पढाइको विकल्प नहुँदा विद्यार्थीलाई कठिन

विद्यालय बन्द हुँदा बालबालिका किताब हेर्न मान्दैनन्
मनोज बडू

दार्चुला — कोराना महामारी फैलिएकाले गत वर्षदेखि विद्यार्थीको नियमित पढाइ भएको छैन । पढाइको वैकल्पिक व्यवस्था नहुँदा विद्यार्थीहरू समस्यामा परेका छन् ।

पढाइको विकल्प नहुँदा विद्यार्थीलाई कठिन

‘ग्रामीण भेगका विद्यार्थीको नियमित पढाइ विद्यालयमा हुने गर्थ्यो । गत वैशाखदेखि नियमित पढाइ हुने थलोहरू बन्द छन्,’ महाकाली नगरपालिका–१ का अभिभावक कम्मान कुँवरले भने, ‘विद्यालय सञ्चालन भएपछि पढ्ने बानी बनाएका बच्चाहरू विद्यालय बन्द हुँदा किताब हेर्न पनि मान्दैनन् ।’

कोरोना महामारी सुरु भएयता गत शैक्षिक सत्रमा ८ महिना विद्यालय बन्द भए । चालु सत्रमा तीन महिनादेखि विद्यालय बन्द छन् । गत शैक्षिक सत्र नै पूरा नगरी विद्यालय बन्द गरिएपछि आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गरिएको थियो । असार सुरुवातदेखि विद्यालयहरूले विद्यार्थी भर्ना सुरु गरेका भए पनि पढाइको व्यवस्था गरिएको छैन ।

केही स्थानीय तहहरूले वैकल्पिक माध्यमबाट विद्यार्थीलाई पढाउने जमर्को गरिरहेका छन् । महाकाली नगरपालिकाको शिक्षा शाखाले वैकल्पिक माध्यमबाट विद्यार्थीको पढाइ अगाडि बढाउन भनेको छ । यसले बजार र इन्टरनेटको पहुँच भएका विद्यार्थीले पढ्न सक्ने र धेरै विद्यार्थीहरू इन्टरनेटको पहुँच बाहिर रहेकाले यो विधि प्रभावकारी नभएको कतिपय अभिभावकहरूको भनाइ छ । ‘फोन गर्नलाई समेत उच्च डाँडामा गएर सम्पर्क हुन्छ । कहाँबाट इन्टरनेटको पहुँच हुनु,’ व्यास गाउँपालिका–५ धौलाकोटका सन्देश धामीले भने, ‘आफन्तका खबर बुझ्न फोन लगेर घरबाट डाँडामा जानुपर्छ । इन्टरनेटको कुरा त हाम्रा लागि टाढाको विषय भयो ।’

सहर बजारमा बस्ने विद्यार्थीलाई मात्र यो अनलाइन कक्षा सम्भव भएको शिक्षक मोहनदेव भट्टले बताए । उनले भने, ‘यो माध्यमबाट जिल्लाका १० प्रतिशत विद्यार्थीहरूको पढाइ हुन सक्छ । बाँकी विद्यार्थीलाई समेट्न साह्रै अप्ठ्यारो रहेको छ ।’ नगर र गाउँसभाबाट पारित गरेर प्रत्येक पालिकाले लाखौं लगानीमा विद्यालय भवन निर्माण गरेका छन् । तर, बालबालिकालाई अध्यापन गराउन भने कुनै योजना ल्याउन सकेका छैनन् । विद्यालय सञ्चालन र अध्यापनको वैकल्पिक योजना अभावमा विद्यार्थीले पढ्न पाएका छैनन् । शिक्षक पनि घरमै बस्न बाध्य छन् ।

निजी विद्यालयले जसोतसो अनलाइन कक्षा सञ्चालन गरेर ‘कोर्स’ पूरा गराइरहे पनि सामुदायिक विद्यालय ठप्प छन् । ‘कोभिड कालमा विद्यार्थीहरू घरभित्रै बस्न बाध्य भए, यस्तो बेला अध्यापनको निरन्तरताका लागि बजेट खर्चिनुपर्थ्यो,’ पूर्वशिक्षक जयदेव जोशीले भने, ‘त्यतातिर कसैले ध्यान पुर्‍याएनन्, कमिसन लिन र विकासको प्रतिस्पर्धा देखाउन लाखौं बजेट भवनमा खर्च गरेको देखिन्छ ।’ सरोकारवाला निकायलाई विद्यार्थीको पढाइभन्दा भौतिक संरचना निर्माणमा बढी केन्द्रित देखिन्छन् ।

लामो समयदेखि विद्यार्थीको पढाइ नियमित नहुँदा सिकाइ क्षमता कम हुँदै गएको पूर्वशिक्षक जोशीले बताए । विद्यालय र स्थानीय तहहरूले वैकल्पिक योजना ल्याउन नसक्दा विद्यार्थीको पढाइमा दिन प्रतिदिन कमी हुँदै गएको हो ।

साउनदेखि कोरोनाको संक्रमणमा कमी आएको भन्दै जिल्ला प्रशासनले लकडाउन खोलेको छ । कोरोनाको प्रभाव नरहेका ठाउँहरूमा भौतिक दूरी कायम गरी कक्षा सञ्चालनमा ल्याउनुपर्ने जोशीले बताए । भौगोलिक विकटताका कारण अनलाइन कक्षा सञ्चालन अव्यावहारिक हुने बताउँदै यसबाट थोरै विद्यार्थी मात्र पढाइमा सहभागी हुन पाउने उनले बताए ।

प्रकाशित : श्रावण ६, २०७८ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?