११ वर्षपछि पुनर्मिलन

भारतको पिथौरागढ बसेका बेला स्थानीय मेडिकलमा औषधि किन्न जाँदा उनी बाटो बिर्सेर हराएकी थिइन्
भवानी भट्ट

कञ्चनपुर — आमाबुबा सीमावर्ती क्षेत्र भारत उत्तराखण्डको पिथौरागढमा मजदुरी गर्थे । भाइ हेर्ने जिम्मा उनकै थियो । खेल्दाखेल्दै भाइको खुट्टामा चोट लागेपछि उनी औषधि लिन नजिकै मेडिकलमा गइन् । फर्किंदा बाटो बिर्सेर अन्तै लागिन् । साँझपख एक वृद्ध दम्पतीले भेटेर उनलाई आफ्नो घरमा लगे । भोलिपल्ट बिहानै फेरि घर जान भनेर हिँडिन् । तर फेरि बाटो भुलिन् ।

११ वर्षपछि पुनर्मिलन

घर खोज्दै जाँदा उनी पिथौरागढबाट हरिद्वार पुगिन् । हरिद्वारमा एक वर्ष अलपत्र परिन् । त्यसपछि उनलाई प्रहरीले देहरादूनस्थित बालिका निकेतनमा भर्ना गर्‍यो । ९ वर्षको उमेरमा पिथौरागढबाट बेपत्ता भएकी वसन्ती धामी ११ वर्षपछि परिवारको सम्पर्कमा आएकी छन् । विभिन्न संघसंस्थाको पहलमा उनलाई बुधबार महेन्द्रनगर पुर्‍याएर आफन्तको जिम्मा लगाइएको छ ।

छोरी हराएपछि वसन्तीका बुबा गगनले पिथौरागढ प्रहरीमा खोजीका लागि निवेदन दिएका थिए । त्यसपछि उनीहरू पिथौरागढ छाडेर दार्चुला घर फर्किए । ‘मैले घरपरिवारसँग भेट हुन्छ भन्ने आस मारिसकेकी थिएँ,’ बिहीबार शान्ति पुनःस्थापना गृहले आफन्तको जिम्मा लगाउँदै गर्दा धामीले भनिन्, ‘सानै छँदा हराएकाले घर फर्किने बाटोसमेत थाहा थिएन ।’ बाल निकेतनमा बसेर उनले १२ कक्षासम्म पढेकी छन् ।

११ वर्षअघि राजकीय बालिका निकेतन केदारपुर देहरादूनमा भर्ना गर्दा बसन्तीले नदी किनारमा घर भएको, नजिकै मन्दिर र बैंकसमेत भएको भन्दै आफ्नो घर/ठेगाना बताएकी थिइन्, जुन पिथौरागढ बस्दाको हो । त्यही ठेगानाका आधारमा खोजी गर्दै जाँदा उनको परिवारको पत्ता लागेको हो । त्यसपछि फोन र म्यासेन्जरमार्फत वसन्तीसँग उनका बुबाआमा र भाइबहिनीको कुरा हुन थाल्यो ।

बसन्तीका बुबाआमा दार्चुलाको दुहु गाउँपालिका–५ धारीमा बस्छन् । माघको अन्तिमतिर एक दिन वसन्तीकी सानीआमा लालमती महरा जिल्ला प्रहरी कार्यालय दार्चुलाको महिला सेलमा पुगेकी थिइन् । त्यहाँ देहरादूनमा रहेकी वसन्तीबारे कुरा भइरहेको उनले सुनिन् । सोधखोज गर्दा आफ्नै दिदीको छोरी भएको बताएपछि उनलाई वसन्तीका तस्बिरहरू देखाइयो । ‘फोटो हेर्दा मेरो आँखाबाट आँसु खस्यो, छोरीलाई चिनेपछि दिदी–भिनाजुलाई पनि खबर गरें,’ उनले भनिन्, ‘त्यसपछि फोन र म्यासेन्जरबाट कुरा पनि भयो ।’

माघमै वसन्तीबारे थाहा पाए पनि भारतमा लामो लकडाउन र १२ कक्षाको परीक्षा भएका कारण यहाँ ल्याउन ढिलाइ भएको हो । देहरादूनको हेल्प क्रस ट्रस्ट र शान्ति पुनःस्थापना गृहको पहलमा उनलाई बुधबार महेन्द्रनगर ल्याइएको हो । यिनै संस्थाको पहलमा परिवारसँग उनको सम्पर्क भएको हो । वसन्तीलाई बिहीबार जिल्ला प्रहरी कार्यालयमार्फत सानीआमा महरा र दिदी धना धामीको जिम्मा लगाइएको छ ।

‘धेरै दिनको प्रयासपछि वसन्तीलाई परिवारको जिम्मा लगाउन सफल भयौं,’ देहरादूनबाट महेन्द्रनगर पुगेका हेल्प क्रस ट्रस्टका विशाल थापाले भने, ‘यो हाम्रा लागि खुसीको कुरा हो ।’ उनी बुधबार देहरादूनको बालिका निकेतन र नारी निकेतनमा रहेका चार जनालाई आफन्तको जिम्मा लगाउन आएका थिए ।

रोल्पाकी १७ वर्षीया बबिता डाँगी पनि ६ महिनाअघि कामको खोजीमा गढवाल पुगेकी थिइन् । आफन्तको सहयोगमा त्यहाँ पुगेकी उनले ४ महिना काम गरिन् । मालिकले दुर्व्यवहार गरेपछि काम छाडेर ऋषिकेश पुगिन् । त्यहाँबाट उनलाई प्रहरीले देहरादूनै बालिका निकेतनमा भर्ना गरिदियो । उनलाई पनि बिहीबार दाङबाट आएका आफन्तको जिम्मा लगाइएको छ । पाँच वर्षदेखि बेपत्ता रहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीकी गोमती नाथलाई पनि बिहीबार आफन्तको जिम्मा लगाइएको छ ।

श्रीमान्सँगै बैतडी गएकी उनी त्यहींबाट बेपत्ता भएकी थिइन् । ‘म कहाँबाट कसरी त्यहाँ पुगें केही थाहा छैन,’ उनले भनिन्, ‘जे भए पनि आफन्तसँग भेट हुन पायो, लामो समयपछि घर फर्किएँ ।’ आमासँगै औषधि किन्न बिहार गएका बेला रेल छुटेपछि बेपत्ता भएकी सुनसरीकी भारती कविरथ जमुनालाई पनि नारी निकेतन देहरादूनबाट ल्याइएको छ । उनलाई पनि बिहीबार आफन्तको जिम्मा लगाएको शान्ति पुनःस्थापना गृह महेन्द्रनगरका प्रमुख सञ्जित सिंहले बताए । उनी ९ वर्षअघि बिहारबाट रेल छुटेपछि बेपत्ता भएकी थिइन् । हेल्प क्रस ट्रस्ट देहरादूनका प्रमुख थापाका अनुसार बालिका निकेतनमा एक र नारी निकेतनमा १५ नेपाली महिला छन् । उनीहरूको पनि घरपरिवारको खोजी भइरहेको उनले बताए ।

प्रकाशित : श्रावण ३, २०७८ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?