पहाडमा साउने संक्रान्तिको धुमधाम
बझाङ — सुदूरपश्चिमका पहाडी जिल्लामा साउने संक्रान्ति पर्वलाई भव्यताका साथ मनाउने गरिएको छ । वर्षात्मा आउने रोगव्याधिबाट बच्ने तयारीस्वरूप यो पनि वर्ष प्रत्येकका घरमा मनाइएको छ ।
साउनको पहिलो दिन सबैका घरमा मूलद्वार (मूलढोका) को पूजा गरेर झिरझिरी काँडा (एक प्रकारको काँडेदार सतावरी) को हाँगा गाड्ने चलन छ । यसरी मूलढोकामा झिरझिर काँडा लगाउँदा वर्षायाममा हुने रोगव्याधि र महामारीबाट बचाउने स्थानीयको जनविश्वास छ । यस्तै, महिनाभरि घरमा शुभ हुने जनविश्वासका साथ संक्रान्तिका दिनमा हरियो दुबोसहितका कलशहरू पनि मूलढोकामा सजाउने चलन छ ।
साउनभरि नै कुहिरो लाग्ने भएकाले दिउँसै अन्धकार हुने र यस्तो बेलामा भूतप्रेतले सताउने भएकाले घरलाई दुष्टात्माहरूबाट बचाउनका लागि पनि मूलद्वारमा झिरझिरी काँडा लगाउने चलन रहिआएको बझाङका इतिहास र संस्कृतिका अध्येता विष्णुभक्त शास्त्रीले बताए । ‘यसको वैज्ञानिक कारण पनि होलान्, यतातिर अध्ययन भएको छैन,’ शास्त्री भन्छन्, ‘किंवदन्तीअनुसार साउनको महिना साउने बूढो नामको नरभक्षी पिचास घरभित्र पस्न खोज्दा झिरझिरे काँडा देखेर तर्सिएर भागेको भन्ने मान्यताअनुसार यसो गर्ने गरिन्छ ।’
साउने संक्रान्तिका दिन बालबालिका र किशोरकिशोरीहरू ‘साँउबूढी साँउ, देला देला (दैलादैलामा) झिरझिर काँडा, काँबाट आऊँ’ भन्दै गीतसमेत गाउँछन् । साउने संक्रान्तिका दिन लुतोजस्ता छालाजन्य रोगहरू नलागून् भनेर बिहानै नुहाएर तितेपाती शरीरमा दल्ने चलन पनि छ ।
संक्रान्तिका दिन खीरलगायत गोरसबाट निर्मित विभिन्न परिकारहरू खाने गरिन्छ । यस दिन छोरीचेलीलाई माइतीमा बोलाएर मीठोमसिनो खुवाइन्छ । साउनभर नवविवाहित चेलीहरूले माइतीमा नै बस्ने चलन छ । पहिलोपटक विवाह गरेका चेलीेले साउनको महिना घरमा बसेमा उनीहरूको स्वास्थ्य र वैवाहिक जीवन राम्रो नहुने जनविश्वास छ ।
साउने संक्रान्ति पर्वले आफ्नो घरमा गएका छोरीचेली र माइतीको निरन्तर अन्तर्क्रिया, प्रेम र सद्भाव कायम राख्न ठूलो भूमिका खेल्ने बझाङी संस्कृतिका अध्येतासमेत रहेका शास्त्रीको भनाइ छ । ‘साउनको महिना कृषिको काम बढी हुने महिना भएकाले नवदुलही चेलीलाई घरमा दुःख नहोस् भनेर पनि एक महिना माइतीमै बसाल्ने गरिएको हो,’ उनले भने, ‘यसले पराई घर गएका चेली र माइतीबीचको दूरीलाई कम गर्न पनि ठूलो भूमिका खेलेको छ ।’ साउनभर माइतीमा बस्न पाइने भएकाले नवविवाहिता चेलीका लागि यो महिना उत्सवका रूपमा आउने बझाङ हेमन्तवाडाकी सुशीला खड्काले बताइन् ।
साउने संक्रान्तिको दिन ढोकामा गाडेका झिरझिरी काँडालाई साउन मसान्तको दिनमा जलाउने गरिन्छ । गाउँभरिका सबैको ढोकामा रहेका झिरझिरी काँडा संकलन गरेर एकै ठाउँमा जलाई राँको सल्काएर रमाइलो गर्ने चलन छ । यसलाई साउने राक्षस पोलेको भनेर खुसियाली मनाउने र त्यस दिन पनि मीठोमसिनो खाएर शुभकामना आदान प्रदान गरिन्छ ।
प्रकाशित : श्रावण २, २०७८ १०:५७