यार्चा संकलन न्यून

मनोज बडू

दार्चुला — १२ वर्षदेखि यार्चागुम्बु संकलनबाट घरखर्च चलाउँदै आएका दार्चुलाको व्यास गाउँपालिका–५ का शेरसिंह धामीले यसपालि गत विगतका वर्षभन्दा कमसल खालको यार्चा पाएका छन् । वर्षभरिको खाद्यान्नदेखि घरायसी वस्तुको खर्च यार्चा संकलनबाट जोहो गर्दै आएका उनले यसपटक ३५ हजार मूल्यबराबरको मात्र यार्चा संकलन गरे । जबकि उनी यसअघिका वर्षमा डेढ/दुई लाख रुपैयाँ मूल्य बराबरका यार्चा संकलन गर्दै आएका थिए ।

यार्चा संकलन न्यून

दार्चुलाको अधिकांश हिमाली भेगका स्थानीय यसपाला निराश बनेर घर फर्किएको शेरसिंहले बताए । ‘यसपालि यार्चाको सिजन राम्रो भएन,’ धामीले भने, ‘उत्पादन पनि कम भयो, राम्रो खालको भेटिएन, दैनिक २५/३० वटा यार्चा पाउने मानिस ३ देखि ७ वटामा सीमित हुन पुगे ।’ उनका अनुसार यो वर्ष संख्यात्मक रूपमा संकलकहरूको पाटनमा कमी देखिएकाले धेरैले बढी यार्चा संकलन हुने सोचेका थिए । ‘यार्चा संकलनमा कमीसँगै यसको मूल्य पनि कमी आएको छ,’ उनले भने, ‘विगत वर्षमा १२/१५ लाख किलोमा खरिदबिक्री हुने यार्चा यो वर्ष ७/८ लाखमा पनि व्यापारीहरूले खरिद गरिरहेका छैनन् ।’ कमसल खालको भएकाले मूल्य राम्रो पाउन नसकेको उनले बताए ।

दुहु गाउँपालिका–५ का मानसिंह डडालले यो वर्ष ४५ हजार रुपैयाँको यार्चा टिपेका छन् । करिब डेढ महिनाको हिमाली पाटनको संघर्षपछि यार्चागुम्बु टिप्न जाँदा भएको खर्च कटाएर मात्र एक महिनाको घरखर्च बचाएका छन् । वर्षभरि यार्चा संकलनको कमाइमा निर्भर मानसिंह परिवारको बाँकी ११ महिनाको खर्च कसरी जोहो गर्ने भन्ने चिन्ता थपिएको छ । उनका अनुसार गत वर्ष उनको यार्चा संकलनबाट एक लाख ६५ हजार कमाइ भएको थियो । ‘यो वर्ष घरका तीन जनाले यार्चा संकलन गर्दा एक महिनाको घरखर्च मात्र मुस्किलले कमाउन सकियो,’ उनले भने ।

‘यो वर्ष गाउँमा अन्य काम पनि पाइरहेको छैन,’ उनले भने, ‘आम्दानी गर्ने बाटो छैन । कसरी घरपरिवार धान्ने हो ?’ यार्चा संकलन नै आफ्नो परिवारको मुख्य आयस्रोत भएकाले यो वर्ष खर्च धान्नै मुस्किल हुने उनले बताए ।

दार्चुलाका हिमाली क्षेत्रका बासिन्दाका लागि यार्चागुम्बु आर्थिक स्रोतको मुख्य आधार हो । खेतबारीमा लगाएको अन्नले तीन महिना नपुग्ने हिमाली क्षेत्रमा बसोबास गर्ने परिवार यार्चागुम्बु संकलनबाट वर्षभरिको खाद्यान्न जोहो गर्दै आएका छन् । यो क्रम पछिल्लो डेढ दशकदेखि चलिरहेको छ । आर्थिक रूपमा यार्चागुम्बु हिमाली क्षेत्रको बलियो आयस्रोत भएको छ ।

जोखिम मोलेर यहाँका स्थानीय यार्चा संकलन गरेर जीवन निर्वाह गर्दै आएको व्यास गाउँपालिका–६ स्थित हिमालय माविका शिक्षक हरकसिंह खातीले बताए । तर, पछिल्लो समयमा यार्चाको संकलन क्रमिक रूपमा घट्दै गएको छ । अव्यवस्थित रूपमा समयअगावै यार्चा संकलन गरिने हुनाले यसको संकलन घटेको हुन सक्ने खातीको भनाइ छ ।

‘हिमाली क्षेत्रका स्थानीयवासीको आर्थिक स्रोतको अन्य विकल्प नभएपछि अनुमतिबिनै यार्चागुम्बु संकलन गर्नुपर्ने उनीहरूको बाध्यता हो,’ शिक्षक खातीले भने, ‘हिमाली क्षेत्रका जनताको आयको प्रमुख स्रोत भनेकै जडीबुटी हो ।’ उनका अनुसार कोरोना महामारीका बीच पनि पेट पाल्नकै लागि पाटनतिर जानुपर्ने उनीहरूको रहर नभएर बाध्यता हो । रोगले भन्दा पनि भोकले मरिन्छ कि भन्ने चिन्ता हिमाली क्षेत्रका स्थानीयमा लागेको छ । यो वर्ष कोभिड–१९ को संक्रमणका कारण अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्चा संकलनका लागि अनुमति दिन ढिलो गर्‍यो ।

प्रकाशित : श्रावण ९, २०७८ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?