धनगढीमा प्रहरी र स्थानीयबीच झडप, १२ प्रहरी घाइते- सुदूरपश्चिम - कान्तिपुर समाचार

धनगढीमा प्रहरी र स्थानीयबीच झडप, १२ प्रहरी घाइते

५० राउण्ड अश्रुग्यास प्रहार
अर्जुन शाह

धनगढी — धनगढी उपमहानगरपालिका–३ को हाटबजार विद्युत सब स्टेशनलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न खोज्दा मंगलबार साँझ स्थानीय र प्रहरीबीच झडप भएको छ ।

पानी निकास गरिएपछि स्थानीयले ढुंगा प्रहार गरेका थिए । स्थितीलाई नियन्त्रणमा लिन ५० राउण्ड अश्रु ग्यास प्रहार गर्नुपरेको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

हाट बजार र विद्युत कार्यालयको सब स्टेशन जलमग्‍न भएपछि मोहनापुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोलेर पानी निकास गर्ने क्रममा वडा नम्बर २ का स्थानीयले प्रहरीलाई अवरोध गरेका थिए ।

उनीहरुले कल्भर्ट खोल्दा वडा नम्बर २को बस्ती ढुवानमा पर्ने भन्दै अवरोध गरेका हुन् । स्थानीयको ढुंगा प्रहारबाट १२ जना प्रहरी घाइते भएको र तनाव अझै कायम रहेको एसपी अधिकारीले बताए । स्थानीयतर्फ घाइते भए/नभएको विवरण भने आएको छैन ।

प्रकाशित : श्रावण ५, २०७८ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्

दाहालको फोनबाट खनालसँग देउवाको संवाद : 'खर्च सरकारले बेहोर्छ, छिटो निको भएर फर्किनुस्'

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले फोनमार्फत पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बुझेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री देउवा मंगलबार उनको निवास खुमलटार पुगेका थिए । त्यही बेला अध्यक्ष दाहालको फोनमार्फत देउवाले खनालसँग संवाद गरेका हुन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेता पूर्णबहादुर खड्का, माओवादी नेता नारायणकाजी श्रेष्ठ । तस्बिर सौजन्य : विष्णु सापकोटा

संवादमा देउवाले खनालको स्वास्थ्यलाभको कामना गर्दै उनको स्वास्थ्य उपचार खर्च सरकारले बेहोर्ने वचन दिएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

‘अध्यक्ष कमरेडले फोन गर्नुभएको थियो । संयोगबस झलनाथ खनालले नै उठाउनु भयो । त्यहीक्रममा प्रधानमन्त्रीले उहाँसँग कुरा गर्नुभयो र स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्चको चिन्ता नगर्नुस्, सरकारले मिलाउँछ । तपाईं छिटो निको भएर फर्किनुस् भन्नुभयो,’ सापकोटाले भने ।

मिर्गौलामा समस्या देखिएपछि नेता खनाल भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत छन् ।

प्रकाशित : श्रावण ५, २०७८ १९:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×