१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कैलालीमा लक्ष्यभन्दा बढी राजस्व

मोहन बुढाऐर

धनगढी — कैलाली भन्सारले कोरोना महामारीका बीचमा पनि लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । निषेधाज्ञाको दुई महिना वैशाख र जेठमा बाहेक मासिक लक्ष्यसमेत पूरा गरेको छ ।

कैलालीमा लक्ष्यभन्दा बढी राजस्व

भन्सार कार्यालयका सूचना अधिकृत अम्बिका केसीका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा भन्सार महसुल, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा लक्ष्यभन्दा ७ प्रतिशत बढी ८ अर्ब ८४ करोड १४ लाख २८ हजार राजस्व संकलन भएको छ ।

वार्षिक लक्ष्य ८ अर्ब २१ करोड ७३ लाख ७१ हजार राखिएको थियो । ‘निषेधाज्ञाले वैशाख र जेठमा मासिक लक्ष्य पूरा भएन,’ उनले भनिन्, ‘तर पनि बाँकी दस महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन हुँदा वार्षिक लक्ष्य पूरा गर्न सकियो ।’ उनका अनुसार वैशाखमा ७१ करोड १७ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको थियो । यो लक्ष्यभन्दा करिब २१ प्रतिशत कम रकम थियो । जेठमा ६९ करोड ३३ लाख १४ हजार मात्रै संकलन भएको थियो ।

यो लक्ष्यको ६३ प्रतिशत मात्रै रकम हो । उनले सबैभन्दा धेरै कैलाली भन्सारबाट पेट्रोलियम पदार्थबाट राजस्व संकलन हुने गरेको जानकारी दिइन् । त्यसपछि मार्बल टायल, मोटरपाटर््स, कपडा, एसी ब्लकहरू र खाद्यान्नमा राजस्व संकलन बढी हुने गरेको छ ।

चुहावट कायमै

कोरोना कालमा लक्ष्यअनुरूप कैलाली भन्सारले राजस्व असुली गरे पनि खुला सीमा नाकाबाट हुने ठूलो परिणामको राजस्व चुहावट भने रोक्न सकेको छैन । कैलालीको १ सय २ किमि खुला सीमा नाकाबाट ठूलो परिणाममा चिनी, रासायनिक मल, सिमेन्ट, छड, टीभी, पंखा, दाल, साइकलका पार्टपुर्जा, नुन, लुगाकपडा, चप्पल, खेलौना, खाने तेल, बिस्कुट, माछा, कुखुराका अण्डा, चल्ला अवैध रूपमा भित्रिने गर्छन् ।

कैलालीकै भजनीमा छोटी भन्सारबाट आलुप्याजबाट मात्रै राजस्व संकलन भएको देखिन्छ । टीकापुर, भजनी, हसुलिया सीमावर्ती ठूला ग्रामीण बजारको अधिकांश वस्तु भन्सार छलीबाटै आउने गरेको स्रोतको दाबी छ । ‘कैलालीमा सबैभन्दा बढी राजस्व संकलन हुने चिनी, सिमेन्ट, फलामे छडलगायतबाट हो,’ स्रोतले भन्यो, ‘तर यी वस्तु भन्सारको ‘टप टेन’ राजस्व उठाउने वस्तुमा किन पर्दैन ? किनभने तस्करी बढी हुन्छ ।’

स्थानीय जानकारहरूका अनुसार रातको समयमा ट्रकका ट्रक मालसामान भारतबाट तस्करी भएर गाउँमा राखिएका गोदाम भरिने गरेको छ । ‘झन् लकडाउनको समयमा अझ बढी चोरी तस्करी भयो,’ स्थानीयले भने, ‘साधारण मान्छे आउतजावतका लागि नाका बन्द भए तर तस्करी खुला छ ।’ कैलालीको सीमावर्ती बजारमा मात्रै नभएर, धनगढी र राजमार्ग किनारका सुख्खड र लम्की बजारका पसलमा समेत फूलबारी, हसुलिया र भजनी क्षेत्रबाट तस्करी गरी भित्रिएका सामान पुग्ने गरेको स्थानीय बताए । भन्सार कार्यालयका सूचना अधिकृत केसीले भन्सारको राजस्व चुहावटमा कमि ल्याउन खुला सीमा क्षेत्रमा भन्सार कहिलेकाहीं भन्सार गस्तीसमेत परिचालन गर्ने गरेको बताइन् ।

प्रकाशित : श्रावण ११, २०७८ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?