सत्तीघाट पुल जोखिममा

पानीको सतह बढी भएकाले तत्काल पुल मर्मतको सम्भावना छैन
गणेश चौधरी

टीकापुर — हुलाकी राजमार्गअन्तर्गत कर्णाली नदीमा रहेको सत्तीघाट पुलमा समस्या आएको छ । पुलमा दुइ वटा स्ल्याबको बीचमा करिब आधा फिट ग्याप आएको छ । 

सत्तीघाट पुल जोखिममा

स्ल्याबको बीचमा ग्याप आएपछि ठूला सवारीसाधन आउजाउमा रोक लगाइएको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले बताए । उनका अनुसार पानीको बहाव एकातिर मात्र गएपछि पिलर धस्सिएको अनुमान गरिएको छ । अहिले पानीको सतह बढी भएकाले के समस्या हो भन्ने यकिन भएको छैन ।

पानीको सतह बढी भएकाले तत्काल पुल मर्मतको सम्भावना पनि नरहेको र स्थानीय तहबाट गर्न नसकिने पनि उनले सुनाए । बर्दियाको राजापुर र कैलालीको टीकापुर जोड्ने पुलको पूर्वतर्फको तटबन्ध केही दिनअघि भत्केपछि आउजाउ बन्द थियो । मर्मतपछि पुनः सञ्चालनमा थियो । कर्णाली नदीको पानीको बहाव पूर्वतर्फ मात्र भएपछि पुलमा असर परेको र पुल एकातिर र पानी अर्कोतिर बग्ने खतरा रहेको स्थानीय धनसिंह साउदले बताए ।

‘पुलको माथितिर नदीको बीच भागमा टापु जस्तो थुम्को छ । त्यो थुम्काले नदीको आधाभन्दा बढी पानी पूर्वी किनारमा बगिरहेको छ,’ साउदले भने, ‘कि त नदीको बहावबीचमा ल्याउन हिउँदमा थुम्का भत्काएर पूर्वी किनारमा आउने पानीको मात्रा बीचमा लानुपर्छ ।’

हुलाकी मार्गमा बनेको सो पुलबाट आवागमन बन्द भएपछि कैलाली र बर्दिया जिल्लाका बासिन्दालाई असहज हुने भएको छ । रसुवा कन्स्ट्रक्सन प्रालिले ५ वर्षअघि पुल निर्माण गरेको थियो । हुलाकी सडकमा रहेको पुलले बर्दिया र कैलाली जोडेको छ । बर्दियाको राजापुर क्षेत्रका बासिन्दालाई उपचारका लागि सदरमुकाम गुलरिया जानुभन्दा टीकापुर नजिक छ । पुलका कारण आउजाउ सहज छ । करिब ५ सय मिटर लम्बाइको पुल बनेपछि राजापुर र टीकापुर जोडिएको छ । पुल नहॅुँदा डुंगाबाटै वारपार गर्नुपर्ने बाध्यता थियो ।

प्रकाशित : श्रावण १४, २०७८ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?