५ अर्ब बजेट फ्रिज- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५ अर्ब बजेट फ्रिज

राष्ट्रिय गौरव तथा बहुवर्षीय आयोजनाको मात्रै ३ अर्ब बढी खर्च भएन
मोहन बुढाऐर

धनगढी — संघीय सरकारबाट कार्यान्वयन हुने सबै सरकारी कार्यालयका गरी ५ अर्ब बढी बजेट फ्रिज भएको छ । कैलालीमा सञ्चालित राष्ट्रिय गौरव तथा बहुवर्षीय ठूला आयोजनाको मात्रै ३ अर्ब बढी बजेट फ्रिज छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीका अनुसार १० ठूला आयोजनाको कुल बजेट रकम ९ अर्ब ४२ करोड बढी रहेकामा ५ अर्ब ४७ करोड मात्रै खर्च भएको छ । चालुतर्फ ९६ प्रतिशत बढी खर्च गरेका आयोजनाले विकासतर्फ भने करिब ५६ प्रतिशत मात्रै खर्च गरेका हुन् ।

चालु आर्थिक वर्षमा कोभिड र अन्य प्राविधिक समस्या भएर अपेक्षागत प्रगति गर्न नसकेको आयोजना कार्यालयहरूले जनाएका छन् । तर, अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा प्रगति भएको उनीहरूको भनाइ छ ।

सबैभन्दा कम संघीय आयोजना कार्यान्वयन इकाईको २० प्रतिशत खर्च भएको छ । आयोजनाका इन्जिनियर झंकबहादुर थापाले धनगढी बजार, भीमदत्त नगरपालिकाको महेन्द्रनगर, शुक्लाफाँटाको झलारी र गोदावरी नगरपालिकाको अत्तरियामा फोहोर व्यवस्थापन केन्द्रको बजेटको रकम कम खर्च भएको बताए । ‘एसियाली विकास बैंकको ऋण सहयोगमा फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि एकमुष्ट २ अर्ब बढी रकम आएको थियो,’ उनले भने, ‘बहुवर्षीय रूपमा सम्पन्न हुने योजना हो । त्यसैले चालु वर्षमा २० प्रतिशत मात्रै काम भएको देखिएको हो ।’ उनले बजेट फ्रिज भए पनि तुरुन्तै बजेट पुनः आउने बताए ।

उनले भने, ‘हाम्रो लक्ष्य चालु वर्षमा २५ प्रतिशत जति काम सम्पन्न गर्ने थियो, कोरोनालगायतका अन्य समस्याले पूरा गर्न सकिएन ।’ राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाले चालु वर्षमा विकासतर्फ ५४ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । विकास बजेटको २ अर्ब २२ करोड बढी रकममा करिब एक अर्ब फ्रिज गएको छ । रानी जमराकै कृषितर्फ पनि ६३ प्रतिशत मात्रै खर्च भएको छ ।

कृषि कार्यक्रमतर्फको कुल बजेट १७ लाख बढी रहेकामा १० लाखको हाराहारीमा मात्रै खर्च भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापनको विकासतर्फको कुल बजेट ५५ करोडमध्ये ३४ करोड मात्रै खर्च भएको छ । उक्त खर्च ६१ प्रतिशत मात्रै हो । सहजपुर–बोग्टान–दिपायल सडकको यो वर्षका लागि विनियोजित भएको कुल बजेट १ अर्ब १२ करोडमध्ये ५५ करोड ७१ लाख बढी रकम मात्रै खर्च भएको छ । यो प्रतिशतमा ५० हाराहारी मात्रै हो ।

प्रकाशित : श्रावण ७, २०७८ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्

चौंरी गोठमै फर्किंदै व्यवसायी

बैंकले ऋण नपत्याउँदा व्यवसाय बढाउन समस्या
आनन्द गौतम

ताप्लेजुङ — १२ वर्षअघि फक्ताङलुङ गाउँपालिका–६ लेलेप घुन्साका छेतेन डण्डु शेर्पाका १ सय ३५ चौंरी थिए । बाजे बराजुका पालादेखिको गोठलाई उनले निरन्तरता दिँदै आएका थिए । कञ्चनजंघा संरक्षण क्षेत्र ब्यवस्थापन परिषद्को उपाध्यक्ष भएपछि छेतेनले गोठमा समय दिन भ्याएनन् ।

ताप्लेजुङको हिमाली क्षेत्रमा पालिएका चौंरीका गोठ । पाँचथरको फालोटमा हुने चौंरी महोत्सवमा ताप्लेजुङ र पाँचथरका गोठ भेला हुने गरका छन् । तस्बिर : कान्तिपुर

कञ्चनजंघामा विदेशी पर्यटक ल्याउने र लेक औल नगरी होटलमै बसेर आयआर्जन गर्ने सोचपछि उनले पूरै गोठ बेचेर गेस्ट हाउस सञ्चालनमा ल्याए । तर दुई वर्षयताको पर्यटकीय गतिविधि ठप्पले उनलाई चौंरी गोठतिरै फर्काएको छ । गत वर्षदेखि सुरु गरेको गोठमा अहिले ४२ वटा चौंरी भइसकेका छन् ।

काठमाडौंको ठमेलमा कार्यालय राखेर हिमाल आरोहण गराउँदै आएका छवाङ शेर्पा पनि लेलेपको ग्याब्लामा छन् । कञ्चनजंघा क्षेत्रकै नमुना होटल बनाएका उनको योजना घुन्सा, खम्बाछेन, रामजेललगायत पर्यटकीय मार्गमा होटल बनाउनु थियो । बाबुबाजेको परम्परागत व्यवसाय चटक्क छोडेर काठमाडौं पसेका उनी अहिले पुर्ख्यौली पेसामा फर्किएका छन् । ग्याब्लाका उनले ७० बढी चौंरी जोडेका छन् । त्यसको रेखदेख र हेरचाहका लागि तीन जना कर्मचारी राखेका छन् ।

छेतेन डण्डु र छवाङ मात्रै नभएर पर्यटकीय क्षेत्रका अधिकांशको चाहना चौंरीपालनतिर फर्किएको छ । पशुपालनका लागि गाउँपालिकामा दर्ता गराएका छेतेन डण्डु बैंकले ऋणदिए गाउँका हरेक व्यक्ति फर्कने बताउँछन् । ‘मैले त ४२ वटा चौंरी हेर्न चार जना कर्मचारी नै राखेको छु,’ छेतेन डण्डुले थपे, ‘तर व्यवसाय बढाउने लगानीको उपाय नै छैन ।’

गाउँपालिकाको केन्द्र तापेथोकदेखि सदरमुकाम फुङलिङसम्मका बैंकमा धाउँदा ऋण पाउने आधार नभेटेको छेतेन बताउँछन् । ‘सदरमुकामको धितो खोज्छन्,’ छेतेन डण्डुले भने, ‘बजारमा प्रोपर्टी छैन, घुन्साको धितो र चौंरी राखेर ऋण दिन मानेका छैनन् ।’ इच्छा र सम्भावना भएर पनि राज्यको विभेदकारी नीतिका कारण व्यवसायी बन्न नसकेको उनको गुनासो छ ।

बाँधेर पाल्नु नपर्ने, खर्कमा छोडिदिए पुग्ने चौंरी पालनबाट बाहिरिएको समुदायलाई फर्काउन सके हिमाली गोठ फेरि चौंरीले भरिने फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङ बताउँछन् । तर यसका लागि बैंकले निर्धक्क भएर ऋण दिन सक्नुपर्छ । ‘शेर्पा जाति बेइमानी हुँदैन, ऋणदेखि डराउँछ,’ छेतेनले थपे, ‘बैंकले विश्वास गरेर ऋण लगानी गरिदिए सबै आफ्नो पुर्ख्यौली व्यवसायमा फर्कन्छन् र त्यसैबाट कमाएर तिर्छन् पनि ।’

केहीलाई जंगली जनावरले आक्रमण गर्ने, हिउँले केही असर गर्नेबाहेक अहिलेसम्म पशुपालनमा जोखिम नरहेको छेतेन बताउँछन् । फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पा भोटे स्थानीय तहको सानो अनुदानले राहत नपुर्‍याउने बताउँछन् । राहत, अनुदानभन्दा पनि ऋण दिए सबैभन्दा राम्रो हुने उनको तर्क छ ।

सदरमुकाम फुङलिङबाट यातायात पुग्दै गएको र चीनसँग पनि सडकले जोडिएकाले चौंरी पालन अब लाभदायी हुने स्थानीयको बुझाइ छ । भोटेका अनुसार चौंरीबाट उत्पादन हुने कुनै पनि सामग्रीको बजार अभाव छैन । सबैभन्दा धेरै चौंरीको घिउको हुन्छ । चीनमा घिउ प्रतिकिलो एक हजार रुपैयाँले बिक्छ । मोहीबाट बनाइएको छुर्पीको पनि उत्तिकै माग छ ।

प्रकाशित : श्रावण ७, २०७८ ११:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×