सामान बरामद हुन्छ, तस्कर भेटिँदैनन्- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामान बरामद हुन्छ, तस्कर भेटिँदैनन्

गत वर्ष कैलालीमा तस्करीका सामान बरामद भएका ५ सय १५ घटनामध्ये तस्कर पनि समातिएका घटना १७ मात्रै
मोहन बुढाऐर

धनगढी — सशस्त्र प्रहरी सीमा सुरक्षा बल, धनगढीले गत आर्थिक वर्ष २०७७/७८ मा भन्सार छलीका २ सय ९७ घटनामा १ करोड ४९ लाख ६९ हजार रुपैयाँ बराबरको सामान बरामद गर्‍यो । जसमध्ये तस्करीका सामानसँगै त्यसमा संलग्न व्यक्तिलाई समातेको भने एउटा मात्रै मुद्दा दर्ता भयो । बाँकी सबै मुद्दामा बरामद भएका वस्तु बेवारिसे देखाइयो ।

कैलालीको भजनीस्थित नाकाबाट साइकलमा रासायनिक मल भित्र्याउँदै स्थानीय । फाइल तस्बिर : कान्तिपुर

यस्तै तथ्यांक नेपाल प्रहरीको पनि छ । गत आवमा प्रहरीले २ सय १५ वटा भन्सार छलीका घटनामा १६ वटा मुद्दामा मात्रै सम्बन्धित व्यक्तिसहित मालसामान भन्सार कार्यालय पठाएको थियो । अन्य अधिकांश घटनामा तस्करलाई उन्मुक्ति दिएर बरामद वस्तु मात्रै लिलामीका लागि भन्सार पठाइएको स्रोतको दाबी छ । यसैगरी, भन्सारका कर्मचारी आफैंले गरेको गस्तीका क्रममा भेटिएका ३ वटा भन्सार छलीका घटनामा पनि ४५ हजार मूल्य बराबरका सामान मात्रै बेवारिसे भेटिएका थिए ।

गत आर्थिक वर्षमा मात्रै होइन, भन्सार कार्यालयको तथ्यांकमा अघिल्ला वर्षका भन्सार छलीका ९८ प्रतिशत घटनामा सामान बरामद हुने तर तस्करहरू भने उन्मुक्त भएका छन् । कैलाली भन्सार अधिकृत अम्बिका केसीले भन्सार कार्यालयबाट कहिलेकाहीं पटके गस्ती मात्रै हुने र सुरक्षाकर्मीले नै धेरै भन्सार छलीका सामान बुझाउने गरेको बताइन् । अधिकांश घटनामा सुरक्षाकर्मीले तस्करी हुन लागेको अवस्थामा बरामद गरेका सामान बेवारिसे अवस्थामा भेटिएको प्रतिवेदनमा उल्लेख गर्ने गरेको उनको भनाइ छ । कैलालीमा ‘सेटिङ’ मिलाउन नसकेका साना तस्कर समूहलाई मात्रै सशस्त्र र नेपाल प्रहरीले पैसा असुल्नलाई समात्ने गरेको कैलाली भन्सारका एक कर्मचारीको दाबी छ । ‘घटनास्थलमै लेनदेनमा कुरा मिलेपछि ३० प्रतिशत सामान बेवारिसे भनेर भन्सार पठाउँछन्,’ ती कर्मचारी भन्छन्, ‘७० प्रतिशत सामानसहित मान्छे भने छोडिदिने गरेका छन् ।’ उनले कुनै घटनामा आर्थिक लेनदेन मिलेन वा अर्को गिरोहले पक्राउ गर्न लगाएको भए मात्रै मान्छेसहित सामान भन्सार कार्यालय पठाउने गरेको बताए ।

तस्करी हुँदै गर्दा सामान बरामद गर्न सक्ने सुरक्षाकर्मीले तस्करलाई किन समात्न सक्दैन त ? सशस्त्र प्रहरी सीमा सुरक्षा बल धनगढीका एसपी दीपेन्द्र कुँवरले गस्ती टोलीको सूचना पहिल्यै पाएर तस्करले सामान छोडेर भाग्ने गरेकाले सामान मात्रै बरामद हुने र तस्कर समात्न नसकिने बताए । ‘ठूलो परिमाणमा तस्करी गर्ने समूहलाई रंगेहात पक्राउ गर्ने प्रयास गर्छौं,’ उनी भन्छन्, ‘तर उनीहरूको सूचना सञ्जाल राम्रो हुन्छ । भागिहाल्छन् । लैजान नसकेको सामान बरामद हुने गरेका छन् । आँखैअगाडि तस्करीमा संलग्न व्यक्ति भागिरहेको देख्दा गोली चलाउन सकिँदैन, के गर्ने त ?’ उनले व्यक्ति पक्राउ परेका अधिकांश तस्करीका घटनामा भरियाका रूपमा गरिब तथा विपन्न परिवारका व्यक्ति जीविकोपार्जनका लागि लाग्ने गरेको पाइएको बताए । ‘पक्राउ परेका धेरैले अरूका सामान ढुवानी गरेको मात्रै हुन्छन् । त्यस्तालाई फसाएर के गर्ने ?,’ उनी भन्छन्, ‘अनि सामान बेवारिसे बनाई भन्सार कार्यालयमा बुझाउनुपर्ने अवस्था पनि यही कारण आएको हो ।’ उनले सशस्त्र प्रहरीले तस्कर समूहसँग कुनै प्रकारको सेटिङ र मोटो रकम लिएर उनीहरूलाई छोडिदिने गरेको जस्ता आरोप, आरोप मात्रै भएको दाबी गरे ।

कैलालीमा भारतसँग जोडिएको १०२ किमि खुला सीमामध्ये हरेक १० किमिको फरकमा सशस्त्र प्रहरीको पोस्ट छ । ‘सशस्त्र प्रहरीले तस्करी नियन्त्रण गर्न सक्दैन भन्ने हुँदैन,’ भन्सार कार्यालयका ती कर्मचारी भन्छन्, ‘सीमानाकामा गएर बुझ्न सकिन्छ, तस्करी गर्न छुट

दिएको देखिन्छ ।’ सशस्त्र र नेपाल प्रहरीले दैनिक गुजाराका लागि साइकल, मोटरसाइकल र पिठ्युँमा चिनी, लत्ताकपडालगायत बोकेर ल्याउने स्थानीयलाई मात्रै समात्ने गरेको भजनी हसुलियाका एक व्यवसायीले आरोप लगाए । उनका अनुसार जिल्लास्थित सीमाका विभिन्न ठाउँबाट ट्र्याक्टर र ट्रकमै पनि मालसामान तस्करी गर्ने समूह क्रियाशील छन् । ‘यस्ता ठूला समूहका गोदाम सीमावर्ती बस्तीमै हुन्छन्,’ उनी भन्छन्, ‘त्यहाँबाटै धनगढी, टीकापुर, सुख्खड, भजनी र हसुलियाका बजारमा सामान पुग्छन् ।’

कोरोना महामारी सुरु भएयता तस्करी थप मौलाएको हसुलियाकै गंगा चौधरीको दाबी छ । ‘कोरोनाकालमा सर्वसाधारण आउजाउका लागि नाका बन्द भयो,’ उनी भन्छन्, ‘तर तस्करी गर्ने समूहलाई खुला रह्यो ।’ उनका अनुसार धनगढीको जुगेडा, फूलबारी, हसुलिया, भजनी र खक्रौला नाका तस्करीका प्रमुख अड्डा मानिन्छन् । यहाँबाट ठूलो परिमाणमा चिनी, रासायनिक मल, सिमेन्ट, छड, टीभी, पंखा, दाल, साइकलका पार्टपुर्जा, नुन, कपडा, चप्पल, खेलौना, खाने तेल, बिस्कुट, माछा, कुखुराको अण्डा र चल्ला भित्रिने गर्छ ।

प्रकाशित : श्रावण १२, २०७८ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्

कैलालीमा लक्ष्यभन्दा बढी राजस्व

मोहन बुढाऐर

धनगढी — कैलाली भन्सारले कोरोना महामारीका बीचमा पनि लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । निषेधाज्ञाको दुई महिना वैशाख र जेठमा बाहेक मासिक लक्ष्यसमेत पूरा गरेको छ ।

भन्सार कार्यालयका सूचना अधिकृत अम्बिका केसीका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा भन्सार महसुल, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा लक्ष्यभन्दा ७ प्रतिशत बढी ८ अर्ब ८४ करोड १४ लाख २८ हजार राजस्व संकलन भएको छ ।

वार्षिक लक्ष्य ८ अर्ब २१ करोड ७३ लाख ७१ हजार राखिएको थियो । ‘निषेधाज्ञाले वैशाख र जेठमा मासिक लक्ष्य पूरा भएन,’ उनले भनिन्, ‘तर पनि बाँकी दस महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन हुँदा वार्षिक लक्ष्य पूरा गर्न सकियो ।’ उनका अनुसार वैशाखमा ७१ करोड १७ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको थियो । यो लक्ष्यभन्दा करिब २१ प्रतिशत कम रकम थियो । जेठमा ६९ करोड ३३ लाख १४ हजार मात्रै संकलन भएको थियो ।

यो लक्ष्यको ६३ प्रतिशत मात्रै रकम हो । उनले सबैभन्दा धेरै कैलाली भन्सारबाट पेट्रोलियम पदार्थबाट राजस्व संकलन हुने गरेको जानकारी दिइन् । त्यसपछि मार्बल टायल, मोटरपाटर््स, कपडा, एसी ब्लकहरू र खाद्यान्नमा राजस्व संकलन बढी हुने गरेको छ ।

चुहावट कायमै

कोरोना कालमा लक्ष्यअनुरूप कैलाली भन्सारले राजस्व असुली गरे पनि खुला सीमा नाकाबाट हुने ठूलो परिणामको राजस्व चुहावट भने रोक्न सकेको छैन । कैलालीको १ सय २ किमि खुला सीमा नाकाबाट ठूलो परिणाममा चिनी, रासायनिक मल, सिमेन्ट, छड, टीभी, पंखा, दाल, साइकलका पार्टपुर्जा, नुन, लुगाकपडा, चप्पल, खेलौना, खाने तेल, बिस्कुट, माछा, कुखुराका अण्डा, चल्ला अवैध रूपमा भित्रिने गर्छन् ।

कैलालीकै भजनीमा छोटी भन्सारबाट आलुप्याजबाट मात्रै राजस्व संकलन भएको देखिन्छ । टीकापुर, भजनी, हसुलिया सीमावर्ती ठूला ग्रामीण बजारको अधिकांश वस्तु भन्सार छलीबाटै आउने गरेको स्रोतको दाबी छ । ‘कैलालीमा सबैभन्दा बढी राजस्व संकलन हुने चिनी, सिमेन्ट, फलामे छडलगायतबाट हो,’ स्रोतले भन्यो, ‘तर यी वस्तु भन्सारको ‘टप टेन’ राजस्व उठाउने वस्तुमा किन पर्दैन ? किनभने तस्करी बढी हुन्छ ।’

स्थानीय जानकारहरूका अनुसार रातको समयमा ट्रकका ट्रक मालसामान भारतबाट तस्करी भएर गाउँमा राखिएका गोदाम भरिने गरेको छ । ‘झन् लकडाउनको समयमा अझ बढी चोरी तस्करी भयो,’ स्थानीयले भने, ‘साधारण मान्छे आउतजावतका लागि नाका बन्द भए तर तस्करी खुला छ ।’ कैलालीको सीमावर्ती बजारमा मात्रै नभएर, धनगढी र राजमार्ग किनारका सुख्खड र लम्की बजारका पसलमा समेत फूलबारी, हसुलिया र भजनी क्षेत्रबाट तस्करी गरी भित्रिएका सामान पुग्ने गरेको स्थानीय बताए । भन्सार कार्यालयका सूचना अधिकृत केसीले भन्सारको राजस्व चुहावटमा कमि ल्याउन खुला सीमा क्षेत्रमा भन्सार कहिलेकाहीं भन्सार गस्तीसमेत परिचालन गर्ने गरेको बताइन् ।

प्रकाशित : श्रावण ११, २०७८ १३:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×