३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कमैया मुक्तिका अभियन्ता चौधरी सम्मानित

अर्जुन शाह

धनगढी — ५० हजार नगदसहित सम्मान ग्रहणका लागि मञ्चमा उभिँदा फिरुलाल चौधरीको मन भारी भएजस्तो देखिन्थ्यो । साहुको घरमा कमैया बसेर जीवन बिताए उनका पिताले । बाल्यकालमा मातापितालाई सघाउने क्रममा साहुकै बाख्रा र भैंसीको गोठालो बसे  फिरुलाल पनि । शनिबारको कार्यक्रममा उनलाई त्यही बालापनको झल्को आइरहेजस्तो लाग्थ्यो । 

कमैया मुक्तिका अभियन्ता चौधरी सम्मानित

उनी भन्दै थिए, ‘मन भारी भएको छ, कमैया परिवारमा हुर्किएर जेनतेन जीवन चलाइरहेको मलाई आज तपाईंहरूले यति ठूलो सम्मानको लायक ठान्नुभएकोमा खुसी लागेको छ ।’ अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले ५० हजार नगदसहितको २७औं ‘प्रकाश मानवअधिकार पुरस्कार –०७७’ टीकापुरका नागरिक अभियन्ता चौधरीलाई प्रदान गर्ने निर्णय गरेको थियो । उक्त पुरस्कार धनगढीमा आयोजित एक समारोहबीच मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदान गरे ।

कैलालीको जानकी गाउँपालिका–२ खर्गौलीका ५५ वर्षीय फिरुलाल चौधरी सानोमा आमाबुबासँगै साहुको घरमा बसेका थिए । उनको जिम्मेवारीमा बाख्रा र भैसी गोठालो जाने काम पर्थ्यो ।

पिता जोशीरामसँग जग्गाजमीन र घरवार केही थिएन । साहुकै घरमा फिरुलालको उमेर बढ्दै थियो । शिक्षाको कुनै सुरसार थिएन । यस्तैमा उनका मामा अन्तरामले एक दिन भान्जालाई आफूसँगै लिएर जाने र स्कुलमा पढाउने प्रस्ताव भिनाजु जोशीरामसमक्ष राखे । त्यही दिन फिरुलालको जीवनमा शिक्षाको ज्योति प्राप्त गर्ने कोसेढुंगा बन्यो ।

उनै फिरुलाल पछि गएर कमैया मुक्ति आन्दोलनका अगुवा बने । टीकापुरमा सामाजिक क्षेत्रको अगुवाइ गर्ने क्रममा सबैले विश्वास गर्ने पात्रको बने उनी । सशस्त्र द्वन्द्वको समयमा सर्वसाधारणको जीवनरक्षाका लागि उनले निर्वाह गरेको भूमिका अनि थारू र पहाडी समुदायका बीचको द्वन्द्वजस्तो चित्रण गर्न खोजिएको टीकापुर घटनाका बेला उनले निर्वाह गरेको तटस्थ भूमिकालाई सबैले विश्वास र भरोसा गरेका थिए ।

‘थारू र पहाडीबीचको द्वन्द्वजस्तो देखाउन खोजिएको टीकापुर काण्डका बेला पनि फिरुलाल चौधरीको अग्रणी र सकारात्मक भूमिका नभएको भए दुवै पक्षबीचको वैरभाव मेटाउने कुनै संवाद र छलफल सम्भव हुन्थेन,’ हाल टीकापुर नागरिक समाजका सचिवसमेत रहेका एकिन्द्र तिमिल्सिना भन्छन्, ‘अहिले पनि उहाँ थारू र पहाडी समुदायबीच सद्भाव सुदृढ गर्ने कार्यमा निरन्तर लागिरहने सेतु हो । टीकापुरमा उहाँ संकटका सारथि हो ।’

कमैया मुक्तिको आन्दोलनमा खेलेको भूमिका त छँदै थियो, कृषि मजदुरको ज्याला बढाउने आन्दोलनलाई पनि उनले नेतृत्व दिए । टीकापुर घटनाका बेला सबैलाई एकै ठाउँमा बोलाएर हिंसा र वैरभाव न्यूनीकरणका लागि उनले अगुवाइ गरेको अधिकारकर्मीहरू सम्झन्छन् । ‘सशस्त्र द्वन्द्व र टीकापुर काण्डको भ्याकुमका बेला बोलिदिने फिरुलाल चौधरी बाहेक कोही थिएन,’ इन्सेक सुदूरपश्चिमका संयोजक खडकराज जोशीले भने, ‘अरु त छाडौं संकटकालमा पीडितका पक्षमा बोल्दिने र थुप्रै घटनामा सर्वसाधारणलाई बचाउने पनि उहाँ नै हो ।’

पुरस्कार वितरण समारोहमा मुख्यमन्त्री भट्टले चौधरीले समाजका लागि योगदान गरेकैले सम्मानित भएको बताए । ‘आफ्ना लागि मात्र त सबै प्राणीले गरेकै हुन्छ, तर महान् त्यो मान्छे हो जसले अरूका लागि गर्छ,’ उनले भने ।

सोही कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले सामाजिक न्यायका लागि योगदान पुर्‍याउने ब्यक्तिहरूलाई गैरसरकारी क्षेत्रबाट पनि उत्प्रेरणा प्रदान गर्दै मानवअधिकार तथा दिगो शान्ति पुन:स्थापनामा सहयोग गर्नु प्रशंसनीय कार्य भएको बताइन् । सामाजिक विकासमन्त्री लालबहादुर खड्काले अझै पनि समाजमा कायम रहेका विभेदहरूको अन्त्य गर्न सरकारले थुप्रै काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रकाशित : श्रावण १७, २०७८ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?