शुक्लाफाँटामा बघिनीभन्दा बाघ बढी

निकुञ्जमा ८८ जोडी स्वचालित क्यामेराले क्यामेराले कैद गरेका तस्बिरको अनुसन्धान
कान्तिपुर संवाददाता

कञ्चनपुर — दशकअघि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या १७ थियो । २०१८ को राष्ट्रिय गणनामा उक्त संख्या घटेर १६ पुग्यो । देशका अन्य निकुञ्ज तथा संरक्षित क्षेत्रमा बाघको संख्या उल्लेख्य मात्रामा बढिरहे पनि शुक्ला फाँटामा भने बढ्न सकेको छैन । २०१३ को राष्ट्रिय गणनाअघिको तुलनामा त यहाँ बाघको संख्या निकै घटेको छ । 

शुक्लाफाँटामा बघिनीभन्दा बाघ बढी

कम क्षेत्रफलमा बाघको बढी घनत्व भएको निकुञ्जका रूपमा चिनिने शुक्लाफाँटा बाघको बासस्थान र आहाराका लागि नेपालमै उत्कृष्ट मानिन्छ । चोरीसिकारी पनि नियन्त्रणमा छ । आहारा र बासस्थान राम्रो हुँदा पनि भाले र पोथीको अनुपात नमिल्दा यहाँ बाघको संख्या बढ्न नसकेको संरक्षणकर्मीहरू बताउँछन् । ‘पोथीभन्दा भालेको संख्या बढी छ,’ बिहीबार बाघ दिवसका अवसरमा आयोजित कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिनबहादुर पुर्जा पुनले भने, ‘लगातार दुई/तीन गणनादेखि भालेको संख्या बढेको छ ।’ एक भाले बराबर ३ देखि ६ पोथी आवश्यक पर्ने पुनले बताए । तर यहाँ ठीक उल्टो भएका कारण बाघको संख्या बढ्न नसकेको हो । २०१८ को राष्ट्रिय गणनाअनुसार शुक्लाफाँटामा १५ बाघ क्यामेरा ट्र्यापमा परेका छन् । तीमध्ये ९ भाले र ६ पोथी छन् । क्यामेरामा परेका बाघको तस्बिर अनुसन्धानपश्चात् निकुञ्जमा १६ बाघ रहेको तथ्य सार्वजनिक गरिएको हो ।

भाले र पोथीको अनुपात नमिल्दा भालेहरू एकआपसमै लडेरसमेत मर्ने खतरा हुन सक्ने संरक्षणकर्मीहरू बताउँछन् । यसबाहेक भाले र पोथीबीच सम्पर्क नै हुन नसक्ने अवस्थासमेत आउने उनीहरू बताउँछन् । ‘भाले पोथीको अनुपात मात्रै होइन, विकास निर्माणका कारण बाघको बासस्थान पनि खण्डीकरण हुँदै छ,’ प्रमुख संरक्षण अधिकृत पुनले भने, ‘कतै सिँचाइका आयोजना छन्, कतै सडक र कतै निकुञ्जभित्रै मानवबस्ती ।’ उनका अनुसार विभिन्न विकास निर्माणका आयोजनाले बासस्थान खण्डीकरण हुँदा बाघलाई विचरण गर्न समस्या हुन थालेको छ । तत्कालीन शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापित भएकाहरूको पुनःस्थापनान हुँदा उनीहरू निकुञ्जभित्रै विभिन्न ठाउँमा शिविर बनाएर बसेका छन् । निकुञ्ज कार्यालयले यस वर्ष पनि बाघ र आहारा प्रजातिको अनुगमन गरेको छ । जेठमा गरिएको अनुगमनको नतिजा सार्वजनिक गरिएको छैन ।

प्रारम्भिक अध्ययनको नतिजा हेर्दा भने उत्साहजनक अवस्था रहेको प्रमुख संरक्षण अधिकृत पुन बताउँछन् । ‘प्रारम्भिक अध्ययनले बाघको संख्या पनि केही बढेको हुन सक्ने देखाउँछ, आहाराको अवस्थामा पनि थप सुधार आएको छ,’ उनले भने, ‘अन्तिम नतिजाका लागि भने विभागमा पनि अध्ययन भइरहेको छ ।’ जेठ ३ देखि २५ गतेसम्म क्यामेरा ट्र्यापिङ प्रविधिबाट बाघ र आहारा प्रजातिको अनुगमन गरिएको हो । निकुञ्ज कार्यालयले राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा अनुगमन गरेको थियो । निकुञ्जमा विभिन्न स्थानमा ८८ जोडी स्वचालित क्यामेराहरू जडान गरिएका थिए । अहिले तिनै क्यामेराले कैद गरेका तस्बिरको अनुसन्धान भइरहेको छ ।

२०१३ को राष्ट्रिय गणनामा शुक्लाफाँटामा प्रतिवर्गकिमिमा बाघका आहारा ६९ वन्यन्जन्तु भेटिएका छन् । जुन अन्य संरक्षित क्षेत्रको तुलनामा निकै राम्रो हो । अहिले गरिएको अनुगमनमा आहारा प्रजातिमा पनि उल्लेख्य सुधार भएको प्रारम्भिक अध्ययनले देखाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको क्षेत्रमा समेत बाघ देखिन थालेकाले संरक्षणमा पनि चुनौती थपिएको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशीले बताए ।

प्रकाशित : श्रावण १५, २०७८ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?