३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बीच बजारमा पार्किङ

करिब ३ मिनेट पैदल दूरीमा रहेको बसपार्क खाली
तृप्ति शाही

बैतडी — बैतडी सदरमुकामको मुख्य बजार गोठलापानी हो । पसल, होटलसँगै अधिकांश बैंकहरू पनि यही बजारमा छन् । बीच बजारमा साँघुरो चोक छ, त्यही चोक हाल बसपार्क बनेको छ । ठूला सवारीसाधनहरू फर्काउन पनि ठाउँ नपुग्ने चोकमा गाडीहरू पार्किङ भइरहेका हुन्छन् ।

बीच बजारमा पार्किङ

जिल्लाभित्र सञ्चालन हुने ठूलासाना सबै सवारीसाधन पनि त्यहीं पार्किङ गरिन्छन् । यात्रुहरू सवारीसाधन चढ्ने र झर्ने पनि त्यही चोकमा हो । ठूला ३/४ वटा बसबाहेक अरू सबै सवारीसाधनहरू त्यहीं पार्किङ हुन्छन् । करिब ३ मिनेट पैदल दूरीमा रहेको बसपार्क भने खाली हुन्छ ।

बीच बजारमा गरिने पार्किङले किनमेलका लागि बजार आउजाउ गर्ने र व्यापारीहरूलाई पनि समस्या हुने गरेको छ । बीच बजारमा सवारीसाधनहरू रोकिँदा आवतजावत गर्नमा समस्या हुने गरेको दशरथचन्द नगरपालिका–४ की सुनिता भण्डारीले बताइन् । उनले भनिन्, ‘एकदमै साँघुरो बजार छ । त्यसैमा कोचाकोच गरेर सवारीसाधनहरू पार्किङ गरिएका हुन्छन् ।’ ४/५ वटा जिप अटाउन मुस्किल पर्ने चोकमा दर्जन बढी गाडीहरू पार्किङ गरिएको हुने उनले बताइन् । निजी सवारीसाधनहरू पनि सबैले त्यहीं राख्ने गरेका छन् । सवारीसाधन ल्याएर जिल्लामा प्रवेश गर्नेहरू बसपार्क विरलै पुग्छन् ।

जिल्लाका स्थानीय तह, केही सरकारी कार्यालयका गाडीहरू पनि चोकमै राखिएका हुन्छन् । यसले गर्दा मुख्य बजार क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढेको दशरथचन्द नगरपालिका–४ का स्थानीय खेम भट्टले बताए । साना सवारीसाधन बाइक, स्कुटीहरू पार्किङ गर्ने ठाउँ पनि छैन । सडकको दायाँबायाँ राखिएको हुन्छ । पार्किङस्थल नहुँदा बाइक सडककै कुना छेउमा राख्नुपर्ने अवस्था रहेको उनले बताए ।

बसपार्कमै सवारीसाधन राख्न भनिए पनि मोटरसाइकल, स्कुटीहरू पार्किङ गर्ने स्थान नहुँदा बजारमा गाह्रो भएको प्रहरीको भनाइ छ । व्यवस्थापनका लागि छलफल भइरहेको जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज राजेन्द्र रावलले बताए । उनका अनुसार ट्राफिक प्रहरीको संख्या पनि कम भएकाले यो समस्या आएको हो । तर प्रहरीले सबै सवारीसाधन बसपार्क नै पठाइरहेको उनले बताए ।

१ वर्षअघि चोकमा राखिने सवारीसाधनहरूलाई बसपार्क पठाउन थालिएको थियो । प्रहरीले सबै गाडीहरू बसपार्कमै पठाउने कार्यको सुरुवात गरे पनि धेरै दिन यो नियम लागू हुन सकेन । यात्रु र गाडी चालकहरूको विरोधले प्रहरी आफ्नो निर्णयमा पछि हटेको थियो ।

बजारमा गाडी रोक्दा त्यहाँका व्यापारीका पसलहरू नै राम्रोसँग देख्न नपाउने अवस्था रहेको स्थानीय व्यापारी दिपेश शाहले बताए । आफूहरूको माग पनि बसपार्कमै सवारीसाधनहरू राख्नपर्ने रहे पनि चालकहरूले बसपार्क जान असहज मान्ने भएकाले यो अवस्था आएको उनले बताए । ‘यात्रुहरू बजारमै हुने र त्यही बजारकै चोकमा उत्रने भएकाले बसपार्क जानै मान्दैनन्,’ उनले भने, ‘नजिकै रहेको बसपार्कमै जानुपर्छ भन्ने हाम्रो पनि भनाइ हो । बरु यात्रुलाई झर्ने व्यवस्था भने चोककै पनि हुनुपर्छ ।’

यात्रु, टिकट काउन्टरहरूसँगै सबै कारोबार बजारमै हुने भएकाले बसपार्कमा सवारीसाधनहरू जान गाह्रो भइरहेको चालक मानबहादुर टेर बताउँछन् । उनले भने, ‘बसपार्क टाढा पनि भयो । बजारबाट उल्टो पनि । माथि बसपार्क छ तल बजार । सबै यात्रुहरू बजारमै हुन्छन् त्यसैले हामीहरू साँघुरो चोकमै रोक्न बाध्य छौं । बसपार्कमै सवारीसाधन राख्न भनिए पनि मोटरसाइकल र स्कुटीहरू पार्किङ गर्ने ठाउँ नहुँदा बजारमा समस्या भएको प्रहरीको भनाइ छ । व्यवस्थापनका लागि छलफल भइरहेको जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज राजेन्द्र रावलले बताए । तर प्रहरीेले सबै सवारीसाधन बसपार्क नै पठाइरहेको उनले बताए ।

प्रकाशित : श्रावण १४, २०७८ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?