कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोलानाला अतिक्रमणले बस्ती डुबान

मोहन बुढाऐर

धनगढी — सातायताको निरन्तरजसो वर्षाले धनगढीका केही बस्ती डुबानमा परेका छन् । पानी निकासबारे भएको विवाद बढेपछि मंगलबार स्थानीय र सुरक्षाकर्मीबीच भएको झडपमा दुवैतर्फ घाइते भए ।

खोलानाला अतिक्रमणले बस्ती डुबान

धनगढी उपमहानगरपालिका ३ को हाटबजार विद्युत् सव–स्टेसनलगायतका क्षेत्रमा जमेको पानी निकास गर्ने क्रममा वडा २ का बासिन्दा र सुरक्षाकर्मीबीच झडप भएको थियो ।

प्रहरीले ५७ राउन्ड अश्रुग्यास र हवाई फायर खोल्नुपरेको थियो । स्थानीयको ढुंगामुडा प्रहारबाट ७ प्रहरी र ६ सशस्त्र प्रहरीलाई चोट लागेको थियो । वडा ३ मा जमेको पानीको आफ्नो बस्तीतर्फ निकास गरेर डुबान गर्न लागिएको वडा २ का स्थानीयको गुनासो हो । तर वडा ३ का अध्यक्ष बलबहादुर ऐरले पानीको प्राकृतिक निकासको बाटो थुनिएको कारण प्रहरी प्रशासनको सहयोग लिनुपरेको बताए । अध्यक्ष ऐरका अनुसार धनगढी त्रिनगर भन्सार ६ लेन सडकको मित्रनगरको कल्भर्ट वडा नम्बर २ नम्बरका बासिन्दाले थुनिदिएका थिए ।

वडा नम्बर २ का वडा अध्यक्ष नरबहादुर बमले वडा ३ बाट बग्ने पानीले आफ्नो वडाको बस्ती डुबानमा परेकाले कल्भर्ट थुनेको बताए । ‘कर्ल्भट थुन्दा विद्युत्को सव–स्टेसन पनि डुब्ने भएपछि खोल्ने कुरामा सहमत भइयो,’ उनले भने, ‘तर वडा नम्बर ३ बाट आउने पानीको निकास मोहना नदीतिर बगाउन नाला खनिने कामलगत्तै सुरु गर्ने भनिएको छ ।’ उनले यसका लागि धनगढी उपमहानगरबाट २ करोड बजेट पनि विनियोजन भइसकेको बताए । अपुग रकम केन्द्र र प्रदेश सरकारबाट माग्ने बताए ।

बर्खाको पानीको निकास गर्ने विषयमा धनगढी बजार क्षेत्रका ती दुवै वडाबीचमा मात्रै विवाद सिर्जना भएको छैन, वडा नम्बर ३ र ४, वडा नम्बर १३ बाट ३ मा बग्ने बर्खाको पानीले डुबानमा पर्ने भएकाले स्थानीयबीच जहिले पनि विवाद हुने गरेको छ । पछिल्ला वर्षमा प्रदेश राजधानी धनगढी बजार सामान्य वर्षामा समेत डुबानमा पर्न थालेको छ । नगर क्षेत्रभित्रका खोलानाला अतिक्रमण र ढलनालीको व्यवस्था हुन नसक्दा प्रदेश राजधानी डुबानमा पर्दै आएको नगरवासीको भनाइ छ । ढल तथा नालीको पानी थुनिएर माथि निस्केको फोहोरले बजार क्षेत्रसमेत दुर्गन्धित पारेको नगरवासीको भनाइ छ । ‘ढल तथा नालीको राम्रो प्रबन्ध गर्न नसक्दा बजार क्षेत्र डुब्ने गरेको हो,’ ऋषि स्टेसनरीका हरि पौड्यालले भने, ‘पुरानै नाली पनि सफा गरेका छैनन ।’ एकातिर ढल तथा नाली नभएर बजारका मुख्य सडक जलमग्न हुने गरेको छ भने अर्कोतिर बर्खाको पानी निकास नभएर धनगढी एउटा वडा र बस्तीबाट अर्कोमा पसेर डुबानको समस्या सिर्जना हुने गरेको स्थानीय सिद्धराज भट्टले बताए ।

‘धनगढीको खोलानाला अतिक्रमण भएका छन्, प्राकृतिक रूपमा बग्ने पानीको निकास बस्ती विकासले थुनिएका छन,’ उनले भने, ‘पानी निकास र ढलनाला निर्माणमा लगानी नगर्दा डुबानको समस्या आएको हो ।’ त्यस्तै, ४ नम्बर वडाका स्थानीय सुरेन्द्र विष्टले पानीको प्राकृतिक बहाव थुनिने गरी नगर विकासले जग्गा वितरण गरेपछि समस्या सिर्जना भएको बताए ।

प्रकाशित : श्रावण ८, २०७८ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?