छाडा चौपायालाई रेडियम

रेडियमले नदेखिने समस्या कम भएर दुर्घटना घट्छ भन्ने अपेक्षा
भवानी भट्ट

कञ्चनपुर — पूर्व– पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगर बजार क्षेत्रकै शिव मन्दिरनजिकै बुधबार साँझ मोटरसाइकलले गाईलाई ठक्कर दियो । ठक्करबाट घाइते गाईको केही बेरमै मृत्यु भयो । मोटरसाइकलमा सवार व्यक्ति घाइते भएपछि उनलाई थप उपचारका लागि धनगढी रेफर गरियो । उनका अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

छाडा चौपायालाई रेडियम

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरकाअनुसार साउन महिनामा बिहीबारसम्म छाडा चौपायाका कारण ७ वटा दुर्घटनामा ११ जना घाइते भएका छन् । एक गाई मरेको छ । हरेक दिन साँझपख हुने दुर्घटनाको प्रमुख कारण छाडा चौपाया बनेका छन् । रातिको समयमा सडकमा ठूलो समूहमा जम्मा हुने छाडा चौपाया नदेखिने समस्याका कारण दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको बुझाइ छ ।

यसरी हुने दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छाडा चौपायामा रेडियम लगाउन सुरु गरेको छ । बिहीबार पूर्वपश्चिम राजमार्गको भासी क्षेत्रबाट छाडा चौपायामा रेडियम लगाउन सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले रेडियम लगाउने कार्यको शुभारम्भ गरेका हुन् ।

‘साँझपख र रातिको समयमा दुर्घटना बढेका छन्,’ एसपी चतुर्वेदीले भने, ‘यो अभियानले दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउने छ ।’ उनले रातिको समयमा यात्रा गर्नेहरूले पनि सचेत हुनुपर्ने बताए । सडकमा जताततै छाडा चौपाया भएकाले गति नियन्त्रित गरेर सवारीसाधन चलाउन सबैमा आग्रह गरे ।

जिल्ला ट्राफिक प्रहरीका अनुसार गत आर्थिक वर्षमा छाडा चौपायाका कारण १३ वटा दुर्घटना भएका छन् । जसमा ४ जनाको मृत्यु भएको छ । ५ चौपाया मरेका छन् । ९ जना गम्भीर घाइते भएका छन् । ‘अधिकांश दुर्घटना रातिको समयमा चौपाया नदेखेर भएका छन्,’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशवदत्त भट्टले भने, ‘रेडियमले नदेखिने समस्या कम हुन्छ, त्यसपछि दुर्घटना पनि कम हुने हाम्रो अपेक्षा हो ।’ उनले महेन्द्रनगर बजारसंँगै आसपासका क्षेत्रमा छाडा चौपाया बढ्दै गएका कारण दुर्घटना पनि बढ्न सक्ने देखिएको बताए ।

‘सवारीसाधन गुड्ने सडकमा चौपाया भरिएका छन्, यसले यात्रा गर्न मात्रै अप्ठेरो भएको छैन जोखिम पनि निम्त्याएको छ,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले भने, ‘यसले यात्रु र चौपाया दुवैलाई जोगाउन मद्दत पुग्नेछ तर यो नै अन्तिम समाधान भने होइन ।’ उनले छाडा चौपायाको व्यवस्थापनमा पनि सबैले ध्यान दिनुपर्ने बताए । स्थानीय तहको निर्वाचनपछि पालिकाहरूले छाडा चौपायाको व्यवस्थापनमा ठूलो रकम खर्चेका छन् । तर अवस्था फेरि उस्तै बन्न पुगेको छ । स्थानीयले गाई गोरु छाड्ने क्रम नरोकिएका कारण छाडा चौपायाको व्यवस्थापन जनप्रतिनिधिका लागि समेत चुनौतीको विषय बनेको छ ।

छाडा चौपायाका कारण कृषकहरूसमेत हैरान भएका छन् । दिनभरि सडक र चोक चौराहामा बस्ने चौपाया राति खेतबारीमा पस्ने भएकाले बाली जोगाउनै मुस्किल भएको कृषकहरू बताउँछन् । आफ्नो खेतमा तारबार लगाए पनि गाईगोरुबाट जोगाउन नसकिएको उनीहरू बताउँछन् ।

प्रकाशित : श्रावण ९, २०७८ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?