कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जनता आवासका घरमा जग मात्रै

‘बर्खामा कटेरोको बास झन् कष्टकर हुने भयो’
मोहन बुढाऐर

धनगढी — कैलाली लम्कीचुहा नगरपालिका–१ की पविता विक पक्की घर बनाउन जनता आवास कार्यक्रमको पैसा पाउने भएपछि निकै खुसी भइन् । गत चैतमा उनले आफ्नो कच्ची घर पनि भत्काएर नयाँ पक्की घरको जग खन्न सुरु गरिन् । 

जनता आवासका घरमा जग मात्रै

पाँच कट्टा ऐलानी पर्ती जग्गामा घरका लागि अर्को उपयुक्त ठाउँ नदेखेर उनले आफू बस्दै आएको कच्ची घर भत्काएर नयाँ पक्की घर बनाउन लागेकी थिइन् । नजिकै कटेरो बनाएर उनले अस्थायी बासको व्यवस्थापन गरिन् । उनलाई बर्खा लाग्नुअघि नै २ कोठे भवन बनिहाल्ला जस्तो लागेको थियो ।

बर्खामा पानी चुहिने र भित्र हिलाम्य भएर चुलो पनि बाल्न नसकिने समस्या र सर्पकिराको डरबाट मुक्ति पाइने आशामा खुसी थिइन् । अघिल्लो महिना घरको जग माथि झ्याल र ढोकासम्म मिलाएर निर्माणको काम ठेकदारले अधुरै छोडेपछि उनले सहरी विकास तथा भवन निर्माण कार्यालयमा सम्पर्क गरिन् ।

आर्थिक वर्ष २०७७/०७८ मा यतिसम्म मात्रै काम हुने जानकारी पाएपछि उनी बिचल्लीमा परेकी छन् । ‘बर्खामा कटेरोको बास झन् कष्टकर हुने भयो,’ उनले भनिन्, ‘ठेकेदारले आफ्नो लगानीमा घर निर्माण गरिदिन्न, सरकारसँग पैसा पुगेन रे ।’ उनलाई सहरी विकास कार्यालयले दसैंपछि मात्रै अधुरो निर्माण सुरु हुने जानकारी दिएको छ । ‘दसैंमा पनि नयाँ घरभित्र पस्न नपाइने भयो,’ पविताले भनिन्, ‘घर बनाउनका लागि एकमुष्ट पैसा नदिँदा घर अधुरै रहेर विजोग भयो ।’

जनता आवास कार्यक्रमले छनोटमा परेका परिवारलाई दुई कोठे टिनको छाना भएको (३ सय ३० स्क्वायर फुट) को भवनका लागि ३ लाख ३६ हजार दिने गरेको छ । कार्यान्वयन इकाइ सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका प्रमुख इन्द्रबहादुर स्वाँरले आर्थिक वर्ष २०७७/७८ मा कैलालीमा २ सय घर अधुरै रहेको बताए । उनका अनुसार गत आर्थिक वर्षमा कैलाली र कञ्चनपुरमा जनता आवास कार्यक्रमको ४ सय ३६ घर निर्माण सुरु भएका छन् । कञ्चनपुरमा २ सय ३६ घर निर्माण सुरु भएको छ । उनले कञ्चनपुरमा पनि घरका झ्याल ढोकासम्म मात्रै राखिएको बताए । उनले बजेट अभावले चालु वर्षमा जनता आवास कार्यक्रमको घर जगभन्दा माथि उठाउन नसकेको बताए । उनका अनुसार कैलालीका लागि १ करोड ९० लाख र कञ्चनपुरका लागि २ करोड ५० लाख बजेट निकासा भएको थियो । प्रमुख स्वाँरले निकासा भएको बजेटलाई कैलालीमा २ सय र कञ्चनपुरमा २ सय ३६ घरलाई रकम दामासाहीले वितरण गरेको बताए । ‘कैलालीका लागि प्रतिघर बजेट ९० हजार र कञ्चनपुरमा १ लाख भाग लाग्यो,’ उनले भने, ‘घर निर्माणको काम पनि त्यति नै भयो ।’ तर कसैले आफ्नै लगानीमा घर पूरै सम्पन्न गरिसकेको पनि जानकारी दिए ।

घर सम्पन्न गरेकाहरूले पनि चालु आर्थिक वर्षमा ३ लाख ३६ हजार पाउने बताए । ‘तर आर्थिक वर्ष २०७८/७९ मा निर्माणाधीन सबै घर पूरा हुन्छन्,’ उनले भने, ‘जति बजेट आउँछ त्यति नै काम सम्पन्न हुने गरेको हो ।’ उनले जनता आवास कार्यक्रमले जनताको घर निर्माणको ठेक्का नदिने गरेको बताए । उनका अनुसार घर निर्माणको ठेक्का उपभोक्ता समितिले आफैंले दिने गरेका हुन् ।

जनता आवास कार्यक्रमको छनोटमा परेका चार परिवारको उपभोक्ता समिति गठन हुने गरेको छ । सबै दिन मजदुरी गरी जीविकापार्जन गर्ने परिवार भएकाले चाँडो घर निर्माण गर्न ठेक्का दिने गरेको बताए । तर एक जनाले नाम नखुल्ने सर्तमा सहरी विकासका कर्मचारी आफैंले ठेकेदार खोजेर उपभोक्ता समितिलाई घर निर्माणको सम्झौता गराउने गरेको बताए । घर नभएका गरिब विपन्न परिवारका लागि घर बनाउने योजनाअनुसार कैलाली र कञ्चनपुरमा २०७५/७६ देखियो कार्यक्रम सुरु भएको । आर्थिक वर्ष २०७६/७७ देखि प्रदेश सरकारअन्तर्गत आएको हो । जनता आवास कार्यक्रमको माध्यम कैलाली र कञ्चनपुरमा आर्थिक वर्ष २०७६/७७ मा सुरु भएका १ सय ६७ घर निर्माण सम्पन्न भइसकेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी, गौरीगंगा, घोडाघोडी, बर्दगोरिया, लम्कीचुहा, जानकी, टीकापुर र भजनी नगरपालिकामा यो कार्यक्रम लागू भएको छ । त्यस्तै, कञ्चनपुरमा कृष्णपुर, वेदकोट, भीमदत्त, महकाली, बेलौरी, र पुनर्वास क्षेत्रमा लागू छ । कैलाली र कञ्चनपुर जिल्लाको कार्यक्रम लागू भएका नगरपालिका र गाउँपालिकाहरूबाट लक्षित वर्गलाई २०७५/७६ मा निवेदन आह्वान गरिएको थियो । दुवै जिल्लाबाट २५ हजार बढी गरिब परिवारले निवेदन दिएका थिए । उक्त निवेदनका आधारमा जनता आवास कार्यक्रमले प्राथमिकतामा पर्ने परिवारको छनोट गरी घर निर्माण गर्दै आएको छ ।

प्रकाशित : श्रावण १८, २०७८ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?