१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

छोरा जन्माउन ज्यानै जोखिममा

छोराको चाहनामा पटक–पटक गर्भवती हुने र छोरी भए गर्भपतन गराउने प्रवृत्ति अझै उस्तै
मोहन शाही

डोटी — तीन छोरीकी आमा पवित्रा शाही (नाम परिवर्तन) ले मंगलबार छोरा जन्माइन् । छोरा जन्मेको खबरले उनका श्रीमान्, परिवारका सदस्य, आफन्त र खातीवाडावासीमा खुसीको सीमा छैन ।

छोरा जन्माउन ज्यानै जोखिममा

त्यसयता दिनभर आफन्तहरू राजपुरस्थित सुजङ अस्पतालको प्रसूति कक्षमा खुसी बाँड्न र शुभकामना दिन आइरहेका छन् । शल्यक्रियाका कारण पवित्रा अझै तंग्रिन सकेकी छैनन् । आफन्तहरूले भने शाही दम्पतीलाई अबिर दलेर हर्ष बढाइँ गरिरहेका छन् । उनीहरूले अस्पतालका स्वास्थ्यकर्मीलाई समेत अबिर दल्ने र बधाई दिइरहेका छन् ।

केआईसिंह गाउँपालिका–६ की मनरूपा उपाध्याय (नाम परिवर्तन) का ४ छोरी छन् । परिवारबाट छोराको अपेक्षासहित दबाब आइरह्यो । पाँचौं पटक गर्भवती भएकी उनको भिडियो एक्सरे (अल्ट्रासाउन्ड) गर्दा तिम्ल्याहा छोरी गर्भमा रहेको चिकित्सकले बताइदिए । उनी छाँगाबाट खसेझैं भइन् । परिवारबाट अपहेलित हुने डरले गाउँकै मेडिकलमा गर्भ तुहाउने औषधि लिई गोप्य रूपमा सेवन गरिन् । तर गर्भपतन नभएपछि उनको ज्यान नै जोखिममा पर्‍यो । शनिबार सुजङ अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. पवनप्रताप देवको टोलीले शल्यक्रिया गरेर उनको ज्यान जोगाए । उनले कहाँ गर्भ परीक्षण गराएको भन्ने खुलेको छैन ।

एक साताभित्र सुजङ अस्पतालमा देखिएका यी दुई प्रतिनिधि दृश्यले समाजमा अझै पनि छोराछोरीप्रतिको सामाजिक दृष्टिकोणबारे प्रकाश पार्छ । हामीमाझ अझै पनि छोराको चाहना गरेर आमाको ज्यान जोखिममा पार्दै पटक–पटक गर्भवती हुने तथा छोरी भए गर्भपतन गराउने प्रवृत्ति हट्न नसकेको देखिन्छ । यसरी आमा बन्नेहरूमा कतिपय बालविवाह गरेका किशोरीसमेत हुन्छन् । यस्तो प्रवृत्ति अशिक्षित परिवारमा बढी पाइन्छ । सुजङ अस्पतालका निर्देशक अर्जुन बलायरको अनुभवमा बाहिर आदर्शका कुरा गरे पनि शिक्षित परिवारमा समेत सन्तान जन्माउने विषयमा विभेद छ । ‘भिडियो एक्सरे गर्ने क्रममा छोराछोरी के हो भनेर सोध्न चाहने अधिकांश हुन्छन्,’ बलायरले भने, ‘कानुनी रूपमा बन्देज गरिएकाले हामी लिंगको पहिचान गर्दैनौं । कतिपय अवैध रूपमा बाहिरकै स्वास्थ्य संस्थामा लिंग पहिचान गरी गर्भपतन गराउन यहाँ आउँछन् ।’ सरकारले सुरक्षित गर्भपतनलाई भने मान्यता दिइसकेको छ ।

पटक–पटक गर्भवती हुँदा शरीर कमजोर हुने, प्रजननसम्बन्धी विभिन्न रोगहरूले संक्रमण हुने तथा पाठेघर खस्ने सम्भावना प्रबल भएकाले महिलाको ज्यानै जान सक्ने जोखिम रहने डा. देव बताउँछन् । उनका अनुसार पोषिलो खानाको कमी, घरायसी काममा खटिने पहाडी भेगका महिलाहरू कम जन्मान्तर राखेर गर्भवती हुँदा थप जोखिममा पर्ने गरेका छन् ।

कतिपय दम्पतीलाई भने समाजले बाध्य पार्ने गरेको छ । एक छोरीमै चित्त बुझाउँदै आएकी शिक्षिका गंगा विष्ट (नाम परिवर्तन) समाजकै दबाबका कारण ८ वर्षपछि छोरा जन्माउने योजनामा पुगेकी छन् । उनका श्रीमान् पत्रकार हुन् । परिवार शिक्षित भए पनि छोरा जन्माउनका लागि बाध्यता परेको दम्पती नै स्विकार्छन् । ‘साँझबिहान परिवार, आफन्त र छिमेकीले मर्ने बेलाको सहारा छोरा नै हो भनेर हामी दुवैलाई सताइरहेका छन्,’ गंगाका श्रीमान्ले भने । यसअघि पहिलो सन्तान जन्माउँदा समस्या निम्तिएपछि श्रीमतीको शल्यक्रिया गर्नुपरेको घटना उनी सम्झन्छन् । फेरि छोराको आस गर्दा कतै श्रीमतीको ज्यान संकटमा पर्ने त होइन भन्ने चिन्ता उनलाई छ । ‘हामी शिक्षितले छोराको आस गरेर गर्भ राख्ने योजना बनाएका छौं भन्न पनि लाज लाग्छ,’ उनले भने, ‘तर समाज र परिवारले हामीलाई त्यसका लागि घाँटी च्यापिसकेको छ ।’

स्वास्थ्य कार्यालय डोटीका सूचना अधिकारी महेश बोहराका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा जिल्लामा ३ हजार १ सय ८५ महिलाले गर्भपतन गराएका छन् । उक्त अवधिमा एक सय ८० नवजात शिशु मृत जन्मेका छन् भने जन्मेको २ महिनाभित्र ८२ शिशुको मृत्यु भएको छ । ३ गर्भवती महिलाले पनि ज्यान गुमाएका छन् । उनीहरू कलिलै उमेरमा बिहे गरेका, छोराको आशामा कम जन्मान्तरमै गर्भवती हुने महिला रहेको बोहराले बताए ।

सन्तानबीचको विभेद न्यूनीकरणका लागि डोटीमा सरकारी तथा गैरसरकारी संघसंस्थामार्फत विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि अपेक्षाकृत सुधार भने आउन सकेको छैन । समाजमा जकडिएर रहेको सोंच र संस्कारका कारण यसमा सुधार ल्याउन नसकिएको स्विकार्छन् गैरसरकारी संस्था डोटीका अध्यक्ष रघु कठायत । विभिन्न कानुनी व्यवस्था भए पनि त्यसको कार्यान्वयन हुन नसकेको उनले बताए । ‘छोरीमाथि जन्मिनुअघि र जन्मिसकेपछि पनि विभेद छ । छोराको तुलनामा छोरी पढाइलेखाइ, पालन पोषण तथा व्यक्तिगत स्वतन्त्रतामा समेत चरम असमानता पाइन्छ,’ मानव अधिकारकर्मी मीना आउजीले भनिन्, ‘सार्वजनिक सवालहरूमा नेतृत्व र सहभागितामा समेत महिलालाई हेर्ने दृष्टिकोणमा सुधार भएको छैन ।’ समाजमा लैंगिक विभेदले जरा गाडेर बसेकाले यी सबै प्रवृत्ति एकै पटक उखेल्न नसकिने उनको तर्क छ ।

प्रकाशित : श्रावण १९, २०७८ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?