गर्मी छल्न खानीडाँडा- सुदूरपश्चिम - कान्तिपुर समाचार

गर्मी छल्न खानीडाँडा

शुक्रबार र शनिबारका दिन होटल र कटेजहरूमा बास पाउनै मुस्किल
अर्जुन शाह

धनगढी — यतिबेला कैलाली, कञ्चनपुरलगायत तराईका बस्तीहरूमा खपिनसक्नु गर्मी छ । तर धनगढीदेखि झन्डै ३० किलोमिटरको दूरीमाथि पहाडमा रहेको खानीडाँडा क्षेत्रमा भने शीतल छ । तराईको गर्मी छलेर खानीडाँडाको शीतलतामा रमाउन धनगढी, महेन्द्रनगर मात्रै हैन, सीमावर्ती भारतका बासिन्दाहरू पनि खानीडाँडा पुग्ने गरेका छन् । 

कैलालीको खानीडाँडा पिकनिक स्थलमा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर : अर्जुन/कान्तिपुर

पछिल्ला वर्षहरूमा खानीडाँडा खासगरी कैलाली, कञ्चनपुरको तराई क्षेत्रका बासिन्दाका लागि गर्मी छल्ने रोजाइको गन्तव्य बनेको छ । गर्मी सिजन सुरु हुनेबित्तिकै भरिभराउ हुने यहाँका होटल, कटेजहरूमा शुक्र र शनिबारका दिन त बास पाउनै मुस्किल हुने गर्छ । ‘तराईमा गर्मी निकै बढेपछि हप्ताको एक दिन खानीडाँडामा जाने गरेका छौं,’ धनगढीका रमेश भट्टले भने, ‘यतिबेलाको सिजनमा शुक्रबारको दिन त खानीडाँडाका होटलमा बास पाउन पनि मुस्किल पो हुन्छ ।’

खानीडाँडा ओहोरदोहोर गर्ने युवायुवतीहरूको संख्या झन् बाक्लो हुन्छ । दशकअघिसम्म खानीडाँडा कैलाली, कञ्चनपुरलगायत तराईका जिल्लाहरूबाट सुदूरपश्चिमका ७ पहाडी जिल्ला जाने सार्वजनिक सवारी साधनमा यात्रारत यात्रुले खाना नास्ता खाने ठाउँमा सीमित थियो । पछिल्लो समय होटल व्यवसाय र अन्य पूर्वाधार विकासमा लगानी बढेसँगै गर्मी सिजनमा रोजाइको गन्तव्य बनेको हो । हुन पनि एक घण्टा तल तराईमा ३५/३८ डिग्रीको उखरमाउलो गर्मी हुँदा खानीडाँडामा बढीमा २२/२४ डिग्री तापक्रमको चिसोले बहारको अनुभूति गराइरहेको हुन्छ । खानीडाँडामा हाल ७० भन्दा बढी होटल सञ्चालनमा रहेको यस क्षेत्रको चुरे गाउँपालिका–५ का वडाध्यक्ष नरबहादुर तामाङले बताए । ‘यहाँ सुविधायुक्त होटलहरू निर्माण भइरहेका छन्,’ तामाङले भने, ‘होटल व्यवसायमा बर्सेनि लगानी बढेको बढ्यै छ ।’

गर्मी छल्नकै लागि खानीडाँडामा पिकनिक मनाउन जानेहरूको संख्या पनि बाक्लै हुन्छ । यहाँ राजमार्ग छेवैमा व्यवस्थित पिकनिकस्थल निर्माण गरिएको छ । धनगढी महेन्द्रनगबाट पिकनिक मनाउन जानेहरू अधिकांश सोही स्थानमा रमाउने गर्छन् । गत साता धनगढीस्थित सुदूरपश्चिमाञ्चाल क्याम्पसको टोली बस रिजर्ब गरेर खानीडाँडामा पिकनिक मनाउन गए । ‘खानपिनका सामग्रीहरू सबै धनगढीबाटै लिएर गएका थियौं,’ क्याम्पसका शिक्षक हरिप्रसाद जोशीले भने, ‘दिनभर खानीडाँडाको शीतलतासँगै रमायौं । त्यो पिकनिकस्थलमा पालै पाउन गाह्रो हुँदो रहेछ ।’ खानीडाँडा नजिकै पर्ने गोदावरी नगरपालिकाअन्तर्गत पर्ने बुढीतोलामा पनि उस्तै घुइँचो हुन्छ ।

स्थानीय उत्पादनका अर्ग्यानिक खाना, लोकल कुखुराको परिकारले खानीडाँडाको आकर्षणलाई झन् धेरै बढाएको होटल व्यवसायीहरू बताउँछन् । ‘हामी ग्राहकहरूलाई सकभर सबै स्थानीय उत्पादनकै खानेकुरा उपलब्ध गराउँछौं,’ होटल व्यवसायी वीरेन्द्र सापकोटाले भने, ‘ठाउँ पनि उत्तिकै रमाइलो छ ।’

खानीडाँडाका चिसो वातावरणमा रमाउन सीमा क्षेत्रमा पर्ने भारतीय सहरबाट स्थानीय आउने गरेको व्यवसायीहरू बताउँछन् । भारतमा आइतबार साप्ताहिक बिदा हुन्छ । कोरोनाका कारण पहिलाको तुलनामा संख्या घटेको भए पनि फाट्टफुट्ट अहिले पनि आउने गरेको सापकोटा बताउँछन् ।

खानीडाँडाको आकर्षण अझ बढाउन बजारदेखि करिब डेढ घण्टाको दूरीमा रहेको कम्पासेधुरामा भ्यू–टावर निर्माण अन्तिम चरणमा पुगेको वडाध्यक्ष तामाङले बताए । एक हजार ७ सय ८० मिटर उचाइमा रहेको कम्पासेधुराबाट हिमाल, पहाड र तराईको रमाइलो दृश्यावलोकन गर्न मिल्ने रमणीय ठाउँ भएको उनले बताए । ‘कम्पासेधुराबाट कैलालीको चिसापानी पुल अनि कञ्चनपुरको दोधारा चाँदनीको झोलुंगे पुलको मनमोहक दृश्य देखिन्छ,’ वडाध्यक्ष तामाङले भने, ‘सैपालदेखि भारतका सहरहरू पनि कम्पासेधुराबाट देखिन्छन् ।’ बुढीतोलामा रहेको बाख्रा विकास फार्म पनि यस क्षेत्रको अर्को आकर्षण हो । रमणीय ठाउँमा बाख्रा अनुसन्धान केन्द्रका रूपमा दशकौंअघिदेखि सञ्चालनमा रहेको यो फार्म अवलोकन गर्न किसानहरू मात्रै हैन, अन्य पर्यटकहरू पनि जाने गरेका छन् ।

दुई वर्षअघि खानीडाँडा क्षेत्रमा दुई वटा कालिज फार्म पनि स्थापना गरिएका छन् । ‘कालिज हेर्नका लागि पनि आन्तरिक पर्यटकहरू बुढीतोला र खानीडाँडा आउने गर्छन्,’ बुढीतोलाका होटल व्यवसायी रमेश श्रेष्ठले भने । आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएपछि खानीडाँडा र बुढीतोला क्षेत्रमा जग्गाको कारोबार बढेको स्थानीयहरू बताउँछन् । ‘गोदावरीमा प्रदेश राजधानी बन्ने भएपछि जग्गा किनबेच अझ बढेको हो,’ वडाध्यक्ष तामाङले भने, ‘अहिले त जग्गा पाउनै मुस्किल छ ।’

प्रकाशित : श्रावण ११, २०७८ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्

सुदूरपश्चिममा दोब्बर बढ्यो संक्रमण

असारमा १५ र साउनमा ३७ प्रतिशत संक्रमण
निषेधाज्ञा खुकुलो भएसँगै हेलचेक्र्याइँ
अर्जुन शाह

धनगढी — निषेधाज्ञा खुकुलो भएसँगै सुदूरपश्चिममा कोरोना संक्रमण दर उकालो लागेको छ । असारको अन्तिम सात दिनमा १५ प्रतिशत रहेको संक्रमण दर साउन पहिलो साता ३७ प्रतिशतमा उक्लिएको छ । सुदूरपश्चिममा संक्रमण दर अन्य ६ प्रदेशभन्दा धेरै हो ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको अभिलेखअनुसार असार २५ देखि ३१ गतेसम्म एक हजार ५ सय ३१ को पीसीआर परीक्षण गर्दा २ सय २४ जनामा संक्रमण पुष्टि भएको थियो । यो १५ प्रतिशत हाराहारी हो । तर साउनको पहिलो सात दिनमा ५ सय ६७ जनाको पीसीआर जाँच गर्दा २ सय ७ जनामा संक्रमण पुष्टि भएको छ । यो झन्डै ३७ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अभिलेखअनुसार सुदूरपश्चिमपछि संक्रमण दर गण्डकीमा बढी छ । साउनको पहिलो सात दिनमा गण्डकीमा ३६ प्रतिशत संक्रमण छ । ३ हजार ७ सय ५१ जनामा पीसीआर जाँच गर्दा एक हजार ३ सय ६४ जनामा संक्रमण देखिएको हो । कर्णालीको साप्ताहिक संक्रमण दर ३५ प्रतिशत छ । सबैभन्दा बढी पीसीआर परीक्षण भएको वाग्मतीमा १९ प्रतिशत संक्रमण दर देखिएको छ । ३६ हजार ६८ जनाको परीक्षण गर्दा ६ हजार ५ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ मा ३० प्रतिशत संक्रमण छ । साउन पहिलो साता १० हजार ५ सय ९८ जनाको परीक्षण गर्दा प्रदेश १ मा ३ हजार १ सय ९ जनामा संक्रमण देखिएको हो । प्रदेश २ मा सबैभन्दा कम संक्रमण दर छ । मन्त्रालयको अभिलेखअनुसार २ हजार ५ सय १७ जनाको पीसीआर जाँच गर्दा १ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा लुम्बिनीमा १६ प्रतिशत संक्रमण दर छ ।

सुदूरपश्चिममा सेती अस्पताल धनगढी, महाकाली अस्पताल महेन्द्रनगर, डडेलधुरा, डोटी, बझाङ, बैतडी र कमलबजार अस्पताल अछाममा पीसीआर ल्याब सञ्चालनमा छन् । साउनको पहिलो साता धनगढी, महेन्द्रनगर, डडेलधुरा, बैतडीको प्रयोगशालामा पीसीआर जाँच भएको छ । साउनको पहिलो सात दिनमा सबैभन्दा धेरै धनगढीमा ४ सय ६२ परीक्षणमा १ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, डडेलधुरा ल्याबमा ७८ जनाको परीक्षण गर्दा १९ जना, महेन्द्रनगर ल्याबमा ७० जनाको पीसीआर जाँच गर्दा १४ जना संक्रमित भेटिएका छन् । बैतडी अस्पतालमा १२ जनाको परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ । ‘असारको अन्तिम साताभन्दा साउनको पहिलो साता पीसीआर रिपोर्टका आधारमा संक्रमण दर दोब्बरभन्दा बढीले बढेको छ,’ स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने, ‘निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणको जोखिम बढेको तथ्यांकबाट पुष्टि हुन्छ ।’

लक्षण फरक

संक्रमितको उपचारमा सुरुदेखि नै संलग्न सेती प्रादेशिक अस्पतालका चिकित्सकहरूले अहिले संक्रमितमा लक्षण पनि नौलो भएको बताएका छन् । अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. निराजनदत्त शर्मा पौडेलका अनुसार पछिल्लो समय उपचारका लागि अस्पताल आइरहेका संक्रमितमा पहिलाको भन्दा नितान्त फरक लक्षण देखिएका छन् । ‘खान मन नलाग्ने, थकाई महसुस हुने, पेट भरिने, पखाला लाग्नेलगायत समस्या अहिलेका संक्रमितमा देखिएका छन्,’ डा. पौडेलले भने, ‘थाइराइड र सुगरका बिरामीहरूमा संक्रमण दर बढी देखिएको छ ।’ नेपालमा कोरोना संक्रमणको सुरुआती चरणमै प्रभावित भएको सुदूरपश्चिम दोस्रो चरणमा पनि उत्तिकै प्रभावित

रह्यो । दुवै चरणमा कैलाली र कञ्चनपुर त हटस्पट नै बने । निर्देशनालयका अनुसार शुक्रबारसम्म मृत्यु हुने संक्रमितको संख्या ५ सय ७६ पुगेको सुदूरपश्चिममा साउन पहिलो सातादेखि नै संक्रमण दर दोब्बरले बढेपछि तेस्रो चरणको चिन्ता बढेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

स्वास्थ्यकर्मीहरूका अनुसार सुदूरपश्चिममा बढी जोखिम हुनुको मुख्य कारण लापरबाही र यहाँका बासिन्दाहरूको भारतमा आवतजावत हुनु हो । यस प्रदेशका ९ वटै जिल्लाबाट भारतमा रोजगारीका लागि जाने र फर्किनेको संख्या बाक्लो छ । त्यसैले भारतमा कोरोना प्रभाव देखिनेबित्तिकै यस प्रदेशमा पनि कोरोनाको संक्रमण वृद्धि हुने गरेको छ ।

पूर्वतयारीका क्रममा सबैभन्दा बढी सीमामा ध्यान दिने तयारी गरेको निर्देशक डा. अवस्थीको भनाइ छ । कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी सुदूरपश्चिममा सबैभन्दा बढी संख्यामा आवतजावत हुने सीमानाका हुन् । दुई दुवै नाकामा एक/एक हजारको अटाउन सक्ने होल्डिङ सेन्टर निर्माणको तयारी भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

धनगढी र महेन्द्रनगरमा सामाजिक विकास मन्त्रालयले थप ५० शय्याको कोभिड अस्पताल पनि निर्माण अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । ‘दुई वटै सीमानाकामा होल्डिङ सेन्टर बनाउन सुरु गरिसकेका छौं,’ सामाजिक विकासमन्त्री लालबहादुर खड्काले भने, ‘अबका दिनमा भारतबाट आउने सबैको एन्टिजेन परीक्षण गरेर मात्रै भित्रिने व्यवस्था गर्छौं ।’ सुदूरपश्चिमबाट भारत आवतजावत गर्ने कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला मुख्य सीमानाका हुन् ।

बालबालिका प्रभावित हुन सक्ने अनुमानमा हरेक जिल्ला अस्पतालमा बालबालिकाका लागि १० वटा विशेष शय्या निर्माणको काम भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । ठूला अस्पतालमा कुल शय्याको २० प्रतिशत बालबालिका लक्षित गरी तयारी भइरहेको अस्पतालहरूले जनाएका छन् । सुदूरपश्चिमका १२ वटा सरकारी अस्पतालमा गरी ९ सय ७७ शय्या छन् । एचडीयू बेड संख्या १ सय ४३ र आईसीयू ६९ छन् । भेन्टिलेटरको संख्या ३५ छ ।

प्रकाशित : श्रावण ९, २०७८ ११:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×