कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तटबन्ध निर्माणका लागि ढुंगा अभाव

गणेश चौधरी

टीकापुर — कर्णाली नदीको कटान रोकथामका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले नदी किनारको बाढीको उच्च जोखिममा रहेका ठाउँमा तटबन्ध निर्माण गर्दै आएको छ । वर्षायाममा नदी कटान रोक्न आयोजनाले गरिरहेको आपत्कालीन रूपमा तटबन्ध निर्माणको काम ढुंगा अभावले प्रभावित भएको छ ।

तटबन्ध निर्माणका लागि ढुंगा अभाव

आपत्कालीन कटान कार्य रोक्न आयोजनाबाट ठूला ढुंगा प्रयोग गरी तटबन्ध बनाउने ठेक्का भएकोमा ठूला ढुंगा संकलन हुने लम्कीचुहा नगरपालिका तथा मोहन्याल गाउँपालिका क्षेत्रबाट असार १ गतेदेखि ढुंगा निकाल्न बन्द गरिएपछि तटबन्धका लागि ढुगा अभाव भएको हो । कर्णाली नदीले भुराखखानी, शिवशक्ति वन क्षेत्र, सनकट्टी, दौलतपुर क्षेत्र, शाहीपुर गाउँ सत्ती कर्णाली सामुदायिक वन क्षेत्र तथा अरुणाफाँटामा अत्यधिक कटान भइरहेको रानी जमरा कुलारिया सिँचाइ आयोजनाले जनाएको छ ।

जोखिमयुक्त यी ठाउँमा समयमा नै ठूला ढुंगा हाल्न नसकेमा कुनै पनि बेला नदी गाउँ पस्न सक्ने खतरा रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाका सिनियर डिभिजन इन्जिनियर (सीडीई) विदुर श्रेष्ठले बताए । ‘करिब ४० हजार घनमिटर ठूला ढुंगा चाहिन्छ । वर्षाका बेला नदी रोक्न ९ हजार घनमिटर जति आवश्यक छ,’ सीडीई श्रेष्ठले भने, ‘कर्णाली नदीले कटान तीव्र पारेको छ । रानी जमरा कुलरिया सिँचाइ आयोजनाकै जिम्मा भनेर हो कि कसैले ढुंगा चाहिने मतलबै गरेका छैनन् ।’

लम्कीचुहा नगरपालिका र मोहन्याल गाउँपालिकालाई ढुंगा संकलनका लागि सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालयलाई साउन ३ गते पत्राचार गरिएको श्रेष्ठले बताए । जिल्ला प्रशासन कार्यालयले पनि सम्बन्धित पालिकालाई पत्राचार गरेको भए पनि सुनुवाइ नभएको उनी बताउँछन् । जिल्ला प्रशासन कार्यालय कैलालीको पत्र आइसकेपछि गाउँ कार्यपालिकाको बैठक नबसेकाले ढुंगा दिने या नदिने विषयमा निर्णय नभइसकेको मोहन्याल गाउँपालिकाका कार्यवाहक अध्यक्ष पूजा बुढामगरले बताइन् ।

कर्णाली नदीको कटान रोक्न करिब ४० किलोमिटर तटबन्ध भइसकेको र करिब ५ किलोमिटर तटबन्ध निर्माण गर्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । सिँचाइ आयोजनाको कमान्ड एरियामा खेतीयोग्य जमिन बचाउन कर्णाली नदीबाहेक मोहना र पथरैया नदीमा पनि तटबन्ध निर्माण गरिएको सिँचाइ आयोजनाले जनाएको छ ।

बर्सेनि कर्णाली नदीको कटान र डुबानको समस्या भएपछि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले बस्ती बचाउन कर्णाली चिसापानीदेखि भारतको सिमानासम्म तटबन्ध निर्माणको काम गर्दै आएको छ । कर्णालीको किनारमा तटबन्ध हुँदै गएपछि पहिलाको जस्तो जोखिम नरहेको स्थानीय बताउँछन् । टीकापुर नगरपालिका–७ का भीम विकले भने, ‘सिँचाइले गरेको तटबन्धले बाढीबाट जोगिने र जग्गा पनि कटान र पटानबाट जोगिने आशा जागेको छ ।’

तटबन्ध नहुँदा कर्णाली र मोहना नदी किनारका बासिन्दा बर्सेनि वर्षायाममा बाढीबाट जोगिन सुरक्षित स्थानमा बसाइ सर्दै आएका थिए । बाढीका कारण कैलालीको पूर्वी भेगका गाउँ नै विस्थापित भइरहेका थिए । टीकापुर नगरपालिका–२ शाहीपुरको पूरै गाउँ विस्थापित भएर टीकापुरको वीरेन्द्र विद्या मन्दिरको जग्गा कब्जा गरी बसेको छ । कर्णाली नदी नियन्त्रणअन्तर्गत सिँचाइले आयोजना बनाएको तटबन्धले यो ठाउँ बाढीबाट सुरक्षित हुने जमरा कुलो जलउपभोक्ता समितिका अध्यक्ष लालवीर बताउँछन् । उनले भने, ‘बर्सेनि गाउँ नै विस्थापित भइरहेकोमा अबका दिनमा त्यो अवस्था नआउला ।’

प्रकाशित : श्रावण १०, २०७८ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?