कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

५ अर्ब बजेट फ्रिज

राष्ट्रिय गौरव तथा बहुवर्षीय आयोजनाको मात्रै ३ अर्ब बढी खर्च भएन
मोहन बुढाऐर

धनगढी — संघीय सरकारबाट कार्यान्वयन हुने सबै सरकारी कार्यालयका गरी ५ अर्ब बढी बजेट फ्रिज भएको छ । कैलालीमा सञ्चालित राष्ट्रिय गौरव तथा बहुवर्षीय ठूला आयोजनाको मात्रै ३ अर्ब बढी बजेट फ्रिज छ ।

५ अर्ब बजेट फ्रिज

कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीका अनुसार १० ठूला आयोजनाको कुल बजेट रकम ९ अर्ब ४२ करोड बढी रहेकामा ५ अर्ब ४७ करोड मात्रै खर्च भएको छ । चालुतर्फ ९६ प्रतिशत बढी खर्च गरेका आयोजनाले विकासतर्फ भने करिब ५६ प्रतिशत मात्रै खर्च गरेका हुन् ।

चालु आर्थिक वर्षमा कोभिड र अन्य प्राविधिक समस्या भएर अपेक्षागत प्रगति गर्न नसकेको आयोजना कार्यालयहरूले जनाएका छन् । तर, अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा प्रगति भएको उनीहरूको भनाइ छ ।

सबैभन्दा कम संघीय आयोजना कार्यान्वयन इकाईको २० प्रतिशत खर्च भएको छ । आयोजनाका इन्जिनियर झंकबहादुर थापाले धनगढी बजार, भीमदत्त नगरपालिकाको महेन्द्रनगर, शुक्लाफाँटाको झलारी र गोदावरी नगरपालिकाको अत्तरियामा फोहोर व्यवस्थापन केन्द्रको बजेटको रकम कम खर्च भएको बताए । ‘एसियाली विकास बैंकको ऋण सहयोगमा फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि एकमुष्ट २ अर्ब बढी रकम आएको थियो,’ उनले भने, ‘बहुवर्षीय रूपमा सम्पन्न हुने योजना हो । त्यसैले चालु वर्षमा २० प्रतिशत मात्रै काम भएको देखिएको हो ।’ उनले बजेट फ्रिज भए पनि तुरुन्तै बजेट पुनः आउने बताए ।

उनले भने, ‘हाम्रो लक्ष्य चालु वर्षमा २५ प्रतिशत जति काम सम्पन्न गर्ने थियो, कोरोनालगायतका अन्य समस्याले पूरा गर्न सकिएन ।’ राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाले चालु वर्षमा विकासतर्फ ५४ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । विकास बजेटको २ अर्ब २२ करोड बढी रकममा करिब एक अर्ब फ्रिज गएको छ । रानी जमराकै कृषितर्फ पनि ६३ प्रतिशत मात्रै खर्च भएको छ ।

कृषि कार्यक्रमतर्फको कुल बजेट १७ लाख बढी रहेकामा १० लाखको हाराहारीमा मात्रै खर्च भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापनको विकासतर्फको कुल बजेट ५५ करोडमध्ये ३४ करोड मात्रै खर्च भएको छ । उक्त खर्च ६१ प्रतिशत मात्रै हो । सहजपुर–बोग्टान–दिपायल सडकको यो वर्षका लागि विनियोजित भएको कुल बजेट १ अर्ब १२ करोडमध्ये ५५ करोड ७१ लाख बढी रकम मात्रै खर्च भएको छ । यो प्रतिशतमा ५० हाराहारी मात्रै हो ।

प्रकाशित : श्रावण ७, २०७८ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?