कञ्‍चनपुरमा निषेधाज्ञा १० दिन थपियो- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कञ्‍चनपुरमा निषेधाज्ञा १० दिन थपियो

भवानी भट्ट

कञ्चनपुर — कोरोना संक्रमण न्यूनिकरणका लागि जारी गरिएका निषेधाज्ञा १० दिन थपिएको छ । बिहीबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले यसअघिकै निर्णयलाई निरन्तरता दिँदै साउन १७ सम्म निषेधज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार अत्यावश्यक बाहेकका व्यापार व्यवसाय तथा पसलहरु बिहान ६ देखि साँझ ६ बजेसम्म खुला रहनेछन् । सार्वजनिक सवारी साधनहरु पनि बिहान ६ देखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछन् ।

जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि वैशाख १६ देखि निषेधाज्ञा लागू गरिएको हो । संक्रमण दर कम हुन थालेपछि असार दोस्रो साताबाट निषेधाज्ञा खुकुलो पारिएको हो ।

हालसम्म कञ्चनपुरमा कोरोना संक्रमणबाट १८८ जनाको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमणबाट मात्रै १७२ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित : श्रावण ७, २०७८ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्

पुष्पलालले रोपेको बिरुवालाई मर्न दिने छैनौं : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका असन्तुष्ट पक्षलाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आन्दोलन मजबुत पार्न एकताका लागि आह्वान गरेका हुन् । 

एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष ओलीप्रति असन्तुष्ट बनेको छ ।

'अहिले को कहाँ छौं भन्ने छोडौं । देश, जनताका कुरा गरौं । बाटो बिराएर भड्किएका साथीहरुलाई भन्न चाहन्छु । आउनुस् मिलेर काम गरौं, यस आन्दोलनलाई मजबुद पारौं । एकजुट भएर जाऔं,' अध्यक्ष ओलीले भने, 'यस आन्दोलनले ठूलो क्षति व्यहोरेको छ, फेरि एकजुट भएर अगाडि बढौं ।'

'पुष्पलालले रोपेको बिरुवालाई मर्न दिने छैनौं । यो बिरुवा सानोतिनो हावाहुरीले ढालीहाल्ने हैन । पुष्पलालले रोपेको बिरुवालाई मदन भण्डारीले स्याहारसुसार गरेर वैचारिक ढंगले अद्यावधिक, प्रवलीकरण गरेर जसरी अगाडि बढेको छ,' अध्यक्ष ओलीले भने, 'विशाल, मजबुद, राष्ट्रव्यापी...जहाँ-जहाँ नेपाली पुग्छन्, त्यहाँ एमाले पुग्छ ।'

तत्कालीन प्रधानमन्त्री रहेका ओलीले आफ्नो नेतृत्वको सरकार बनेदेखि नै ढाल्न प्रयास गरिएको उल्लेख गर्दै सरकार ढले पनि एमाले संसद् र आन्दोलनमा प्रमुख पार्टी रहेको बताए । 'दुनियाँ लागेर पनि खुट्टा हल्लाउन नसकेपछि परमादेशबाट ढालियो । अहिले जेसुकै जहाँसुकैबाट ढाले पनि संसद्‌मा एमाले प्रमुख पार्टी हो । प्रदेश, स्थानीय तह, राष्ट्रिय सभामा एमाले प्रमुख पार्टी हो । यो आन्दोलन लोकतान्त्रिक आन्दोलनको प्रमुख पार्टी हो,' उनले थपे, 'यसले जहिले पनि अग्रगामी विचार लिन्छ ।'

प्रकाशित : श्रावण ७, २०७८ १६:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×