टीकापुरमा घण्टाघर

गणेश चौधरी

टीकापुर — सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीले कैलालीको टीकापुर नगरपालिका–१ मा ३ करोड २६ लाख लगानीमा घण्टाघर निर्माण गरेको छ । पर्यटक आकर्षित गर्न घण्टाघर बनाइएको हो ।

टीकापुरमा घण्टाघर

घण्टाघरलाई भ्यु टावरका रूपमा पनि प्रयोग गर्न सकिने गरी निर्माण गरिएको छ । यहाँबाट टीकापुरको अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ । २६ मिटर उचाइ रहेको यो घण्टाघरबाट टीकापुर क्षेत्रको अवलोकन गर्ने सकिने भनिएको छ । घण्टाघरको उचाइ भने कम रहेको स्थानीयको गुनासो छ ।

घण्टाघर नजिकै घर भएकी स्थानीय निर्मला कडायतले खानेपानी ट्यांकीभन्दा पनि कम उचाइको रहेकाले टीकापुर अवलोकन सम्भव नभएको बताइन् । उनले भनिन्, ‘घण्टाघरमाथि चढेर वरिपरिका केही घर मात्र हेर्न सकिन्छ । दुई तीन तला अरू अग्लो भएको भए राम्रो हुन्थ्यो ।’

सहरी विकास कार्यालय धनगढीका सूचना अधिकारी झंकर थापाले घण्टाघरको डिजाइनअनुसार नै बनाइएको बताए । उनले भने, ‘टीकापुरमा धेरै अग्ला घर छैनन् । भ्यु टावरबाट मजाले टीकापुर हेर्न सकिन्छ जस्तो लाग्छ ।’

पहिलो चरणमा भ्यु टावर र घडीको व्यवस्था गरिएको उल्लेख गर्दै उनले दोस्रो चरणमा स्विमिङ पुल बनाउने योजना भएको बताए । ‘क्यान्टिन हुन्छ, पर्यटकका लागि रिफ्रेस हुने स्थान हुनेछ । नगरपालिकालाई आम्दानीको स्रोत बन्छ,’ उनले भने । घण्टाघरमा राखिएको घडी पनि निकै सानो भएकाले समय हेर्न पनि गेटमै जानुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । स्थानीय निर्मला कठायतले भनिन्, ‘भित्तेघडीजस्तो देखिन्छ । घडीको साइज पनि अलि ठूलो भएको भए समय हेर्न पनि सजिलो हुने र अलि आकर्षक पनि हुन्थ्यो ।’ कतिपय स्थानीयले सामाजिक सञ्जालमा पनि घडीको साइज सानो भएको गुनासो गरेको सूचना अधिकारी थापाले बताए । ‘एक मिटर डायमिटरको घडीको साइज हो । यो विषयमा नगरपालिकासित छलफल गरेर घडी फेर्न सकिन्छ तर फेरि अर्को इस्टिमेट बनाउनुपर्छ,’ उनले भने । घण्टाघर उक्लिन सिँढी बनाइएको छ । ज्येष्ठ नागरिक र अपांगता भएका र अशक्तका लागि लिप्ट भइदिए राम्रो हुने स्थानीय बताउँछन् ।

प्रकाशित : श्रावण ७, २०७८ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?