कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

एन्टिजेन परीक्षणबाट भारत छिर्न अनुमति

धारचुला पस्दा भारतीय स्वास्थ्यकर्मीबाटै परीक्षण, गड्डाचौकीबाट जाँदा नचाहिने
मनोज बडू, भवानी भट्ट

दार्चुला/कञ्चनपुर — भारतले कोरोना परीक्षणबिना प्रवेश गर्न रोक लगाएपछि कुनै नाकामा आफैं परीक्षणको व्यवस्था गरेको छ । कुनै नाकामा भने रिपोर्टबिनै आउजाउ गर्न दिएको छ ।

एन्टिजेन परीक्षणबाट भारत छिर्न अनुमति

दार्चुलाको सीमापारि भारत पिथौरागढ जिल्लाको धारचुलामा झोलुंगे पुलछेवैमा हेल्थ डेस्क राखिएको छ । उक्त डेस्कमा परीक्षण गरेरमात्र भारतीय सुरक्षाकर्मीले नेपाली कामदारलाई प्रवेश अनुमति दिने गरेको छ ।

सीमावर्ती धारचुला र त्यहाँबाट भारतका अन्य ठाउँ जानेलाई परीक्षण अनिवार्य गरिएको छ । परीक्षण भने भारतीय हेल्थ डेस्कले नै गरेको छ । यसअघि गत असारसम्म पनि धारचुला प्रवेशमा नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य थियो । भारतको उत्तराखण्ड राज्य सरकारले अन्य राज्यबाट प्रदेश गर्दा ७२ घण्टाभित्रको कोरोना नेगेटिभ भएको रिपोर्ट हुनुपर्ने व्यवस्था स्वास्थ्य निर्देशिकामा गरेको छ । उक्त निर्देशिकाअनुसार धारचुला तहसिलले नेपाल–भारत जोड्ने झोलुंगे पुलमा जाँचको व्यवस्था गरेको हो ।

नाकामा भारतीय स्वास्थ्यकर्मीले नेपालीको एन्टिजेन परीक्षण गरिदिएर जान दिने गरेको खलंगाको पुलघाटका प्रहरी इन्चार्ज गगनसिंह भाटले बताए । ‘पारि एन्टिजेन परीक्षण गरेर मात्र अगाडि जान दिइरहेको छ,’ उनले भने, ‘एन्टिजेन नेगेटिभ नभए फर्काइदिने गरेको छ ।’ नाका खुकुलो गरिएयता अहिलेसम्म दुई जना फिर्ता आएको उनले बताए ।

यतिबेला सुदूरपश्चिमका विभिन्न जिल्लाबाट दार्चुला हुँदै युवा कामको खोजीमा भारतका विभिन्न सहरतर्फ गइरहेका छन् । ‘बिहान बेलुकाको छाक टार्न समस्या भयो, बालबच्चा पाल्नैका लागि भारत नै जानुपर्ने बाध्यता छ,’ शैल्यशिखर–४ का रञ्जित बोहराले भने, ‘गाउँघरमा रोजगारी पाइएन, परिवार पाल्न भारतमा गएर मजदुरी गर्नै परेको छ ।’

यो नाकाबाट दार्चुलासँगै, बैतडी, बझाङ, बाजुरा, कालीकोट, जाजरकोटलगायत जिल्लाका बासिन्दा भारतका विभिन्न ठाउँ जाने गरेका छन् । सडक निर्माण, भारी बोक्ने काम गर्नेहरू सीमावर्ती पिथौरागढलगायत पहाडी क्षेत्रमा मजदुरी गर्न गइरहेको बैतडीको पुर्चौडीका जयभान ऐरले बताए । ‘वर्षौंदेखि इन्डियाका विभिन्न ठाउँमा मजदुरी गरेर घरधन्दा चलाइरहेका छौं,’ उनले भने । कोरोना महामारी कम हुँदै गएपछि भारतमा काम पाइने ठाउँ खुल्न थालेको उनले बताए । भारतमा सार्वजनिक यातायात र रेल सेवा सञ्चालनमा आएपछि विभिन्न सहर आउजाउ सहज हुन थालेको छ ।

उता कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत जान अनिवार्य गरिएको कोरोना परीक्षण रिपोर्टको व्यवस्था हटाइएको छ । सीमामा भारततर्फको हेल्थ डेस्कले गत शुक्रबारदेखि परीक्षण नगराएकालाई पनि जान दिन थालेको हो । सशस्त्र प्रहरीको झलारीस्थित गणका एसपी वीरेन्द्र ऐरका अनुसार शुक्रबारदेखि परीक्षणबिना पनि भारततर्फ जान दिन थालिएको हो । यसअघि परीक्षणबिना भारततर्फ पस्न पूर्णरूपमा रोक लगाइएको थियो । ‘अब गड्डाचौकी नाकाबाट पनि भारततर्फ जान सहज भएको छ,’ एसपी ऐरले भेन, ‘रोजगारी, उपचार र पेन्सनका लागि वारिपारि गर्नेहरू थुप्रै हुन्छन् ।’

गड्डाचौकी नाकाबाट करिब तीन सयभन्दा बढी नेपाली रोजगारी, उपचार र पेन्सनका लागि भारततर्फ जाने गरेका छन् । सशस्त्र प्रहरीका अनुसार अहिले गड्डाचौकी नाकाबाट दैनिक ४/५ सय जना भारत पस्ने गरेका छन् । तीमध्ये आधाभन्दा बढी सीमावर्ती बजारमा उपचार, किनमेल र पेन्सन बुझ्न जाने गरेका हुन् ।

यसअघि गड्डाचौकी नाकाबाट भारत पस्न परीक्षण अनिवार्य गरिँदा रोजगारी र उपचारलगायत विभिन्न कामका लागि जानेहरूलाई निकै समस्या थियो । सुदूरपश्चिमको दुर्गम पहाडी जिल्लाबाट आएकाहरू परीक्षण रिपोर्ट नभएकै कारण नाकाबाट फर्किनुपर्ने बाध्यता थियो ।

नाकामा परीक्षण रिपोर्टबिना नै जान दिएपछि स्थानीय पनि किनमेलका लागि पारिको बजार बनबासासम्म पुग्न थालेका छन् । ‘अहिले केही सजिलो भएको छ, उपचारका लागि जान पनि निकै गाह्रो थियो,’ भीमदत्त–१० गड्डाचौकीका नरेन्द्र कार्कीले भने, ‘कम्तीमा पैदलै भए पनि पारिसम्म जान दिएको छ ।’ अहिले पनि नाकामा आउजाउ गर्नेलाई सवारीसाधन भने ल्याउन, लैजान दिइएको छैन । नेपालतर्फ भित्रिने भारतीय नागरिकको हकमा परीक्षण रिपोर्टसँगै गृह मन्त्रालयको स्वीकृति अनिवार्य गरिएको छ ।

प्रकाशित : श्रावण ८, २०७८ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?