२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

२ वर्षपछि लक्ष्यअनुरुप राजस्व संकलन

पछिल्लो पटक आर्थिक वर्ष २०७४/७५ मा लक्ष्यअनुसार राजस्व उठेको थियो
भवानी भट्ट

कञ्चनपुर — लगातार दुई वर्ष लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको कञ्चनपुर भन्सार कार्यालयले तेस्रो वर्ष लक्ष्य पूरा गरेको छ । विगतका वर्षभन्दा कम लक्ष्य तोकिएपछि पूरा गर्न सकिएको हो ।

२ वर्षपछि लक्ष्यअनुरुप राजस्व संकलन

गत आर्थिक वर्ष २०७७/७८ मा ३५ करोड ६७ लाख लक्ष्य पाएको कञ्चनपुर भन्सार कार्यालयले ३७ करोड ३९ लाख संकलन गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा लक्ष्यअनुसार राजस्व संकलन गरेको भन्सार कार्यालयले २ वर्षपछि गत आर्थिक वर्षमा लक्ष्य पूरा गरेको हो । २०७४/७५ मा लक्ष्यको शतप्रतिशत ३२ करोड ५३ लाख राजस्व संकलन भएको थियो । गत आर्थिक वर्षको असोजमा सबैभन्दा बढी ४ करोड राजस्व संकलन भएको छ भने सबैभन्दा कम जेठमा १ करोड ५० लाख मात्रै राजस्व संकलन भएको छ । ‘वैशाख र जेठमा निषेधाज्ञाका कारण भारतबाट हुने आयात लगभग ठप्प नै थियो,’ कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत परमानन्द जोशीले भने, ‘तरकारी र फलफूल मात्र आयात भयो, त्यही भएर राजस्व पनि कम संकलन भएको छ ।’

उनका अनुसार विगतका वर्षमा लक्ष्य नै बढी तोकिएका कारण त्यसअनुसार संकलन हुन नसकेको हो । यहाँको अवस्थाअनुसार भन्दा पनि अन्तको तुलनाका आधारमा लक्ष्य बढाइने गरेका कारण संकलन हुन नसकेको देखिन्छ । ‘कैलालीको त्रिनगर भन्सारलाई हेरेर यहाँको लक्ष्य बढाएर राजस्व संकलन गर्न सकिँदैन,’ उनले भने, ‘यो त साइकल भन्सार न हो, साइकलमा ढुवानी हुने सामानको भरमा राजस्व संकलन हुन्छ ।’ निर्वाध ढंगले ठूला ढुवानीका साधन आवागमन गर्न नसकिने भएका कारण यो नाकाबाट सबै किसिमका मालसामान आयात गर्न सकिने अवस्था छैन ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ४८ करोड ६८ लाखको लक्ष्य पाएको भन्सार कार्यालयले ५४ प्रतिशत (२६ करोड २८ लाख) मात्रै संकलन गर्न सकेको थियो । आर्थिक वर्ष २०७५/७६ मा पनि ४० करोड १२ लाख लक्ष्य पाएकोमा ३६ करोड ६७ लाख मात्रै संकलन भएको थियो ।

निश्चित समयका लागि मात्रै खुल्ने सीमा क्षेत्रको शारदा ब्यारेजको बनबासा पुलका कारण यो नाकाबाट ठूला किसिमका मालवाहक साधनहरू ल्याउन सकिँदैन । साइकल र मोटरसाइकलमा तथा साना किसिमका ढुवानीका साधनबाट मात्रै मालसामान आयात हुने गरेको छ । कोरोना संक्रमणका कारण गत वर्षदेखि नाकामा आवागमन सहज हुन सकेको छैन । साइकल र मोटरसाइकल लगायतका साधनहरू आउजाउ गर्न दिइएको छैन । यस कारण पनि राजस्व संकलन कम भएको हो । चालु आर्थिक वर्षमा ४२ करोड ६७ लाख लक्ष्य तोकिएको भन्सार अधिकृत जोशीले बताए ।

छोटी भन्सार पुनःस्थापना भएनन्

सशस्त्र द्वन्द्वकालमा बन्द भएका कञ्चनपुरको बेलौरी र दोधारा चाँदनीको छोटी भन्सार कार्यालय अझै पुनःस्थापना हुन सकेको छैन । उक्त क्षेत्रहरूबाट दैनिक उपभोग्य सामग्रीदेखि निर्माण सामग्रीहरूसमेत अवैध ढंगले भित्रिने गरेको छ । बेला बेलामा प्रहरीले ठूलो मात्रामा फलामे छड, सिमेन्टलगायत अन्य सामग्री बरामद गरेर भन्सार कार्यालयलाई बुझाउने गरेको भए पनि ती नाकाबाट हुने अवैध चोरी तस्की नियन्त्रण हुन सकेको छैन ।

जिल्लाको दक्षिणी क्षेत्र र दोधारा चाँदनीबाट हुने तस्करी नियन्त्रण गर्न सके पनि भन्सार राजस्वमा वृद्धि हुने देखिन्छ । गत वर्षदेखि कोरोना संक्रमणका कारण गड्डाचौकी नाकाबाहेक सबै अवैध नाकाहरूमा आवागमनसमेत निषेध गरिएको छ । प्रहरीले तिनै अवैध नाकाहरूबाट ठूलो मात्रामा भन्सार छलेर आउने गरेको मालसामान बरामद हुने गरेको छ । ‘निषेधाज्ञाको अवधिमा तस्करी कम भएको छ, यो अवधिमा सामान्य लुगा कपडा र खाद्यान्नहरू प्रहरीले बरामद गरेर भन्सारलाई बुझाएको छ,’ जोशीले भने ।

प्रकाशित : श्रावण १७, २०७८ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?