घाँस दाउराका रूपमा प्रयोग हुने गरेको छ ।

प्रकाशित : श्रावण २१, २०७८ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?