१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अछाममा ३७ हजारलाई खोप

मेनुका ढुंगाना

अछाम — अछाममा हालसम्म ३७ हजार बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । गत वर्षको माघ १४ गतेदेखि पहिलो चरणको अभियान सुरु भएको थियो । कोरोनाविरुद्धको पहिलो र दोस्रो चरणको खोप अभियान अछाम जिल्लामा सम्पन्न भएको छ ।

अछाममा ३७ हजारलाई खोप

केही दिनमा तेस्रो चरणमा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए । पहिलो चरणमा खोप लगाएकाहरूले दोस्रो डोज लगाइरहेका छन् । पहिलो चरणमा फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखिएको थियो । जसमा करिब १५ सय जनालाई उक्त खोप लगाइएको छ ।

अभियानको दोस्रो चरणमा १७ सय ९३ जनाले कोभिसिल्ड खोप लगाएका हुन् । तेस्रो चरणमा सबैभन्दा धेरै १७ हजार २ सय ८६ जनाले खोप लगाएको ढुंगानाले बताए । दोस्रो चरणमा अग्रपंक्तिमा खटेर सेवा प्रवाह गर्दै आएका सञ्चारकर्मी, सुरक्षाकर्मी, निजामती कर्मचारी, पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी, एम्बुलेन्सकर्मी, सफाइकर्मीलगायतको क्षेत्रका कार्यरतलाई लगाइएको थियो ।

‘तेस्रो चरण फागुन २३ गतेदेखि चैत १५ गतेसम्म सञ्चालन भएको थियो । यो अभियानमा ५५ वर्षमाथिको उमेर समूहकाले लगाए’ स्वास्थ्य प्रमुख ढुंगानाले भने । अछामका १० वटा स्थानीय तहमध्ये तुर्माखाँद, कमलबजार, पञ्चदेवल विनायक, ढकारी र रामारोशन गरी ५ स्थानीय तहका ५५ वर्षभन्दा माथिकाले कोभिसिल्ड खोप लगाउन पाएका हुन् । तर, मंगलसेन, बान्नीगढी, साँफेबगर, चौरपाटी, मेल्लेख गरी ५ स्थानीय तहमा भने कोभिसिल्ड अपुग भएपछि ६५ वर्षभन्दा माथिकाले मात्रै खोप लगाएको ढुंगानाले बताए ।

तेस्रो चरणमा सबै ज्येष्ठ नागरिक, सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, सार्वजनिक सवारीका चालक, सहचालक र पहिलो चरणमा खोप लगाउन छुटेका सबैलाई लगाइएको उनले बताए । जल्लामा पहिलो चरणमा कोभिसिल्ड खोप लगाएकामध्ये हालसम्म ३२ सय ८ जनाले मात्रै दोस्रो डोज खोप कोभिसिल्ड लगाएका छन् । पछिल्लो समयमा आएको खोप भेरोसेल ३ हजार ६ सय ३० जनाले पहिलो डोज लगाएका छन् । ‘पहिलो चरणमा खोप लगाउन आग्रह गर्दा सबैमा डर देखिएको थियो । तर अहिले खोप लगाउँदैनौं भन्ने कोही छैन,’ स्वास्थ्य प्रमुख ढुंगानाले भने,’ अहिलेको रफ्तारमा खोप लगाउने हो भने सबै अछामका बासिन्दाले खोप पाउन कम्तीमा १ वर्षसम्म लाग्न सक्छ ।’

प्रकाशित : श्रावण ८, २०७८ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?