चर्को घाममा खोप लगाउनेको लाइन

भवानी भट्ट

कञ्चनपुर — महेन्द्रनगर निवासी कृष्णराज बोगटी दोस्रो चरणको खोप अभियान सुरु भएको पहिलो दिन बुधबार बिहानै परिवार नियोजन संघ कञ्चनपुरको कार्यालयमा पुगे । उनी पुग्दा कोरोनाविरुद्धको खोप लगाउनको भीड निकै बढी थियो ।

चर्को घाममा खोप लगाउनेको लाइन

चर्को घाममा लामो लाइन थियो । १० बजे लाइनमा लागेका उनले दुई घण्टापछि मात्रै खोप लगाउने पालो पाए । ‘यस्तो घाममा दुई/तीन घण्टा लाइन लाग्नु निकै अप्ठेरो छ, खोप केन्द्रमा व्यवस्थापन निकै कमजोर भयो,’ बोगटीले भने, ‘खोप लाउन आएका आफै बिरामी हुने समस्या देखियो ।’ खोप केन्द्रमा मास्क, सेनेटाइजरको प्रयोग र भौतिक दूरीमा पनि खासै ध्यान पुगेको देखिएन । जसका कारण खोप केन्द्रमै संक्रमणको जोखिमसमेत बढी देखिन्छ ।

खोप लगाउने केन्द्रमा पुग्नेहरू चर्को घाम र अव्यवस्थित लाइनका कारण फर्किने गरेका थिए । उनीहरू खोप लगाउनेको लाइन घट्ने प्रतीक्षामा देखिन्थे । ‘दुई/अढाई घण्टासम्म लाइन लागेर पनि खोप लगाउने पालो आएको छैन,’ महेन्द्रनगरकै स्थानीय क्षेत्रज्ञ नारायण खत्रीले भने, ‘खोप केन्द्रमा व्यवस्थापन निकै कमजोर देखियो ।’

कञ्चनपुरमा बुधबारदेखि जिल्लाका ९ वटै पालिकाहरूमा कोरोनाविरुद्धको खोप लगाउन सुरु भएको हो । अहिले ५५ वर्षभन्दा माथिको उमेर समुह र विगतमा छुटेको उमेर समूहकालाई खोप लगाउने योजना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।महेन्द्रनगर तथा आसपासका खोप केन्द्रमा खोप लगाउन आउनेको भीड निकै बढी थियो । स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्ने विषयमा सबैले लापरबाही नै गरेका थिए । खोप केन्द्र व्यवस्थापनमा नगर प्रहरीलगायत अन्य सुरक्षाकर्मीको उपस्थिति देखिए पनि स्थानीयले लामो समय लाइन लागेर मात्रै खोप लगाउन पाइरहेका थिए ।

‘बजार क्षेत्रमा भीडभाड बढी भएका कारण केही समस्या देखिएको थियो,’ जिल्ला स्वास्थ्य कार्यालयका कोल्ड चेन अधिकृत जनक कुँवरले भने, ‘सबैजना एकै पटक आउदा व्यवस्थापनसँगै स्वास्थय सुरक्षाका मापदण्ड पालना गराउन केही समस्या देखिएको हो ।’ उनका अनुसार बुधबार ८ हजार ४४ र बिहीबार ११ हजार ८ सय ६८ गरी करिब १९ हजार जनालाई भेरोसेल खोप लगाइएको छ । सबै पालिकाबाट पूर्ण विवरण प्राप्त भइनसकेको उनले बताए ।

जिल्लामा बुधबारदेखि ४ दिन ३६ हजार जनालाई भेरोसेल र आइतबारदेखि ३ दिन २७ हजार जनालाई जोन्सन खोप लगाउने योजना छ । स्वास्थ्य कार्यालयका अनुसार जोन्सन खोप ५० वर्षमाथिका, वैदेशिक रोजगारीमा जाने र अपांगता भएका व्यक्तिहरूलाई लगाइनेछ । भेरोसेल खोप ५५ वर्षभन्दा माथिका, शिक्षक, यातायात मजदुर, उद्योगी व्यवसायी र यसअघि छुटेको विभिन्न उमेर समूहका व्यक्तिलाई लगाइनेछ ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कोभिसिल्डको ६ हजार ४ सय कक४० र भेरोसेलको ६ हजार ८ सय ८१ गरी १३ हजार जतिले मात्रै दुई डोज खोप लगाउन पाएका छन् ।

प्रकाशित : श्रावण १५, २०७८ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?