कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

कैलालीमा आत्महत्या र बलात्कारका घटना बढे

चित्रांग थापा

धनगढी — गत आर्थिक वर्ष २०७७/७८ मा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका मुद्दाको संख्या अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा केही घटेको भए पनि कैलालीमा आत्महत्या, भवितव्य ज्यान, सवारी दुर्घटना, जबर्जस्ती करणी र बहुविवाहजस्ता अपराध भने बढेको देखिएको छ ।

कैलाली प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी गत आवमा जिल्लाको अपराधको अवस्था सार्वजनिक गर्ने क्रममा उक्त तथ्य बाहिर ल्याएको हो ।

गत आवमा जिल्ला प्रहरी कार्यालयमा १ हजार ३ सय ७ मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्ष यो संख्या १ हजार ३ सय ६७ थियो । मुद्दाको संख्या कम देखिए पनि आत्महत्या, भवितव्य ज्यान र जबर्जस्ती करणीका घटना भने बढेको कैलाली प्रहरीका एसपी विश्व अधिकारीले बताए । उनका अनुसार गत वर्ष २ सय ६७ वटा आत्महत्याका घटना भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बढी हो । यसैगरी, १ सय ३ वटा जबर्जस्ती करणीका उजुरी प्रहरीमा दर्ता भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा करिब १२ प्रतिशत बढी हो ।

जबर्जस्ती करणी उद्योगका घटना र बहुविवाहका घटनामा अत्यधिक वृद्धि दखिएको छ । जबर्जस्ती करणी उद्योगका ४१ घटना दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा यो ४६ प्रतिशतले बढी हो । बहुविवाहका ४८ घटना भएका छन् । अघिल्लो वर्षको यो ६५ प्रतिशतभन्दा बढी हो । लागूऔषध, सार्वजनिक अपराधलगायत घटनामा भने अघिल्लो वर्षको तुलनामा कमी आएको एसपी अधिकारीले बताए । उनका अनुसार राजस्व संकलन पनि गत वर्षको तुलनामा ८९ प्रतिशतले बढेको छ । गत आवमा १ करोड ३६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । अघिल्लो वर्ष ७५ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो ।

एसपी अधिकारीले जिल्लाको शान्ति सुरक्षाको अवस्थामा खलल आउन नदिन र आपराधिक घटना नियन्त्रणका लागि जिल्लामा ‘हाम्रो प्रहरीसँग हामी’ भन्ने समुदायमा आधारित कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए । उनले लागूऔषध सेवन, ओसारपसार र कारोबार बढेको अवस्थालाई गम्भीरतापूर्वक लिएको बताउँदै नियन्त्रणका लागि सीमावर्ती क्षेत्रका समकक्षीहरूसँग समन्वय गरेर अघि बढ्ने बताए ।

प्रकाशित : श्रावण ५, २०७८ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?